नेपाली राजनीतिमा युवा पुस्ताको बिम्ब बनेकी रामकुमारी झाँक्री आफ्नै राजनीतिक ‘करिअर’मा भने निरन्तर ओरालो यात्रामा छिन्।
नेकपा एमालेको विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेकी झाँक्री २०३४ सालमा गुल्मी जिल्लामा जन्मिएकी हुन्। विद्यार्थी आन्दोलनको उर्जाका रुपमा स्थापित उनको पार्टी राजनीति भने त्यति धेरै फलिफाप हुन सकेको छैन।
गत २०७४ सालको निर्वाचनामा चुनावी सहकार्य हुँदै माओवादीसँगको पार्टी एकता र त्यसपछि ‘नेकपा’को विभाजनसम्मै झाँक्री राजनीतिक वृत्तमा चर्चाको शिखरमै रहिन्।
नेकपा विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टी बनाएका माधव नेपालको हात समाएर निर्वाचन आयोग जाँदै गर्दाको उनको तस्विर अहिले पनि सामाजिक सञ्जालमा भाइरल छ। अनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा उनको प्रस्तुतिले पनि राजनीतिमा उत्तिकै चर्चा पायो।
त्योबेला एउटा सभामा टेपले टालेको मुख खोलेर भाषण गर्दा रामकुमारीको वाहवाही भएको थियो। ओली सरकार ढलेपछि शेरबहादुर देउवाको सरकारमा उनी सहरी विकासमन्त्री भएकी थिइन्। उत्तेजित भाषण गर्ने उनी मन्त्री भएर बाहिरिँदा रोएकी थिइन्।
२०७९ सालको निर्वाचनमा गुल्मीमा उनी निर्वाचन लडेकी थिइन्। तर कुनैबेला उनका राजनीतिक सहपाठी नेकपा एमालेका गोकर्ण विष्टले उनलाई पराजित गरिदिए।
आमचुनावमा जनमतबाट अस्वीकृत भएकी झाँक्री अहिले भने आफ्नै पार्टीको नेतृत्वबाट पनि रिङ आउट भइन्। मंगलबार नेकपा एकीकृत समाजवादीले पार्टीका पदाधिकारी छान्नका लागि चुनाव गराएको थियो। तर संकटको बेला बलियो खम्बा भएर साथ दिएकी झाँक्रीलाई उनै माधव नेपालको एउटा ‘चिट’ले उनी पार्टीको नेतृत्वमा पुग्न सकिनन्।
पदाधिकारीको यो निर्वाचनमा झाँक्रीले महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी थिइन्। तर उनलाई प्रतिस्पर्धी जयन्तीदेवी राईले पराजित गरिदिइन्। राईले १९९ मत पाएर नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्ष बनिन्। झाँक्रीले भने जम्मा ११२ मत पाइन्।