नेपाल प्रहरीको पूर्वआइजीपी एवं नेकपा (एमाले) का नेता सर्वेन्द्र खनालले सहकारी ठगहरुलाई राज्यले हत्कडी लगाएर जेलमा कोच्नुपर्ने बताएका छन्।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौँमा आयाेजना गरेका पत्रकार सम्मेलनमा बाेल्दै उनले यस्ताे बताएका हुन्।
सहकारी ठगहरुलाई पक्राउ गरेर जेलमा कोच्न संसदीय विशेष समितिको प्रतिवेदन पनि कुर्न आवश्यक नरहेको उनको सुझाव छ।
नागरिकहरुलाई उपचार गर्न सक्ने अवस्थामा मार्ने र ठगहरु महँगा गाडी चढेर हिँड्ने परिस्थितिको अन्त्य हुनुपर्ने उनको भनाइ छ।
सहकारी पीडितहरुको संरक्षण गर्न भनेर बसेकाहरु निकम्मा भएको उनले बताए।
नेता खनालले सहकारी पीडितहरु जुर्मुराइसकेको बताउँदै मन्त्री अधिकारीलाई सम्झौता तत्काल कार्यान्वयन गर्न आग्रह गरे। साथै उनले पीडितहरुको आँशु देख्न नसकेर यो अभियानमा जोडिएको बताए।