सत्तामा मिलेका काँग्रेस-एमाले विश्वविद्यालयमा मारामार

Break n Links
Break n Links

बुधबार एका-बिहानै शिक्षामन्त्री विद्या भट्टराईले सार्वजनिकरुपमा देशलाई भनिन्, ‘सिंगो विश्वविद्यालय असुरक्षित बनेको छ।’ किन विश्वविद्याल असुरक्षित छ? उनले खुलाएकी छिन्– ‘त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा केही दिनदेखि पदाधिकारीहरू माथि हमला गर्न खोजिएको छ र प्राध्यापकहरुलाई फोन गर्दै धम्की दिने गरिएको छ।’

तर, कसले धम्की दिँदा विश्वविद्यालय असुरक्षित बनेको छ उनले खुलाएकी छैनन्। बरु उनले सार्वजनिक रुपमै त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न गृहमन्त्रीसँग सार्वजनिकरुपमै माग गरिन्। ‘त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि ब्यबस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु’, उनले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा भनेकी छिन्।

विश्वविद्यालयको जो संरक्षक हो उसैबाट विश्वविद्यालय असुरक्षति भएको र गृहमन्त्रीसँग सुरक्षा माग गरिएको विषयले बुधबार शिक्षा क्षेत्र मात्र तरंगीत छैन, राजनीतिकवृत्त पनि तातिएको छ। शिक्षा मन्त्री विश्वविद्यालयको सह–कुलपति हो र सह–कुलपति संरक्षक हुन्छ।

संरक्षकबाट नै असुरक्षाको महसुस भएपछि कसलाई पो चिन्ता हुँदैन र! सामाजिक सञ्जालमा चिन्ता व्यक्त भइरहेको छ। चिन्तामात्र होइन, मन्त्री भट्टराईको आलोचना पनि भइरहेको छ। विश्वविद्यालय असुरक्षित भए संरक्षकले सुरक्षा दिने हो, अरूलाई भन्ने होयन भन्दै उनको आलोचना भइहेको छ। जो स्वभाविक पनि हो।

एक्समा आलोचना भएपछि उनले स्पष्टकरण दिँदै सार्वजनिक रुपमा अपिल गर्नुपर्ने भएर यसरी भनिएको बताएकी छिन्। ‘यहाँहरूले मलाई आवस्यक सुझाव दिनु भएकोमा आभारी छु। मैले सार्बजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो। कुनै आबेगमा आएर लेखेको होइन। मैले ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरा समेत जानकारी गराउन चाहन्छु’ उनले अर्को पटक एक्समा लेख्दै स्पष्टिकरण दिएकी छिन्।

उनी कसरी विश्वविद्यालयमा असुरक्षा भएको विषय सार्वजनिक अपिल गर्नुपर्ने अवस्थामा पुगिन्? त्यो भने एमाले–काँग्रेस गठबन्धनको द्वन्द्वसँग जोडिएको विषय हो भनेर अनुमान गर्न कठिन छैन। एमालेबाट शिक्षामन्त्री भएकी भट्टराईले गृहमन्त्रीलाई पहिले नै विश्वविद्यालयको सुरक्षाको माग गरिएको सार्वजनिक अपिलबाट बुझिन्छ।

५ दिनदेखि उनले लगातार सम्पर्क र समन्वय गर्दा पनि गृहमन्त्रीबाट सुरक्षाको आवश्यक प्रवन्ध नभएकाले सार्वजनिक अपिल गरिएको उनको अपिलमा उल्लेख छ। गृहमन्त्रीबाट भट्टराईसँग किन समन्वय भएन?

किनभने गृहमन्त्री काँग्रेसका रमेश लेखक छन्। काँग्रेसबाट गृहमन्त्री भएकाले लेखकले आफ्नै मन्त्रिपरिषद्को सदस्यको आग्रह किन मानेनन्? प्रश्न उठेको छ। तर यस पनि राजनीति जोडिएको छ।

कहाँ जोडिएको छ राजनीति?

शिक्षामन्त्री भट्टराई र गृहमन्त्री लेखकबीच किन समन्वयन हुन सकेन र यति गम्भीर विषय बाहिरियो भन्नेमा त्रिविमा नियुक्तिको विषयसँग जोडिन्छ। त्रिविको समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिमा काँग्रेस–एमालेको द्वन्द्व अन्तत: दुई मन्त्रीबीचमा पुगेर ठोक्किएको छ।

समात्रशास्त्र संकायकी डिन कुसुम शाक्यले विभागीय प्रमुखमा टीका गौतमलाई नियुक्त गर्न त्रिविको कार्यकारीपरिषद्मा पठाएकी छिन्। तर कार्यकारी परिषद्ले गौमतलाई नियुक्त गरेको छैन। कार्यविधि मिचेर विभागीय प्रमुखमा गौतमको नाम सिफारिस गरिएको भनिएको छ।

जुन काँग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको दबाबमा सिफारिस गरिएको र उनलाईबाहेक अन्यलाई नियुक्त नगर्न दबाब दिइएको बताइन्छ। गौतम काँग्रेसनिकट मानिन्छन्। उनी वरिष्ठताका आधारमा दोस्रो नम्बरमा पनि छन्।

त्रिविको कार्यविधअनुसार वरिष्ठताका आधारमा नियुक्त गर्नुपर्ने भन्ने छ। वरिष्ठताका आधारमा पासाङ शेर्षा पहिलो नम्बरमा छन्। तर उनी एमाले निकट मानिन्छन्। पहिलो नम्बरमा रहेका शेर्पालाई पञ्छ्याएर दोस्रो नम्बरमा रहेका गौतमलाई नेविसंघले नियुक्त गर्न दबाब दिइरहेको स्रोत बताउँछ।

नेविसंघले गौतमलाई विभागीय प्रमुखमा नियुक्त नगरिए जे पनि हुन सक्ने धम्की दिएको शिक्षामन्त्री निकट स्रोतले बतायो। ‘मन्त्रीज्यूले धेरै पटक यस विषयमा मिलाउने प्रयास गर्नुभयो। गृहमन्त्रीसँग पनि समन्वय गर्नुभयो। तर धम्की रोकिएको छैन’ स्रोतले भन्यो।

यसैपनि त्रिविमा विद्यार्थीको दादागिरी चल्छ भन्नेमा यसअघिका घटनाबाट पुष्टि भइसकेको विषय हो। नेविसंघकै कुटाइबाट समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि यसअघि सांघातिक हमाल भएको थियो। जुन मुद्धा अहिले पनि विचाराधिन छन्।

त्रिविमा काँग्रेस न एमाले, न माओवादी सबै निकटकका विद्यार्थी संगठनको दादागिरी चलाउँदै आएका छन्। केही समयअघि परीक्षामा चिट चोर्न नदिएको भन्दै ठमेलस्थित सरस्वती क्याम्पसमा परीक्षा हलभित्र छिरेर एमाले निकटक अनेरास्ववियुका नेता किङ्गा शेर्पाले निरीक्षक कुटेका थिए।

स्ववियुको खण्डन

त्रिवि पदाधिकारीलाई सुरक्षा चुनौति भएपछि बुधबार केन्द्रीय कार्यालयमा दर्जन बढी प्रहरी परिचालन भए। प्रहरीको सुरक्षापछि मात्र शुक्रबादेखि क्याम्पस नगएका त्रिविका रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार रिजाल कार्यकक्षमा पुगे।

रजिस्ट्रार रिजालले गएको शुक्रबार नै शिक्षा मन्त्रालयलाई पत्राचार गर्दै विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाइदिन आग्रह गरेका थिए। बुधबार बिहान शिक्षामन्त्रीको सार्वजनिक अपिलपछि प्रहरीले त्रिविमा प्रहरी पठाएर सुरक्षा प्रदान गर्‍यो।

जसकोविरुद्धमा त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले आपत्ति जनाएको छ। स्ववियु सभापति श्यामराज ओझाले त्रिविका कुनै पदाधिकारकी कोही विद्यार्थीबाट असुरक्षित नभएको विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

प्रकाशित मिति: : 2024-08-21 20:00:00

प्रतिकृया दिनुहोस्