लिच्छिवी राजा बालार्चन देवको जेष्ठवर्ण महाविहार तंगबहाः स्थापनाको अवसरमा ८५० वर्ष पहिलादेखि सुरु भएको मतयाः अर्थात् दीपयात्रा परम्परा यस वर्ष भदौ ५ गते बुधबार मनाइँदैछ।
मतयाःको बिहान सबेरै (४ बजे) श्रद्धालु भक्तजनहरु नकबहिलमा भेला भई ललितपुर नगरको चार दिशामा रहेको चार वटा थूर (अशोक स्तुप) परिक्रमाको क्रमलाई आधार बनाई दिनभर गल्लीगल्ली चोकचोकमा समेत प्रवेश गरी बौद्धिक धार्मिक स्थलहरु देवालय, चैत्यालय, धर्मधातु, बागीश्वर परिक्रमा (लगभग १२ घण्टा) गरिने परम्परा हो।
करिब दुई देवी देवतालाई धूप, दियो, कपुर, पैसा, मिठाई लगायत सामग्री चढाउँदै सम्पन्न गरिने यस यात्राका पथ प्रदर्शन बज्राचार्य पुरोहित रहने गरेको छ। भने सहभागीको अन्तमा आयोजक क्षेत्रको त्वाःम्वः (टोलका नाइके)ले निस्ला (पिण्डपात्रमा चामल, पैसा) तथा निस्लापाः (चिउरा, अदुवा, मिठाई) चढाउने परम्परा छ। सहभागीहरुको मध्येमा महादेवको उपस्थिति रहने परम्परा छ।
कुम्भेश्वरमा नवबाजा बजाइ प्रारम्भ हुने मतयाः बौद्धकथामा आधारित भएपनि शिव र शिवगणको अनिवार्य उपस्थिति रहेको छ। विशेषतः परिवारजनको मृत्युबाट शोकमा परेकाको सहभागिता रहने यस यात्रामा जो कोही पनि श्रद्धा सहभागी हुन सक्छन्। आयोजना तथा सहभागिताको दृष्टिकोणले समावेशी यो पर्वलाई कूशल एवं अनुपम संस्कृति मान्ने गरिन्छ।
भगवान बुद्धको ध्यान भङ्ग गर्न आएका स्कन्धमार, मृत्युमार, देवपुत्रमार, क्लेशमार, अभिसंस्कारमारलाई जिती बुद्धत्व प्राप्त गरेपछि ती मारहरु भगवान बुद्धकै शरणमा गएको गाईजात्राको दिनको भोलीपल्ट शरणस्वरुप श्रद्धाभावले गरिने यस यात्रा परम्परामा अजिव भेषभूषा एवं शैलीमा ख्यालः अर्थात् हास्य ब्यङ्गात्मक गीत, नृत्य तथा नाटिका प्रस्तुत गर्दै सहभागी हुने समूहहरु पनि हुन्छन् भने टोलटोलबाट बाजागाजा सहित समूहहरुको सहभागिता पनि रहन्छ।
वाद्यवादन यस परम्पराको अर्को विशेषता हो। वाजा एवं वादन शैलीको अनुपम नमूना नवबाजा (धिमे, नाय्खिं, क्वँचाखिं, मगःखिं, नगरा, ढोलक, मृदङ्ग, झाँक्री बाजा, जोरानगरा, दह ब्याबाजा, खँजरी, दबदत, धाः, दमोखिं, नेकू, तिक्ली तथा पय्ताखिं) बाजा बजाउने गरिन्छ। यी बाजाहरु मध्ये धाः, न्यकू, दमोखिं, प्रमुख हुन् भने नेकू अर्थात् सिङको फुकेर बजाउने बाजाकै नामबाट यस जात्रालाई न्यकू जात्रा अर्थात् श्रृंगभेरी जात्रा भन्ने गरिएको हो।
करिब ४०० बर्ष अघि भने मल्ल राजा सिद्धिनरसिँह मल्लले देशमा छाएको माहामारी तथा हाहाकार अन्त्य गर्न राजगुृरु बौद्ध बज्राचार्यहरुसँग सल्लाह गरी १० वटा टोलहरुले पालैपालो संचालन जिम्मेवारीसहित नवबाजा बजाएर नगर परिक्रमाको चलनसहित थप ब्यवस्थित गरेका थिए।
शशिपटनका रानी सुलक्षणाले आफ्नो पति राजा सिंहकेतु मृत्युपश्चात् राँगोको रूपमा जन्मिएको तथा सो अवधिमा रानी सुलक्षणा सोही घरमा ब्राम्हण पुत्रीका जन्मिएकी थिइन्। उनले आफ्नो पूर्वजन्मको पति नै यो जन्ममा राँगोको रुपमा जन्मिएको थाहा पाइन्। पछि राँगोको मृत्यु पश्चात दुई वटा सिङमध्ये एउटा नदी किनारमा गाडेर सो स्थानमा चैत्य निर्माण गरेको तथा अर्को सिङको बाजा बनाई सो बाजा (फुकेर) बजाउँदै चैत्य परिक्रमा गरेको उल्लेख छ। केही समय पश्चात उनकी पति सिँहकेतु राजा धर्मशिलाका नामले प्रकट भएको मानिन्छ।
न्यकू जात्रा अन्तर्गत विभिन्न कार्यक्रमहरुः
भाद्र २ गते, आइतबार - कुम्भेश्वरमा नवबाजा प्रस्तुति - साँझ ६ बजे कुम्भेश्वर
भाद्र ५ गते - बुधवार मतयाः (दीपयात्रा) - विहान ४ बजे नकबहिल
पूधाः प्रस्तुति - विहान ११ बजे नकबहिल
नवबाजा प्रस्तुति - दिउँसो १ बजे पाटन दरवार
भाद्र ६ गते विहिबार नवबाजा प्रस्तुति, विहान ११ बजे भेला – नकबहिल
भाद्र ७ गते शुक्रवार नवबाजा प्रस्तुति, विहान ११ बजे भेला – नकबहिल
गणेशपूजा नायखिं च्वयेकेज्या – साँझ ५ बजे भेला – नकबहिल
भाद्र ८ गते, शनिबार गणेश पूजा, दिउँसो १२ बजे भेला–नकबहिल
पालो हस्तान्तरण तथा पुरस्कार वितरण, साँझ ७ बजे । नकबहिल