सरकारी स्कुलमा कोरियन र जापानिज भाषा पढाउने लहड

Break n Links
Break n Links

दाङ नारायणपुरको सिद्धरत्ननाथ माविका प्रधानाध्यापक उत्तमकुमार खनाल केही समयअघि अष्ट्रलिया भ्रमणमा थिए। त्यहीँ उनको अर्का एकजना प्रधानाध्यापकसँग भेट भयो। र विद्यालय, नेपालको शिक्षा अनि विद्यार्थीहरूको पढाइका बारेमा कुराकानी भयो। त्यहाँ भेट भएका झापाको एउटा विद्यालयका प्रधानाध्यापक थिए।

कुराकानीकै क्रममा आजभोलिका विद्यार्थीहरूको बारेमा बहस भयो। अधिकांश विद्यार्थीहरू एसईई दिएपछि नै जापानिज र कोरियन भाषा पढ्नका लागि विद्यालय नै छोड्ने गरेका घटनाहरूका बारेमा कुराकानी भयो। त्यही क्रममा झापाका ती प्रअले भने, ‘आफ्नै स्कुलमा किन कोरियन अनि जापानिज भाषा नपढाउने?’

हो पनि आखिर माध्यमिक शिक्षा सकेर विद्यार्थी जाने त त्यतैतिर हो!

खनाल दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन्। कोरियन, जापानिज भाषा पढ्नका लागि विद्यालय छाड्ने विद्यार्थीको संख्या बढ्न थालेपछि उनी चिन्तित थिए।

विद्यालयमै यी भाषा पढाउन सकिँदैन? अष्ट्रेलियाको पार्कमा उनले भेटेका झापाका ती सहकर्मीसँग छलफल गरेका थिए। जवाफमा साथीले भनिदिएका थिए, ‘पाठ्यक्रममै यी भाषा पढाउनका लागि व्यवस्था छ नि।’ साथीले पाठ्यक्रम डाउनलोड गरेर हेर्न पनि भनेका थिए।

अनि खनालले पाठ्यक्रम डाउनलोड गरे, हेरे। कोरियन भाषा पनि पढाउन सकिनेमा व्यवस्था रहेछ। त्यसपछि सोचे- अब विद्यालयमा कोरियन भाषा पढाउनुपर्छ। नेपाल फर्किए। विद्यालयमा छलफल गरे। विद्यालय व्यवस्थापन समितिले कोरियन भाषा पढाउन अनुमति दियो।

र, यस शैक्षिक सत्रदेखि उनले कोरियन भाषालाई विद्यालयमा छिराए। जुन पश्चिम नेपालमा पहिलो हो। आजसम्म पश्चिम नेपालमा विद्यालयमै कोरियन भाषा पढाइ भएको उनलाई थाहा छैन। पूर्वको झापा, मोरङतिर भने विद्यालयमा कोरियन भाषा पढाइ भइरहेको उनले सुनेका छन्। तर कुन विद्यालयमा भइरहेको छ भन्नेबारेमा भने उनी जानकार छैनन्।

कसैले नपढाएको विषय खनालले किन विद्यालयमै पढाउने आँट गरे? उनलाई झस्काउने धेरै विषय छन्। धेरैमध्ये एक हो, आफ्नै विद्यालयमा धेरै विद्यार्थी कोरिया र जापान जानका लागि विद्यालय छाड्ने गरेको।

सिद्धरत्ननाथ माध्यमिक विद्यालयबाट गएको १२ कक्षाको परीक्षामा २५४ जना विद्यार्थी पास भएका थिए। ती मात्रै करिब १५० जनाले जापान–कोरिया जानका लागि अनुमति लिए। त्यसपछि उनलाई लाग्यो- विद्यालयमै यो भाषा पढाउन सकिने भए हुन्थ्यो। र, पढाउन पाइने थाहा पाएपछि उनले कक्षा ११ मा नै कोरियन भाषा पढाउन सुरु गरे।

अहिले उनी कक्षा ११ को एउटा सेक्सन (एउटा कक्षालाई २–३ वटामा विभाजन गरिएको)मा कोरियन भाषाको पाठ्यक्रम पढाइरहेका छन्। साउन दोस्रो सातादेखि सुरु भएको कक्षा ११ को एउटा सेक्सनमा ६० जना विद्यार्थीले भाषा पढिरहेको खनालले जानकारी दिए। कोरियन भाषा पाठ्यक्रम ऐच्छिक विषय हो। यसअघि ऐच्छिक विषयका रुपमा अर्थशास्त्र पढाइ हुने गरेको थियो। अर्थशास्त्र नपढ्ने विद्यार्थी अहिले कोरियन भाषा पढिरहेका छन्।

‘धेरै विद्यार्थी कोरियन, जापानिज भाषा पढ्नकै लागि विद्यालय छाड्नेक्रम बढ्यो। यसले विद्यालयलाई चिन्तित बनाएको थियो’, उनले भने, ‘विद्यालयमै पढाउन पाए विद्यार्थीले पढाइ छाड्ने थिएनन् भन्ने थियो। त्यसैले अहिले विद्यालयमै यो भाषा पढाउन थालिएको हो।’

उनले अर्को वर्षदेखि विद्यालयमा जापानिज भाषा पनि पढाइने बताए। ‘शिक्षक पाइएमा अर्को वर्षदेखि जापानिज भाषा पनि पढाइने छ’, उनले भने। 

दाङको पुरानो विद्यालयमध्ये यस विद्यालय एक हो। जहाँबाट पढेका विद्यार्थी देशका नीति निर्माण तहमा पुगेका छन्। घोराही बजारबाट करिब ८ किलोमिटर पश्चिममा रहेको नारायणपुर बजारमा रहेको यस सिद्धरत्ननाथ मावि जिल्लाको उत्कष्टमध्येमा पनि पर्छ।

०००

दाङको मध्य सहर नारायणपुरमा रहेको सिद्धरत्ननाथ माविमा मात्र कोरियन भाषा पढाइ सुरु भएको होइन, यसको विस्तार हुँदै गएको छ। उच्च पहाडी जिल्ला कर्णाली प्रदेशको कालिकोट महावै गाउँपालिका–२ गैराखाडामा रहेको तिला माध्यमिक विद्यालयमा पनि अब कोरियन भाषा पढाइको तयारी भइरहेको छ।

यहाँ कोरियन भाषा पढाउने शिक्षक खोजी भइरहेको छ। भदौ पहिलो हप्तादेखि कक्षा ११ को पढाइ हुने र जहाँ ऐच्छिक विषयका रुपमा कोरियन भाषा पढाइ गरिने भएको हो। अहिले कोरियन भाषा पढाउने शिक्षकका लागि विज्ञापन गरिएको छ।

यस विद्यालयलाई पनि आजसम्म पढाइ नगरिएको विषय किन पढाउनु परेको होला? त्यसमा पनि पहिलो पटक ११ कक्षा सञ्चालनको अनुमति पाएको विद्यालयले। यसअघि १० कक्षासम्म मात्र पढाइ हुँदै आएकाे तिला माविमा कक्षा ११ सुरु नहुँदै विद्यार्थीले विद्यालय छाड्ने चिन्ता थपिएको छ।

‘यहाँ रहेका अन्य विद्यालयमा कक्षा ११–१२ पढ्दै गरेका विद्यार्थीले कोरियन, जापानिज भाषा पढ्नका लागि विद्यालय छाड्नेक्रम तीब्र छ। जसले यहाँको नतिजा पनि कमजोर भएको छ’, विद्यालयका प्रधानाध्यापक दिनेशबहादुर शाहीले भने, ‘त्यसो नहोस् भनेर हामीले ११ कक्षा पढाउने अनुमति पाएको पहिलो वर्ष नै कोरियन भाषा पढाउन थालेका हौँ।’

जिल्लामा पढ्नेभन्दा पनि कसरी बाहिरी देश जान सकिन्छ भन्नेमा विद्यार्थीहरू चिन्तित भएको देखिने उनी बताउँछन्। ‘यहाँ ११–१२ मा नाम लेखायो। पढ्न भने सुर्खेत, नेपालगन्ज जानेक्रम बढ्यो। यसलाई रोक्ने हाम्रो प्रयास हो’, शाहीले भने।

विद्यालयमा भाषा पढाउनु मुर्खता

दाङको सिद्धरत्ननाथ मावि र कालिकोटको तिला माविमा कोरियन भाषा पढाइ हुन थालेपछि यसको औचित्यमाथि प्रश्न उठेको छ। कुनै इन्स्टिच्युटमा सिकाइने भाषा राज्यको खर्बौँ लगानी गरेर चलाइएको विद्यालयमा पढाउनु कति उचित? बहसको विषय बनेको छ। 

सिद्धरत्ननाथ मावि घोराही उपमहानगरपालिकामा पर्छ। उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी यस विषयमा सतही जवाफ दिएर उम्कने प्रयास गर्छन्। ‘विद्यालयले पढाउछु भनेपछि अनुमति दिएका हौँ’, उनले भने।

चौधरीले के पढाउने, के नपढाउने विषय संघीय सरकारले तय गर्ने भन्दै नगरले केही गर्न नसक्ने बताए। यद्यपि शिक्षालाई स्थानीय तह मातहतका रुपमा जिम्मेवारी दिएको छ। आफ्नो पालिकामा के पढाउने वा नपढाउने भन्नेमा स्थानीय तहको शिक्षा नीतिमा पनि भर पर्छ।

तर चौधरी महानगरले यही नीति भनेर नबनाएको बताउँछन्। यसले शिक्षामा हाम्रो राज्य संयन्त्र कसरी चुकिरहेको छ भन्ने प्रष्ट्याउँछ।

शिक्षाविद् डा. विष्णु कार्की विद्यालय शिक्षामा भाषा पढाउनुलाई मुर्खतासँग जोड्छन्। उनी शिक्षाको उदेश्यमा कतै पनि विद्यालयमा भाषा पढाउन पाइने नरहेको बताउँछन्।

‘विद्यालयमा कुनै देशको भाषा पढाउनु गम्भीर कुरा हो। भाषा पढाउने कुरा होइन। यो त सिकाउने कुरा हो। शिक्षाको उदेश्य कहिल्यै पनि भाषा हुन सक्दैन। भाषा त जहाँ पनि सिक्न सक्नुहुन्छ नि। बाहिर ट्रेनिङ सेन्टरमा पनि भाषा सिकाइन्छ। विद्यालयमा शिक्षा दिने हो। भाषा सिकाउने होइन’, उनले भने।

कुनै इन्स्टिच्युटमा पढाइने भाषालाई शिक्षाका माध्यमबाट सिकाउन नपाइने डा. कार्कीले बताए। उनी विद्यालय विद्यार्थीलाई बाहिर देश पढाउनका लागि शिक्षा दिने थलो पनि नभएको बताउँछन्।

कुनै विद्यालयमा कोर्ष नै बनाएर भाषा पढाइन्छ भने त्यो विद्यालयको कमजोरीसँग हेर्न सकिने उनले बताए। ‘विद्यालयमै भाषा पढाउनुको उदेश्य विदेश पठाउनका लागि हो। यसरी विद्यालयमा भाषा पढाएर विद्यार्थीलाई बाहिर पठाउने उदेश्य विद्यालयले राख्छ भने त्यो गैरकानुनी हो’, डा. कार्कीले भने।

उनले अर्थशास्त्र जस्तो महत्वपूर्ण विषयका ठाउँमा कुनै देशको भाषा पढाउनु भनेको आपत्तिको विषय रहेको बताए। शिक्षामा भाषा कहिल्यै पनि प्राथमिकताको विषय नहुने उनको भनाइ छ।

सामाजिक सञ्जालमा आलोचना

दाङको सिद्धरत्ननाथ मावि कोरियन भाषा पढाइरहेको र कालिकोटको तिला माविमा कोरियन भाषा पढाउनका लागि विज्ञपन गरिएको विषयमा सामाजिक सञ्जालमा चर्को आलोचना देखिन्छ।

हामीले यी विषयमा आएका केही कमेन्टलाई लिएका छौँ। जसमा गजेन्द्र शाहीले महावै गाउँपालिकालाई लक्षित गरी कमेन्ट लेखेका छन्। तिला मावि महावै गाउँपालिकामा पर्छ।

शाहीले लेखेका छन्, ‘शिक्षामा महावै गाउँपालिका देशकै उत्कृष्ट भैसक्यो। अब विदेशी शिक्षा बाँकी रहेको छ।’ उनले देशलाई विदेश लखेटेर यहाँ के गर्न खोजेको भन्दै राज्य सञ्चालकमाथि पनि प्रश्न गरेका छन्।

‘अब नेपालमा सबै पाठ्यक्रम बन्द गर, काम छैन। दलालहरू युवालाई विदेशतिर लखेटेर आफूले के गर्न खोजेको हो?’, उनले अगाडि लेखेका छन्।

पुरुषोत्तम गिरी कोरियन भाषा पढाउने निर्णय सतही भएको र एक दिन यही निर्णय विद्यालयलाई घाँडो हुने बताउँछन्।

उनी लेख्छन्, ‘निर्णय एकदमै सतही भयो। के त्यो विद्यालय पढेका सबैको गन्तव्य कोरिया हुने हो त? एक दिन यो निर्यण विद्यायलाई घाँडो (काम नलाग्ने) हुन्छ। रोजगारी भाषाले दिने होइन। सिपले पो गरिखाने हो।’

प्रकाशित मिति: : 2024-08-24 07:15:00

प्रतिकृया दिनुहोस्