दलितलाई ‘पण्डित’ बनाएर व्यवस्था जान्छ र? (भिडियाे-अन्तर्वार्ता)

कमल विक

काठमाडाैं

पशुपतिनाथमा जारी कोटिममा दलित समुदायका धर्मगुरु(आचार्य)हरुले प्रवचन दिएको विषय चर्चामा छ। कतिले कोटिहोममा दलित समुदायले प्रवचन दिनु दलितका लागि सबैभन्दा ठुलो उपलब्धिमध्ये एक भएको भन्दै खुसी साटिरहेका छन्। कतिले यो हिन्दुवादीहरुको चटक भएको बताइरहेका छन्।

सामाजिक सञ्जालमा विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेकाबेला बिएल नेपाली सेवाले वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुती)सँग कुराकानी गरेको छ।

प्रस्तुत छ आहुतीसँग गरिएको कुराकानी:


पशुपतिनाथमा जारी कोटिहोममा दलित समुदायका धर्मगुरुहरुले दिएको प्रवचनलाई लिएर विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् त्यसमा तपाईंको धारणा के छ?

हिन्दु धर्म मान्ने मान्छेहरुले आफ्नो पर्वहरु मनाउनु, कोटिहोम होम वा अन्य कुनै काम गर्नु उहाँहरुको आफ्नो अधिकारको कुरा हो। त्यो उहाँहरुको आस्थाको कुरा हो। र, त्योसँग सहमत दलित समुदायका मान्छेहरु त्यहाँ जानु, सुन्नु र सुनाउनु त्यो पनि उहाँहरुको अधिकारको कुरा हो। यो स्वभाविक र सामान्य कुरा हो। त्यसमा धेरै ठुलो चर्चा गर्नुपर्ने, खुसियाली मनाउनुपर्ने वा दु:खी हुनुपर्ने त्यस्तो विषय केही पनि छैन। त्यो उहाँहरुको आस्थाको कुरा हो।

जहाँसम्म कोही मान्छेले संस्कृत पढ्यो, आचार्य बन्यो, कोही मान्छे के बन्यो वा कोही मानिस प्रवचन दिन गएर त्यसले जात व्यवस्थाको अन्त्य हुने, जात व्यवस्था कमजोर हुने भन्ने कुरा निकै ठुलो भ्रम हो।

नेपाली समाजमा संस्कृत पढेर उसको मानपदवी बढ्ने हुन्थ्यो भने त सबैभन्दा पहिला आचार्य गरेका बागलुङका भगवत सर्वजितले हो, २००३ मा। उनले त पदवी नै भागवत पाएर आएका हुन्। तर, उनको गति के भयो भन्ने हामी सबैलाई थाहा छ। उनी देशमा समेत बस्न नसक्ने भएर लखेटिए।

कसैलाई जनै लगायो भने केही हुन्छ कि भन्ने लाग्छ। भागवत सर्वजितलाई मोहन शमशेरले जनै लगाउने अधिकार नै दिएर पठाएको हो नि। तर, त्यसले हल भयो त। त्यसले त हल भएन। हल हुने कुरा पनि होइन।

त्यसकारण कोही आचार्य हुनु त संस्कृत भाषामा उसले एमए पास गर्यो भनेको हो। अँग्रेजीमा एमए गरेर अमेरिकाको उत्पीडन अन्त्य हुन्छ त। हिन्दी भाषा जानेर भारतको थिचोमिचो हुन्छ त। त्यो त हुँदैन नि। भाषा त मान्छेले विभिन्न कारणले सिक्छ। कोही रुचि भएर सिक्छ। अब कृष्ण दमाईको कुरा गर्दा अब उनलाई पढ्न मन थियो रे साइन्स पढ्ने पैसा नभएपछि त्यहाँ थुप्रिएका हुन उनी। त्यसकरण एउटा बाध्यात्मक हिसाबले मान्छेले भाषा पढ्ने भयो, त्यो त ज्ञानको कुरा भयो। सामाजिक व्यवस्थासँग त्यसको सम्बन्ध छैन।

अहिले हिन्दु धर्म मान्ने मान्छेहरुभित्र केही सुधारवादीहरु छन्। अलिकति सुधार गरियो भने यो जात व्यवस्थालाई वा हिन्दु धर्मलाई अलिकति लामो समय लैजान सकिन्छ कि भनेर सोच्ने मान्छेहरु छन्। एकथरी अति हिन्दुत्ववादीहरु छन्। ती घातक प्रकारका छन्। अर्कोथरि सुधारवादी प्रकृतिका छन्। उनीहरुले त्यसमा अलि-अलि सुधार गर्न पाइयो भने अलि लामो समयसम्म यो प्रथालाई लिएर जान सकिन्छ कि भन्नेहरु छन्।

सुधार दुई प्रकारले गरिन्छ। एउटा खराब चिजलाई अन्त्य गर्न गरिन्छ। अर्को चाहिँ खराब चिजलाई दीर्घ जीवन दिनका लागि गरिन्छ। त्यसकारण केही सुधारवादीहरु जात व्यवस्थाजस्तो चिजहरुलाई अलि लामो समय लैजानका निम्ति केही सुधार गर्न पाए हुन्थ्यो भन्ने सोच्छन्। उनीहरुले एकाध दलितहरुलाई मञ्चहरुमा लगेर निकै ठुलो भ्रम दिने गर्छन। हामीले के-के नै गर्यौ भन्ने भ्रम दिने काम उनीहरुले गर्छन्, गर्दै आएका पनि छन्। यो पनि त्यही प्रकारको काम हो। त्यहाँ भन्दा बढी केही पनि होइन्।

एकजना आचार्यले त कोटिहोममा व्यासासन गर्न पाएकोमा स्वर्गानुभूति भएको बताउनुभयो, भनेपछि दलितको स्वर्ग त यत्ति नै रहेछ नि है?

त्यो त हाँस्यास्पद कुरा भइहाल्यो।

उहाँलाई वा अर्को कुनै पात्रलाई त्यहाँ जाँदा आनन्द आयो भने त्यो उनीहरुको व्यक्तिगत कुरा भयो। कसैलाई कहाँ जाँदा आनन्द आउँछ, कसैलाई कहाँ जाँदा आनन्द आउँछ। त्यसको व्यक्तिगत कुरा भयो। त्यसमा कसैको लेनादेना केही पनि छैन। तर, त्यो कारणले गर्दा जात व्यवस्था घट्छ वा अन्त्य हुन्छ भन्ने होइन। त्यसमाथि उनले त्यहाँ गलत कुराहरु पनि गरे। अब उनको मुखबाट के भन्न लगाइन्छ त भन्दाखेरि ‘शास्त्रहरुमा जात व्यवस्था भन्ने केही पनि छैन, सबै चिज गुणको आधारमा हुने हो, जन्मको आधारमा भनेको होइन, ब्राहमण भनेको पनि शुद्र हुने भनेको पनि जातको आधारमा होइन गुणको आधारमा हो।’

पहिलो कुरा त्यो झुठो कुरा हो। सबै मान्छे ब्राहमण कूलमा जन्मिएपछि ब्राहमण हुने हुन। झुठो कुरा गरेर उल्लु बनाएर अब बन्छ संसार  कोही पनि बन्दैन नि।

अर्को कुरा, त्यही तर्क मान्ने हो भने अब आचार्य गर्नेहरु ठुला मान्छे हुने भए, अरु सबै दलितहरु कुजात भए त? मिल्छ त त्यो तर्क। त्यो तर्क मिल्दैन।

त्यसकारण कसैलाई कहीँ जाँदा स्वर्ग होला कसैलाई कहीँ जाँदा स्वर्ग होला त्यो व्यक्तिगत कुरा हो। पहिला-पहिला महिलाहरुलाई पोइको खुट्टाको पानी खान लगाइन्थ्यो। र, उनीहरुलाई ‘तँ स्वर्ग पुगिस्’ ‘यही हो स्वर्ग’ भन्न लगाइन्थ्यो। नबुझेको बेलामा महिलाहरुले हो यही हो हाम्रो स्वर्ग भन्थे। त्यो त चेनतास्तरको कुरा हो। जात व्यवस्था अन्त्य गर्ने विषय त्यससँग सम्बन्धित छैन।

मैले बुझेसम्म यस्तो जोकरगिरी काम गराइरहन्छन् मान्छेहरुले। जात व्यवस्थालाई लम्बेतान बनाउन केही मानिसहरुलाई टिपेर राजनीतिमा राज्यमन्त्री बनाएको जस्तो हो। एकजनालई राज्यमन्त्री वा सहायकमन्त्री बनाउने तर जात व्यवस्था नफेर्ने भनेको जस्तै कामहरु मान्छेले गरिरहन्छन्। त्यसबाट विशाल संख्यालाई भ्रमित बनाउन सकिन्छ भन्ने सोच्छन मान्छेहरु। मान्छेहरुलाई भ्रमित पार्छन पनि। त्यसको दीर्घकालीन असर केही पनि हुनेवाला छैन। जात व्यवस्थाको अन्त्यको प्रक्रियासँग त्यसको केही सम्बन्ध छैन। सकारात्मक साइनो छैन। त्यसले सामान्य मानिसहरुलाई यस्तो पनि गर्न सकिने रहेछ भन्ने त पार्छ तर त्यसले हुनेवाला केही पनि छैन।

आजको जमानामा युवा साथीहरुलाई मैले भन्ने कुरा के हो भने कर्मकाण्ड पढेर, कोही पाश्चर भएर, कोही लामा भएर, कोही पुरेत भएर अथवा त्यस्तो हुनालाई पढ्नेतिर लाग्नु बिल्कुल गलत बाटो हो। उपयुक्त बाटो होइन। आज त विज्ञान प्रविधिसँग अगाडि बढ्नु पर्‍याे, अर्थशास्त्रसँग अगाडि बढ्नु पर्‍याे, वातावरणविद् हुन थाल्नु पर्‍याे, राजनीतिज्ञ हुन थाल्नु पर्‍याे। सढेगलेका हजारौं वर्ष अगाडिका कथा वाचन गरेर उत्पीडित समुदाय अगाडि बढ्छ कतै त्यो हुने कुरा होइन।

दलित समुदायलाई व्यासासन राख्नु पर्नेसम्मको अवस्थामा कसरी पुगे हिन्दुवादीहरु?

यो अहिले मात्रै होइन पञ्चायतकालमा नै उनीहरुले मन्त्री बनाएका होइनन्। त्यसैगरी मोहन शमशेरले पनि जैन दिएको होइन त। त्यसकारण यस्ता केही चिजहरु त्यसो गर्यो भन्रे हुन्छ भन्ने भ्रम दिनका लागि मान्छेहरुले यस्तो पटक-पटक गर्दै आएका छन। यो अहिले मात्रै होइन नि। यसपटक त्यो कोटिहोम लगाउने टिमले विभिन्न चाटुकारीता गरिरहेको छ। इन्डियन मानिसहरुलाई ल्याएर प्रवचन गराउने, उनीहरुको जीवन अर्कै खालको छ यहाँ माता बनाउने कामदेखि लिएर जे गरिरहेका छन, त्यस्तो खेतीपाती गरिरहन्छन धर्मको नाममा वा अर्को नाममा मान्छेहरुले पैसा कमाउनका लागि भ्रम छर्नका निम्ति स्वार्थ पूरा गर्नका लागि त्यस्ता काम मानिसहरुले पटक-पटक गर्दै आएका छन्। मान्छेहरुले त यस्ता गरिरहन्छन त्यो त के सही के गलत हामीले चिन्नु पर्‍याे।

अब यो कुरा गलत हो भने अबको दिनमा दलित समुदायले गर्नुपर्ने काम के हो र बुझ्नु पर्ने कुरा के हो?

संगठन बनाएर राजनीतिक लडाइँ लड्नु पर्‍याे नि। अहिले स्कुल, क्याम्पसमा पढ्न पाउने भएको संस्कृत पढेर कि नेपालमा राजनीतिक आन्दोलन गरेर। २००७ सालको राजनीतिक आन्दोलन हुँदैन थियो भने, २००३ सालदेखि दलित आन्दोलन हुँदैन थियो भने, यी उपलब्धि प्राप्त हुन्थे त। हुँदैन थियो। अनि त्यही पशुपतिनाथ मन्दिर प्रवेशमा हजारौं दलितले प्रवेश गरेर भत्काइदिएपछि त्यो प्रथा भत्काइदिएपछि अनि पशुपतिबाट साइन बोर्ड हटाएको होइन त। अनि भागवत पढेर हो त्यो भएको। चमार बहिष्कार आन्दोलनमा सारा देश उल्टिएर राजनीतिक ढंगले लागेपछि अनि बल्ल चमारहरुले त्यो प्रथाबाट मुक्ति पाएको होइन। हो नि। अनि त्यो भागवत गीता पढेर हो। प्रवचन दिएर हो त। एकाध मान्छेलाई पण्डित बनाइदिएर हल हुन्छ त्यो। हुँदैन।

यही संविधानमा पनि केही कुरा दलितहरुको पक्षमा महिलाहरुको पक्षमा लेखिएको कुनै धार्मिक प्रवचन गरेर हो। होइन नि। धार्मिक प्रवचन गर्नुपर्छ भन्नेहरुले संविधानमा धर्म निरपेक्षता पनि चाहँदैन थिए नि त। यिनीहरु यो देशलाई हिन्दुराष्ट्र बनाइरहन चाहन्थे नि त। अनि तिमीहरुले गरेको कोटिहोममा कसैले प्रवचन गरेर जात व्यवस्था अन्त्य हुन्छ त। हुँदैन नि त। त्यो हुने कुरा गर्नुपर्छ नि त। यस्ता कुरा आजको युगमा कसले पत्याउँछ त। पत्याउनु कुरा गर्नु पर्‍याे नि त। एक ठाउँमा एउटा स्कुलमा एउटा कलेजमा मन्दिरमा कुनै पनि सार्वजनिकस्थलमा आज के गति छ भन्नु त। जातीय विभेद अवस्था २०को १९ भएको छैन। अनि त्यहाँ राजनीतिक संघर्ष छैन। अनि मान्छेहरु अन्त-अन्तै बाटोमा हिँडिरहेका छन्। यो बिल्कुल गलत बाटो हो, त्यसबाट भ्रमित हुनुपर्ने जरुरी छैन।

प्रवचनहरुमा धार्मिक गुरुहरुले हिन्दु धर्ममा जातीय विभेद छैन भन्छन त्यही हो त?

जात व्यवस्था त हिन्दु समाजको एउटा अभिन्न अङ्ग छ होइन? यो हामी सबैले भोगेको होइन? सबैले भोगेको कुरा हो नि त। आज देशमा हजारौं मन्दिरहरुमा पूजारी को छ त? परापूर्वकालदेखि जनजातीले बनाएको मन्दिरबाहेक अधिकांश हिन्दुले आफ्नो भनेको मन्दिरमा को छ पूजारी? त्यो जात व्यवस्थाले गरेको होइन? त्यहाँ जन्मिने बित्तिकै जागिर पाएकै होइन त? पञ्चाङ्ग समितिमा को छ ल भन्नु त? जन्मिने बित्तिकै त्यहाँ जागिर पाएको होइन त। त्यसकारण जात व्यवस्था जस्ताको त्यस्तै छ। अर्थतन्त्रमा हेर्नुस्, राजनीतिमा हेर्नुस्, संस्कृतिमा हेर्नुस् जस्ताको तस्तै छ। भनेपछि त्यो कारणले छ त? किन छ भन्दा हिन्दु समाजमा रहेको जात व्यवस्थाको कारणले छ। त्यसको दार्शनिक साहित्यका कारण छ। यही त हो कुरा, अनि के छ र छैन भन्नु पर्‍याे। छैन थियो भने छैन भनेर किन भन्न परेको त उहाँहरुले। थिएन भने त त्यो कुरा उठ्दैन थियो। सतिप्रथाबारे कसैले प्रवचन गर्छ त अहिले? गर्दैन नि। सतिप्रथा नै छैन त किन गर्नु पर्‍याे। त्यसकारण जे छ त्यसैलाई छैन भन्नु परेको हो उहाँले। त्यसकारणले यस प्रकारको भ्रम छर्ने एउटा कुरा भयो।

उत्पीडकहरुले के गर्छन भन्दा, उत्पीडितहरुलाई एक हातले दमन गर्दछन्। अर्को हातबाट माथि उठाउन खोजेको जस्तो भ्रम दिन्छन्। त्यो दुइटै काम सँग-सँगै गरिरहेका हुन्छन उनीहरुले। र, बढीमा त्यो उत्पीडित समुदायबाट एकाध मान्छेलाई माथि उठाउने र उसको मुखबाट आफ्नो कुरा भनाउँछन्। यो त आम चलिआएको कुरा हो नि त, अहिलेदेखि चलिआएको कुरा हो। त्यो कुरा न्यायप्रेमीहरुले बुझ्नु पर्‍याे। यो दलितले मात्रै बुझ्नुपर्ने कुरा होइन। किनकि, जात व्यवस्थाले दलितहरुलाई मात्रै हानी गरेको छैन। सबैलाई हानी गरेको छ। त्यसको पिँधमा दलित परेको हो। एउटा न्यायप्रेमी ब्राहमणलाई पनि गरिब बन्नका निम्ति जात व्यवस्थाले भूमिका खेलेको छ। कतिले यो कुरा बुझेको छैन। यो कुरा त बुझ्नु पर्‍याे नि त।

दक्षिण एसियाको मानिस विश्व रंगमञ्चमा गयो भने कस्तो हुन्छ? भिखारी होइन त। पैसा माग्ने कामबाहेक केही गर्न सक्दैन उसले। त्यसको हालत चौपट छ। केही आविस्कार गर्न सक्दैन त्यसले। त्यसकारणले गर्दा जात व्यवस्थाविरूद्ध एउटा राजनीतिक अभियान राजनीतिक हस्तक्षेप तथा सामाजिक र संस्कृति हस्तक्षेपको जरुरी छ। त्यसको निम्ति संगठित भएर संघर्ष गर्न जरुरी छ। यस्ता झिनामसिना कुराहरुमा अल्झिन जरुरी छैन।

फोटो/भिडियो: रविन भण्डारी

प्रकाशित मिति: : 2024-08-14 19:30:00

प्रतिकृया दिनुहोस्