२०७८ साल कात्तिक महिना, देशमा कोरोना महामारीकाे कारण लकडाउनमा थियो। घरमै थुनिएकी थिइन्, भक्तपुर ठिमीकी सुस्मिता पोखरेल।
सधैं भीडभाड हुने देशकाे राजधानी यसै पनि कोरोनाकालमा त्राहिमान थियो। उस्तै त्राहिमानमा सुस्मिता नहुने कुरै भएन। त्यसमाथि २०७८ साल कात्तिकको त्यो एकदिनको बिहानले उनलाई त्राहिमानका चालहरू थप बढायो।
त्यो बिहान उनलाई खाना खाँदा घाँटीमा केही अड्किएको जस्तो महसुस भयाे। जुन उनलाई सामान्य लागेको थियो। उस्तै प्रकृया दुई–तीन दिन दोहोरिएपछि नाक, कान, घाँटीको चेक गरिन्। केही भेटिएन।
चिकित्सकको सल्लाहअनुसार एकदिन ललितपुरस्थित निदान अस्पतालमा पुगिन्। निदान अस्पतालमा इन्डोस्कोपी गर्दा पेटमा घाउ देखियो।
पेटको घाउ त क्यान्सर पो रहेछ।
त्यसै त काेराेनाकाे त्रासमा बाँचिरहेकी सुस्मिता त्यसमाथि थपियाे अर्काे भयङ्कर त्रास, उनलाई लागेकाे थियाे अब त पक्कै बाँचिन्नँ। ‘क्यान्सर शब्द सुनेपछि म त छाँगाबाट खसेझैं भएँ। आँसु बर्रर आए’, उनी स्मरण गर्छिन्।
काठमाडाैंकाे थापाथलीस्थित नर्भिक अस्पतालमा चेक गर्दा उनमा दोस्रो स्टेजको क्यान्सर भएको पुष्टि भयाे।
अनि, परिवारकाे सल्लाहअनुसार उपचारका लागि भारत गइन्। भारतमा राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गरिन्। गत माघ १४ गते पहिलोपटक सुस्मितालाई ४८ घण्टाको चारवटा किमो चढाइयाे। ६ महिनापछि नेपालकै निदान अस्पतालमा सर्जरी भयाे।
सुस्मिता सबै उपचार भारतमा नै गराउन चाहन्थिन तर भइदियाे लकडाउन। उनी जान सकिनिन्। बाँकी उपचार नेपालमा नै भइरह्याे।
६ महिना कुर्दा पनि लकडाउन खुकुलाे नभएपछि उनकाे असोज ४ गते नेपालमै पेटको सर्जरी भयाे।
सर्जरीपछि शरीरमा परिवर्तनहरु देखिन थाले। निरन्तर वान्ता भयो। खाना रुच्न छाड्यो। उनी चिन्ताले पिराेलिइन्। ‘कतै उपचार राम्राेसँग भएन कि?, कि नेपालमा सर्जरी गरेर गल्ती गरेँ’, मनमा कुरा खेलिरहे।
तर, चिकित्सकले यसलाई सामान्य रुपमा लिए। अप्रेसनको असर भनिदिए। हो पनि रहेछ। पछि निको हुँदै गयो। यति गर्दा वर्षदिन भइसकेको थियो। लकडाउन केही खुकुलाे हुँदै थियाे। फेरि, सुस्मिता भारतमा गइन्।
भारतमा चेक गरेपछि त उनको क्यान्सर निको भइसकेको रहेछ। अर्थात्, पहिलेजस्तो समस्या उनमा रहेनछ।
‘रिर्पोटमा क्यान्सर नभएको पुष्टि भएपछि म त खुसीले आँसु झरे नि’, उनले बिएल नेपाली सेवासँग खुसी व्यक्त गरिन्।
याे उनकाे दुई वर्षमा क्यान्सर जितेपछिकाे कुरा थियाे।
‘उपचारपछिको जीवन निकै भयावह हुन्छ,’ उनले भनिन्, ‘म त निकै भाग्यमानी रहेछु, बुझ्ने परिवार, श्रीमान पाएँ।’
उनी अहिले ६–६ महिनामा फलोअपका लागि भारतमा जाने गर्छिन्।
क्यान्सरसँग लड्न सिकाउँदै सुस्मिता
क्यान्सरलाई अहिले पनि मान्छे मार्ने रोगकका रुपमा हेरिन्छ। सुस्मितालाई पनि लागेको थियो कि अब म बाँच्दिनँ होला। तर, उनले क्यान्सरलाई जितिन्। उनलाई अहिले लाग्छ, क्यान्सर रोग त अन्य रोगजस्तै त रहेछ। समयमै उपचार पाएमा निको हुने रहेछ। परिवारको माया पाए निको हुने रहेछ। आत्मबल बलियो बनाउन सके क्यान्सर निको हुने रहेछ।
‘क्यान्सर जित्नका लागि धेरै गाह्रो रहेनछ। स्वास्थ्यको ख्याल गर्नुपर्छ। घरबाट माया पाउनुपर्छ। अनि समयमै उपचार गर्नुपर्छ’, उनी भन्छिन्, ‘र, धेरै आफैं गुपचुप नबसेर साथी-भाइहरूसँग बस्नुपर्छ रमाउनुपर्छ। क्यान्सर जित्न सहज हुन्छ।’
र, उनी अहिले आफूले क्यान्सर कसरी जित्न सकिने रहेछ भनेर अरुलाई पनि ज्ञान बाँड्दैछिन्। गाउँ-गाउँमा पुगेर भ्रम र यथार्त भन्दैछिन्।
साथीबाट नेपाल क्यान्सर सर्भाइभर सोसाइटीसँग जोडिएर उनले क्यान्सरका बिरामीलाई काउन्सलिङ गर्दै आइरहेकी छिन्। ‘कुनै क्यान्सर लागेको मान्छेलाई भेटिएमा क्यान्सरबारे हौसाल दिन पाएँ भने म आफैंलाई गर्व लाग्छ’, सुस्मिता भन्छिन्, ‘भारतको अस्पतालजस्तो यहाँ बनाउन अब हामी लड्नुपर्छ। विदेशी डाक्टरलाई हामीले धनी नबनाऔँ। नेपालको पैसा विदेशमा खर्च नगरौँ।’
भिडियाे: