कुनै पनि विषयको ‘बजार’ बनाउनेहरू बडो मनोवैज्ञानिक हुन्छन्। मान्छेको मनमा के कुराले पिरोल्छ भनेर उनीहरूले अनेक अनुसन्धान गरेका हुन्छन्।
महिलालाई पतिको प्रेम र स्वास्थ्यको नाममा ‘जे पनि बिकाउन’ सजिलो हुन्छ भन्ने पसललाई थाहा छ। त्यसैले साउन महिनामा हरियो चुराको संस्कृतिलाई व्यापार बनाउन उनीहरूलाई सजिलो भएको छ।
कुनै पुरुषले हरियो कमिज र हरियो टोपी लगाएर हिँड्यो भने श्रीमती र छोरीको आयु बढ्छ भनेर किन कुनै धर्मग्रन्थमा नलेखेको होला? किन कुनै धर्मगुरुले नभनेको होला? आखिर परिवारमा त लोग्ने मात्रै धेरै आयु बाँचेर त भएन, स्वास्नी पनि त बाँँच्नुपर्यो..
दाम्पत्य जीवन सुखी बनाउन लोग्नेको कुनै दायित्व नै नहुने हो कि? सबैको आयु बढाउने जिम्मा स्वास्नीको मात्रै किन होला ? यस्तो प्रश्नको जवाफ महिलाहरूले खोजी गर्न थाल्नुपर्छ।
बजारमा हरियो सारी, कुर्था र चुरा किन्नेहरूसँग पहिले नै दराजमा थरीथरीका लुगा हुन्छन्। तर, बजारले महिलाको मनमा के घुसाइदिएको छ भने हामीले नयाँ हरियो लुगा नकिने, हरियो चुरा नलगाए पतिको आयु बढ्दैन। ‘म पतिलाई माया गर्छु भन्ने कुरा संसारलाई किन देखाउनुपर्यो? यस्तो प्रश्न महिलाहरू किन गर्दैनन्? हरियो, रातो, निलो जुन चुरा पनि महिलाले लगाए हुन्छ। तर, जब बजारले त्यो लगाउनैपर्छ भन्ने बाध्यता गर्छ अनि महिलाहरूले ‘हामी त्यसो गर्दैनौँ’ भन्न किन नसकेका होलान्?
बरु प्रेमको प्रतीकस्वरूप श्रीमान श्रमातीले दुईवटा रूख रोपेर साउन महिना मनाउन किन नसकेको होला? मेरी आमा, ८६ वर्षकी भइन्। १० वर्षको उमेरमा विवाह गरेर आएकी ४६ वर्षसम्म उनी तिजको निर्जल व्रत बसेर, नवरात्रीमा एक छाक रोटी खाएर पतिको आयु बढाउन खोजेकी थिइन्, तर आमा ४६ को हुँदा ५२ वर्षको उमेरमै पति (मेरो पिता) गुमाइन्। तर, अझै पनि उनी तिजमा व्रत बस्छिन्।
उनी ‘अर्को जन्मका लागि’ व्रत बस्छिन्। धार्मिक गुरुहरूले यो विचार भरिदिएका छन्। यो विचारबाट आमा पुस्ता निस्कन गाह्रो छ। तर, जब महिला हितका लागि बोल्ने महिलाले नै पतिको माया नै हरियो चुरा र तिजको व्रत बसेर सम्भव हुन्छ भन्ने विचार गर्छन्, अनि म आश्चर्यमा पर्छु। के बजार र धर्मले गरेको ‘इमोसनल ब्ल्याकमेल’ होइन र यो?
बजार बनाउने मानिसहरूलाई थाहा छ– प्रेमको नाममा पुरुषहरूलाई ‘इमोसनल ब्ल्याकमेल’ गर्न सकिन्नँ। तर, महिलाको मनमा भने डर पैदा गर्न सकिन्छ। महिलाले बजारको त्यो जाल बुझ्नुपर्छ। कमजोर मनोदशालाई पक्रेर व्यापारीहरूले पैसा कमाइरहेको षड्यन्त्र महिलाहरूले बुझ्नुपर्छ। हामी बजारको मोहरा भइरहेका छौँ। आफूले सिकेको त्यही ज्ञान छोरीलाई पनि सिकाइरहेका छौँ।
आफ्नो दीघार्युको लागि व्रत बस्ने श्रीमतीका बारेमा श्रीमान्चाहिँ के सोच्छन् त? केही पुरुष साथीहरूलाई सोधेँ। उनीहरूले भने, ‘आयु बढ्ने कुरामा विश्वास छैन। तर, व्रत बस्नु उनीहरूको अधिकार हो। मन लागेको गर्छन्।’ अर्का साथीले भने, ‘लुगा किन्न किचकिच गर्छन्। व्रत बसिन्जेलचाहिँ किचकिच अलि कम हुन्छ।’ अर्थात्, पुरुषप्रतिको माया दर्साउने महिलालाई पुरुषले किचकिच ठान्छ। हरियो सारी र चुरा लगाएर आफ्नो वरिपरि घुमिरहने मान्छे भन्ठान्छ। त्यसैले हामीले बुझ्नुपर्छ– साउनमा व्रत बसेर पतिको आयु बढ्ने भए नेपालमा कोही पनि हिन्दू महिला विधवा (एकल) हुने थिएनन्।