साउन ४ गते शुक्रबार काठमाडौँको ललितपुरकी १३ वर्षीया बालिकामा हैजा पुष्टि भयो। ललितपुरका सुधार गृहमा रहेकी उनलाई झाडापखाला, बान्ता हुने लक्षण देखिएको थियो। त्यसपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गरेपछि उनमा हैजा पुष्टि भयाे।
उस्तै लक्षण देखिएका केही व्यक्तिको नमुना परीक्षण गर्दा चार जनामा हैजा पुष्टि भएको थियो। त्यो परीक्षण विश्व स्वास्थय संगठनको पहलमा भएको थियो। चारै जनालाई टेकु अस्पतालमा भर्ना गरिएको थियो। तर तीमध्ये शौचालय जाने बहाना बनाएर तीन जना बिरामी भागेका थिए। पछि उनीहरूलाई नियन्त्रणमा लिएर फेरि अस्पतालमै भर्ना गरियो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार इनारमा भेटिएको जीवाणुबाट मानिसमा हैजाको संक्रमण फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार अहिलेसम्म देशभरिका १० जनामा हैजा संक्रमण पुष्टि भएको छ।
तीमध्ये लालितपुरका सात र कैलालीका तीन जनामा हैजाको पुष्टि भएको हाे। अहिले उनीहरूको उपचार भइरहेको छ।
नेपालमा पटक पटक विभिन्न क्षेत्रमा हैजाको संक्रमण फैलिइरहेको हुन्छ। त्यसमा पनि काठमाडौँ उपत्यका हैजाको सबैभन्दा बढी जोखिममा रहेको स्थान हो। करिब २ सय वर्षअघि अर्थात् सन् १८२३ मा नेपालमा पहिलोपटक हैजा पुष्टि भएको थियो। त्यसयता काठमाडौँमा ५ पटक हैजाको प्रकोप फैलिइसकेको छ। एउटा अध्ययनअनुसार एउटै ठाउँमा हैजाको प्रकोप २० देखि ३० वर्षको बीचमा महामारीकै रुपमा फैलिनसक्ने देखिएको छ।
२०६६ सालतिर जाजरकोटमा फैलिएको हैजाको संक्रमणबाट ५०० भन्दा धेरै मानिसको मृत्यु भएको थियो। गत वर्ष कपिलवस्तुमा पनि हैजाको प्रकोप फैलिएकाे थियाे। त्यसअघि डोटी, बैतडी, बाँके तथा रौतहटलगायतका जिल्लाहरूले हैजाको प्रकोप सामना गरिसकेका छन्।
०००
यसअघि टुकुचा-बागमती खोलाको दोभानबाट संकलन गरिएको पानीको नमुनामा १० वर्षपछि पोलियो भाइरस देखिएको थियो। त्यसअघि वि.स.२०७१ सालमा विश्व स्वास्थ्य संगठनले नेपाललाई पोलियो उन्मूलन भएको राष्ट्रका रुपमा घोषणा गरेको थियो।
पोलियो उन्मूलन भएको १० वर्ष बितिसकेको छ। तर यस वर्ष काठमाडौँका खोलाको पानीमा गरिएको परीक्षणमा डिप्राइभ्ड पोलियो भाइरस भेटिएको हो।
यो नयाँ भाइरस भने होइन। तर यसपटक पहिले देखिने भाइरस नयाँ रुपमा देखिएको र त्यो संक्रमणको जोखिम हुने चिकित्सकहरु बताउँछन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले हरेक वर्ष बच्चाहरूले पोलियो थोपा खाए वा खोप लगाएपछि खोलाहरूमा पोलियो भाइरसको परीक्षण गरेका हुन्छन्। यसपटक पनि त्यही परीक्षणमा टुकुचा खोलामा जेठ १३ गते पोलियो भाइरस देखिएको हो।
बच्चाहरूमा देखिने त्यही भाइरस यस पटक नयाँ रुपमा देखिएको छ। धेरै जस्तो बालबालिकमा देखिने अर्थात् पाँच वर्षमुनिका बालबालिका पोलियो भाइरस रोगको जोखिममा बढी हुनेगर्छ।
पोलियो लागेमा बान्ता हुने, जिउ गल्ने, थकान महसुस हुने, ज्वरो आउनेजस्ता लक्षणहरू देखिन्छन्। पोलियो भाइरस दूषित पानी, खानेकुराका कारण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नसक्छ।
त्यसैले पोलियो भाइसरबाट बँच्न पाँच वर्षमुनिका बालबालिकालाई ललितपुर, भक्तपुर, काठमाडौँमा चार दिन पोलियो खोप अभियान चलाएको थियो। यो रोगको उपचार भनेको पहिला नै खोप लगाउने वा पोलियो थोपा खुवाउने हो।
०००
उपत्यकामा हैजा र पोलियोभन्दा अघि नै डेंगी पनि उत्तिकै फैलिइरहेको थियो। वर्षायामसँगै यसका बिरामीहरू पनि बढ्न थालेका छन्।
खासगरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट यो रोग मानिसमा सर्छ। डेंगी सिधै मानिस-मानिसको निकटता वा सम्पर्कबाट सर्दैन। पुस मध्यदेखि असारसम्म देशभर १ हजार ८ सय २५ जनामा डेंगी देखिएको छ। जसमा सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा संक्रमित छन्।
बागमती प्रदेशमा ४०३, कोशीमा २७७, गण्डकीमा १८७, लुम्बिनीमा १३९, सुदूरपश्चिममा ११८, मधेसमा ३४ र कर्णालीमा १७ जनामा डेंगी संक्रमण भएको छ।
यो वर्ष मुस्ताङ, डोल्पा, मुगु, हुम्ला तथा जुम्लाबाहेक ७२ जिल्लामा डेंगी फैलिसकेको सरकारी तथ्यांक छ। कुनैबेला गर्मी ठाउँमा मात्र हुने यो संक्रमण पछिल्ला वर्षहरुमा चिसो स्थानमा पनि देखिन थालेको छ।
गत वर्ष २०८० पुसदेखि मंसिरसम्म देशभर ५१ हजार २३४ संक्रमित भेटिएका थिए। यस समयमा २० जना संक्रमितको मृत्युसमेत भएको थियो। जसमा सबैभन्दा बढी प्रभावित धरान भएको थियो। डेंगीले दीर्घरोग भएका जस्तै दम, मुटु, फोक्सो, श्वासप्रश्वास समस्याका रोगीलाई बढी असर पुर्याउँछ।
यो वर्ष पनि डेंगी अझ बढ्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ। वर्षा लागेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेपछि संक्रमण बढ्ने गरेको छ।
पानी जम्ने सफा ठाउँमा ‘एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस’ प्रजातीको लामखुट्टेले फुल पार्छ, ती फुल लार्भा बन्छन् र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्छ र डेंगी फैलिन्छ।
त्यो लामखुट्टेले टोकेको १५ दिनसम्म पनि सामान्यतया डेंगीका लक्षणहरू नदेखिनसक्छ। तर च्याप्दै गएपछि टाउको एकदमै जोडले दुख्ने, वाकवाकी लाग्ने र बान्ता हुने क्रम सुरु हुन्छ। अनि ज्वरो बढ्दै जाने हुन्छ।
त्यस्तै रिङ्टा लाग्ने, ज्वरो अनियमित हुने, मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुसजस्ता लक्षण देखापर्ने हुन्छ।
पछिल्लो समय देशमा हैजा, पोलियो भाइरस, डेंगीलगायतका रोगले मानिस बिरामी भइरहेका छन्। धेरै वर्षपछि पोलियो भाइरस भेटिनु बाढीपहिरोका कारण भएकाे दूषित पानीले हाे।
चिकित्सकहरू के भन्छन्?
‘हैजा भनेको दिशाबाट थाहा हुन्छ, कडा खालको हैजा लागेमा मानिसको मृत्यु पनि हुनसक्छ,’ सरुवा तथा संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘हैजा, डेंगी, पोलियो भाइरसले बिरामी हुनु भनेको निकै ठूलो बिरामी हुनु हो।’
अस्पतालमा बिहानीदेखि बेलुकासम्म बिरामी चाप उत्तिकै हुन्छ। विशेषगरी रुघाखोकी, ज्वरो, झाडापखालाका बिरामी धेरै नै हुने गर्छन्।
‘हैजाबाट बच्चा, उमेर गएका बाआमा जोगाउनुपर्छ,’ उनले भने, ‘त्यसमा पनि धेरै जसो बर्खामा खानपान, दूषित पानीले बिरामी भइरहेकै हुन्छन्।’
टेकु अस्पतालमा डेंगी भएका बिरामी दिनमा चार–पाँच जना भएकै हुन्छ। झाडापखाला, ज्वरो आउने बिरामी पनि उत्तिकै हुन्छन्।
पछिल्लो समय फैलिएका सरुवा रोग नियन्त्रणका लागि सरकारले विभिन्न ठाउँमा प्रचार गर्ने, स्वास्थ्य संस्था, विद्यालयमा कार्यक्रम गर्ने, खोप लगाउने अभियान गर्नुपर्ने डा.पुनको भनाइ छ।
यस वर्ष गर्मीसँगै वर्षाका कारण बाढीपहिरोका जोखिम भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले यो वर्षमा वर्षा धेरै हुने आँकलन गरेको छ। वर्षाका कारणले विभिन्न ठाउँमा ढल मिसिएर पानी दूषित बन्दा सरुवा रोग फैलिनसक्छ।
‘पोलियो भाइरस, हैजा र डेंगी भनेको बच्चाका लागि धेरै खतरनाक रोग हो,’ बाल मुटु रोग तथा जनरल फिजिसियन विशेषज्ञ डा.नारायण बहादुर बस्नेत भन्छन्।
उनका अनुसार हैजा व्याक्टेरियाका कारण छिटो फैलिनसक्छ। पोलियो भाइरसका कारण छिटै स्वास्थ्यमा समस्या देखिने गर्छ।