कैलालीमा पशु चौपाया छाडा छाड्ने प्रवृत्ति अझै हट्न सकेको छैन। पशु चौपाया दूध दिउन्जेल तथा उपयोग गरुन्जेल राख्ने तर उपयोग हुने अवस्था नरहेपछि जथाभाबी छाड्ने प्रवृत्ति कायमै छ। यसले यहाँका मुख्य बजार तथा बस्तीहरूमा चुनौती थपिँदै गएको छ।
पशु कल्याण समिति धनगढीका अध्यक्ष चेतराज अवस्थी फाइदा हुन्जेल पशु चौपायाको स्याहारसुसार गर्ने र काम नलाग्ने भएपछि जथाभाबी छाडने गरेकाले व्यवस्थापनमा निकै समस्या देखिन थालेको बताए। “काम नलाग्ने भएपछि छाडा छाड्ने गाई गोरुका कारण बजारमा सडक दुर्घटनाको जोखिम बढेको छ। धनगढीको छ लेन सडकमा दैनिकजसो एक/दुई गाई गोरु गाडीसँग ठोक्किएर मरेकै हुन्छन्। हाम्रो संस्थाले एक सयभन्दा बढी पशुको त उपचार गरिसकेका छौँ”, उनले भने।
केही वर्ष पहिले यहाँका स्थानीयले घरघरमा दूधका लागि गाई पाल्ने गर्थे। गाईबाट जन्मिएका गोरुलाई खेत जोन्नका लागि प्रयोगमा ल्याउँथे। कृषिको आधुनिकीकरणसँगै आएका कृषि औजारका कारण गोरुको प्रयोग गरेर खेती गर्ने कार्य विस्थापित हुँदै गएको छ। घरमा गाई पालेर दूध खाने चलन पनि बिस्तारै हराउँदै छ। पाल्नेहरूले पनि दूध दिन छाडेपछि सडकमा छाड्ने प्रवृत्ति छ।
स्थानीय अगुवा शेरबहादुर विष्टले पशु चौपाया छाड्ने प्रवृत्ति कायमै रहेकाले यसबाट किसान सबैभन्दा बढी मारमा परेको उनले बताए। छाडा पशु चौपायाका कारण किसानलाई खेतमा लगाएको खाद्यान्न बाली जोगाउनै समस्या भएको विष्टको गुनासो छ।
कृषक दुर्गा जोसीले छाडा चौपायाबाट अन्नबाली जोगाउनै मुस्किल भएको दुखेसो पोखे। 'अर्काको जमिन भाडामा लिई खेती गर्दै आएको छु। थुप्रै पैसा खर्च गरेर धान रोपेको थिए। केही जमिनमा तरकारी लगाएको छु तर रातको समयमा पशु आएर खाइदिनाले जोगाउन निकै सकस भएको छ', उनले भने।
छाडा पशु चौपाया दिनभर बजार क्षेत्रमा डुल्ने र रात परेपछि खेतबारीमा आएर बालीनाली नोक्सान गर्ने गरेका छन्। किसानलाई मात्रै होइन स्थानीय तहलाई पनि यसरी छाडेका पशु चौपाया व्यवस्थापनमा समस्या भएको छ। धनगढी उपमहानगरपालिकाद्वारा छाडा पशु चौपायाको व्यवस्थापनका लागि वडा नं ७ स्थित देवहरीयामा गौशाला निर्माण गरिएको छ।
धनगढी–३ चटकपुरमा पनि केही वर्ष अगाडिदेखि गौ संरक्षण सेवा समितिमार्फत गौशाला सञ्चालनमा छ। धनगढीको फूलबारी र बेहडाबाबामा पनि गौशाला सञ्चालनमा ल्याइएका छन् भने कतिपय स्थानहरूमा ‘काञ्जी हाउस’समेत निर्माण गरिएका छन्। तर धनगढीसँग जोडिएको छिमेकी जिल्ला कञ्चनपुर, गोदावरी नगरपालिका र खुला भारतीय सीमानाकाका कारण विभिन्न स्थानबाट चौपाया भित्रिने क्रम नरोकिएकाले व्यवस्थापनमा थप चुनौती थपिएको छ।
गौ संरक्षण सेवा समितिका उपाध्यक्ष चेतराज अवस्थीले धनगढीका साथै खुला सीमा नाका कारण अन्य क्षेत्रबाट चौपाया भित्रिने गरेकाले व्यवस्थापनमा चुनौती रहेको बताए। 'यहाँका विभिन्न ठाउँमा गौशाला र काञ्जी हाउस बनाइएका छन् तर पनि बजारमा समस्या कायमै छ। छाडा चौपायाको व्यवस्थापनका लागि स्थानीय तहबाट केही प्रयास भए पनि समस्या समाधान हुन सकेको छैन', उनले भने।
त्यसैले यहाँ छाडा पशु चौपायाको व्यवस्थापन गर्न स्थानीय तह मात्रै नभई प्रदेश र सङ्घीय सरकारले पनि आवश्यक सहयोग गर्नुपर्ने अवस्थीलगायत स्थानीय सरोकारवालाको भनाइ छ।