१० वर्षपछि काठमाडाैँकाे पानीमा पाेलियाे भाइरस: उपत्यकामा विशेष खाेप अभियान सञ्चालन गरिँदै

Break n Links
Break n Links

पाेलियाेमुक्त देश घाेषणा गरिएकाे १० वर्षपछि नेपालमा पाेलियाे भाइरस भेटिएकाे छ।

टुकुचा खाेला र बागमती दाेभानबाट लिइएकाे नमुनामा डिप्राइभ्ड पोलियोको भाइरस– ३ भेटिएकाे बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. अभियान गौतम जनाए।

सन् २०१० बाट व्यक्तिमा पोलियो नदेखिएपछि सन् २०१४ मा नेपाललाई पोलियोमुक्त देश घोषणा गरिएको थियो। यद्यपि, त्यसयता नमुना परीक्षण भने भइरहेकाे थियाे।

सरकारले पोलियो उन्मुलन रणनीति २०२२–२०२६का कार्यक्रम सञ्चालन गरिरहेकाे छ। जसअनुसार महिनाकाे दुईपटक उपत्यकाका विभन्न पाँच ठाउँबाट नमुना संकलन गरी परीक्षण गर्ने गरिन्छ। त्यसक्रममा गत जेठ गते टुकुचा र बागमती दाेभानबाट संकलन गरिएकाे नमुनामा डिप्राइभ्ड पोलियोको भाइरस– ३ भेटिएकाे हाे।

‘काठमाडौंको टुकुचा र बागमती दोभानमा बागमती नदीतर्फको खण्डबाट ढलबाट आएको पानी यो भाइरस पुष्टि भएको हो’, डा. गाैतमले भने।

प्रयोगशाला परीक्षणको नतिजाअनुसार सो पोलियो भाइरस पोलियो खोपबाट उत्पन्न पोलियो भाइरस पुष्टि भएको छ।

डा. गाैतमका अनुसार याे भाइरस नेपाल पहिलाेपटक भने भेटिएकाे हाेइन। बिगतमा पनि याे भाइरस बच्चाहरुमा देखिने गरेकाे थियाे।

याेपटक पनि याे भाइरस भएकाे बच्चाकाे दिसा ढलमा मिसिएकाे हुन सक्ने र त्यहीमार्फत नदी दाेभानमा भेटिएकाे हुन सक्ने अनुमान उनकाे छ।

अब याे भाइरस बालबालिकामा सर्न सक्ने जाेखिम रहेकाे चिकित्सकहरुकाे भनाइ छ।

सम्भावित जाेखिमलाई मध्यनजर गर्दै काठमडाैँ, ललितपुर र भक्तपुरका पाेलियाे भाइरसविरुद्धकाे खाेप अभियान सञ्चालन गरिने भएका छ।

काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आफ्नो भौगोलिक क्षेत्रभित्रका सबै घरमा पुगेर पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने योजना बनाएको छ। यो विशेष पोलियो खोप अभियान हो। अभियान साउन ९ गते सुरु हुनेछ। यसअघि नियमित खोप लिएका बालबालिकालाई पनि यो खोप अनिवार्य उपलब्ध गराउन अनुरोध गरिएको छ।

पोलियो खोप ६ हप्ता, १० हप्ता र १४ हप्ता गरी तीनपटक मुखबाट (ओरल पोलियो भ्याक्सिन-ओपीभी) खुवाइन्छ। यस्तै १४ हप्ता र ९ महिनाको उमेरमा सुइबाट (इनएक्टीभेटेड पोलियो भ्याक्सिन-आइपीभी) दिइन्छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार काठमाडौँ महानगरपालिकाभित्र २ लाख ३८ हजार ९६६ घर छन्। यी घरहरुमा पाँच वर्षमुनिका करिब ६३ हजार ५६ जना बालबालिका रहेको अनुमान गरिएको छ।

विभागको तथ्याङ्कमा वडागत रुपमा हेर्दा सबैभन्दा धेरै वडा नं. ६ मा ६ हजार १२ जना बालबालिका छन्। सबैभन्दा कम वडा नं. १ मा ४६२ जना छन्।

यो खोप जन्मेदेखि पाँच वर्षमुनिका सबै बालबालिकाका लागि हो। जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठकाअनुसार महिला स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीसहितको टोली घर-घरमा गएर पोलियो थोपा खुवाउनेछन।

पाेलियाे कस्तो रोग हाे?

याे पोलियो भाइरसबाट हुने संक्रामक रोग हो। यस भाइरसबाट संक्रमण भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुनेजस्ता लक्षण देखिने डा. गौतमले जानकारी दिए।

पोलियो रोग दूषित खाना र पानीको माध्ययबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ। पाँच वर्षमुनिका बालबालिका पोलियो भाइरस रोगको जोखिममा बढी हुने गर्छ।

उनका अनुसार यो रोगको हालसम्म कुनै निश्चित उपचार छैन। याे राेगकाे सबैभन्दा ठुलाे उपचार भनेकाे खाेप नै रहेकाे छ। र, संक्रमण हुनबाट जाेगिन शुद्ध पानी पिउने, पानी तताएर मात्रै पिउने,खानेकुरा सुरक्षित राख्ने र खाने गर्नुपर्छ।

प्रकाशित मिति: : 2024-07-23 07:48:00

प्रतिकृया दिनुहोस्