उताका ओली र यताका ट्रम्प: उस्तै उस्तै हुन् नानू !

Break n Links
Break n Links

बिसौँ शताब्दीसम्म पनि वामपन्थी र दक्षिणपन्थी आधारमा राजनीतिक ध्रुवीकरण हुन्थ्यो । मूलतः यो एक किसिमको वैचारिक ध्रुवीकरण थियो । यद्यपि, समाज पनि त्यही आधारमा ध्रुवीकरण हुन्थ्यो । यसको मूल आधार वर्ग थियो ।

सामान्यतः निम्न र मध्यम वर्गका मानिसहरू वामपन्थी हुन्थे भने उच्च वर्गका मानिसहरू दक्षिणपन्थी हुन्थे । यसको अर्को आयाम धर्म थियो । धेरै धार्मिक मानिसहरू दक्षिणपन्थी हुन्थे, कम धार्मिक मानिसहरू वा धर्ममा विश्वास नगर्ने मानिसहरू वामपन्थी हुन्थे ।

सोच वा दृष्टिकोण अर्को आधार थियो । रूढीवादी, अन्धविश्वासीहरू दक्षिणपन्थी हुन्थे भने, प्रगतिशील सोच राख्नेहरू वामपन्थी । यो ध्रुवीकरणलाई राजनीतिक दर्शनले मात्र हैन, साहित्यले पनि सहयोग गर्थ्यो । सामान्यतः यथास्थितिका विरोधीहरू वामपन्थी हुन्थे. आलोचनात्मक चेत यसको एक अनिवार्य अंश थियो।

केही अपवादलाई छोडेर वैचारिक ध्रुवीकरणका सामान्य आधार यिनै थिए ।

अहिलेको समाज ध्रुवीकरणका यी आधारहरू भत्किएका छन् । वैचारिक आधारभन्दा पनि क्षेत्रीय र स्थानीयजस्ता गैरवैचारिक आधारहरू बलियो हुँदैछन् । यद्यपि, पछिल्लो ध्रुवीकरणका सबै किसिमका आधारहरूलाई सूत्रबद्ध गर्दा मोटामोटी रूपमा उदार अन्तर्राष्ट्रियतावादी र लोकप्रिय राष्ट्रवादी भन्न सकिने अवस्था देखिँदैछ । खासगरी पछिल्लो युरोपेली राजनीतिक ध्रुवीकरण र अमेरिकामा परेको त्यसको प्रभावलाई हेर्दा यसो भन्न सकिने परिस्थिति विकसित हुँदैछ । 

नेपाल पनि पछिल्लो समय त्यही किसिमको धुविकरणतिर अगाडि बढिरहेको जस्तो देखिन्छ । यद्यपि, सत्ता स्वार्थ नै केन्द्रमा राखेर छिटो छिटो बन्ने र भत्कने सत्ता गठबन्धनले त्यस्तो आकार लिने मौका नै दिएका छैनन् । तर, एउटा कुराचाहिँ के सत्य हो भने नेपालमा वामपन्थ शीघ्र स्खलनको बाटोमा छ । वर्ग, सोच, चिन्तन, दृष्टिकोण, दर्शन र साहित्यजस्ता वामपन्थी आधारहरू लगभग पुरै भत्किएका छन् ।

नेपालको कम्युनिष्ट आन्दोलनको मूल तप्का एमाले पूरै रामनामी जप्ने कित्तामा पुगिसकेको छ । यही कित्ताको हालीमुहाली बढ्दै जाँदा छेउका अरू कम्युनिष्टहरू पनि रामनामी प्रतिस्पर्धामै छन् । कुनै समय अरूलाई ब्रुजुवा र पेटी बुर्जुवा भन्नेहरू नै अहिले सबैभन्दा बढी बुर्जुवा र पेटी बुर्जुवा भएका छन् । यो वा त्यो नामको शीर्ष नेतृत्वको स्तुतिगान नै अहिलेको कम्युनिष्ट राग भएको छ ।

नेपालमा सुरुदेखि नै भारत र अमेरिका विरोधी राष्ट्रवाद केन्द्रमा छ । 'अमेरिकी साम्राज्यवाद-  मुर्दावाद' , 'भारतीय विस्तारवाद- मुर्दावाद' भनेपछि राष्ट्रवादी हुने रोगले अझै पनि नेपालको राष्ट्रियता मुक्त हुन सकेको छैन । यो काइते राष्ट्रवादले तीन तिरबाट घेरिएको भूपरिवेष्टित नेपालको धरातलीय यथार्थ बुझ्दैन, न एक मात्र महाशक्ति अमेरिकाको महत्व नै बुझ्छ ।

विडम्बना नै भन्नुपर्छ, आफूलाई अन्तर्राष्ट्रियतावादी भन्ने नेपालका कम्युनिष्टहरूले नै सुरुदेखि यो काइते राष्ट्रवादको नेतृत्व लिइरहेका छन् । परिस्थिति कहाँबाट कहाँ पुगिसक्यो, तैपनि उनीहरूको कम्युनिष्ट भोटको रोटी यही काइते राष्ट्रवादको तावामा सेकिइरहेको छ । अहिले उनीहरूले यसैलाई अर्को रङको लोकरिझ्याइवादको जामा पनि पहिराइ दिएका छन् ।

यसको केन्द्रमा छन्, एमाले अध्यक्ष केपी शर्मा ओली । नेपालको संविधानमा भएका अव्यवस्थाका छिद्रहरू र ढाँटको पैँचो खाइपत्याउने नेपाली समाजको मनोदशाको नाडी छामेका ओली चौथोपटक प्रधानमन्त्री नियुक्त हुनुको पछाडिको मूलकारण पनि यही नै हो । 

नत्र, झुटको पुलिन्दा बनाउने, संविधानको जुँगा उखाल्ने र गँजडी गफमा रमाउने ओली पटकपटक प्रधानमन्त्री हुनुपर्ने कुनै कारण देखिँदैन । आखिर प्रधानमन्त्री केका लागि हुने ? एकपटक हैन, दुई पटक हैन, चार चारपटक ।

त्यो पनि उनी २०७४ मा बाहेक अरू समय संसदमा ठूलो दल भएर पनि प्रधानमन्त्री भएका हैनन् । अझ, यसपटक त उनी १२ घण्टा अगाडि पनि सत्ता साझेदार माओवादी अध्यक्ष प्रचण्डलाई 'स्वर्ग गए पनि सँगै, जाने नर्क जाँदा पनि सँगै जाने 'भनिरहेका थिए । यति सफेद झुट बोल्न सक्ने ओली एक ‘प्याथोलोजिकल लायर’ हुन् । यस्तालाई काँधमा बोकेर प्रधानमन्त्री बनाउने कांग्रेस अर्को नालायक हो ।

जनताको त के कुरा भयो र ?, अहिलेको परिस्थिति २०७९ को चुनावमा जनता जनार्दन हुन नसक्दाको परिणाम हो । नेपाली जनता यस्तै ‘प्याथोलोजिकल लायर’ लाई प्रधानमन्त्री बनाएर शासित हुन लायक छन् ।

यो स्तम्भकारले पटकपटक लेखिसकेको छ, ओली अब पात्र मात्र रहेनन्, प्रवृत्ति नै भइसके । यो ओली प्रवृत्ति अब एमालेमा मात्र हैन, नेपालका अरू दलहरूमा पनि बन्सोझैँ झ्यांगिसकेको छ । आफूलाई मात्र केन्द्रमा राखेर जे पनि गर्ने प्रवृत्ति नै ओली प्रवृत्ति हो ।

यो प्रवृत्तिमा मूल्य, मान्यता, सिद्धान्त, आचरण, नैतिकता केही नै हुँदैन, सत्ता र स्वार्थका लागि सबै नांगा हुन्छन् र उनका कारिन्दाहरू वादशाहको रेशमी लुगाको महिमामण्डन गर्छन् । अहिले ओलीका लागि शुभकामना भन्ने र उनको महिमा मण्डन गर्ने नैतिकहीन अवसरवादीहरूको लामो पंक्ति देख्दा यति भन्नलाई कुनै आइतबार पर्खनु पर्दैन ।

ओलीले जतिसुकै मिडिया ट्रायल गरेर आफ्नो सत्ता फिर्तीलाई जे जस्ता किसिमका जामा लगाइदिए पनि भुटानी शरणार्थी प्रकरण र गिरिबन्धु टी स्टेट प्रकरण नै यसको केन्द्रमा छ । अझ, पक्राउका लागि प्रहरीको हात धेरै नजिक पुगिसकेकी आरजु राणा देउवालाई जोगाउन नै यो हठात् गठबन्धन भएको हो भन्न अब कुनै आइतबार पर्खनु पर्दैन । अरूको कमजोरीमाथि खेल्दै सदैव फाइदा लिदैआएका ओलीले यसपटक आरजुको नाडी छामेर सत्तारोहण गरेका हुन् । 

आरजुका महामन्त्री देवरहरूले यो सरकार गठनको आधार दिँदा संविधान संशोधन, राष्ट्रिय सहमतिको दुहाई दिउन् वा प्रचण्डको म्याजिक नम्बरको वरिपरि रहेर उनलाई जति नै खुइल्याउन, त्यसको खासै अर्थ छैन । इजार बिनाको त्यो पाइजामा धेरै बेर अडिने छैन, खसेका दिन लाज त उनै देवारहरूलाई पनि हुँदो हो । सभापति श्रीमानका अगाडि त यसै पनि लाज हुने कुरो भएन ।

इतिहास जित्नेकै लेखिने हो । त्यसैले अब यी सबै तपसिलका कुरा हुन्छन् । अहिले जे भए पनि जित्ने सिकन्दर ओली नै भए । विरोधी पक्षका कांग्रेस सेनापति नै उनलाई सेनापति बनाएर आफ्नी श्रीमतीलाई जोगाउन लागेको र उनका भाइभारदाहरू त्यसमा ‘नोट अफ डिसेन्ट’ समेत नलेखी निहुरमुन्टी लगाएपछि अहिलेको नेपालको धरातलीय यथार्थ यही हो ।

कामना गरौँ, ओलीको बुद्धि फर्कियोस् र यसपटक ठूला गफ हैन, साना काम गरेर केही योगदान गरून् । तर, यो स्तम्भकारको प्रिय कामना मात्र हो किनभने, ओली बाँसको धिरीमा राखेका बाँदरको बांगो पुच्छर हुन्, चौथोपटक त के सयौँपटक धिरीमा राखेर निकाले पनि हुने भनेको बांगोको बांगै नै हो ।

उता ओली, यता ट्रम्प
उता, जन्मदेश नेपालको कुरा जस्तो छ; यता कर्मदेश अमेरिकाको कुरा पनि लगभग उस्तै छ । आखिर राजनीति जहाँ पनि उस्तै रहेछ । संयोग नै भन्नुपर्छ, उता नेपालका ४५औ प्रधानमन्त्री हुन् ओली, यता अमेरिकाका ४५औं राष्ट्रपति हुन् ट्रम्प । पपुलिस्ट राष्ट्रवादका यी ‘नमूनाहरू’का सारा चरित्र उस्तै छन् । तर, यसपटकका घटनाक्रमले टाइमलाइन भने अत्यन्तै फरक बनाइदियो । उता, नेपालमा ओली सत्तारूढ हुँदा यता ट्रम्पको भने झन्डै प्राणपखेरू नै उडाइ दिए ।

पहिला ओली र ट्रम्पका केही समानताहरूको कुरा गरौँ, ओली र ट्रम्प दुवै व्यक्तिवादी र निरंकुश छन् । ट्रम्पले मूलधारका रिपब्लिकनलाई किनारा लगाए, ओलीले एमालेका मूलधारका नेतालाई । ट्रम्पले रिपब्लिकनलाई ट्रम्पकन बनाए । ओलीले एमालेलाई ओमाले ।

ओली दशगजामा काँढेतार लगाउनुपर्छ भन्छन् तर महाकाली सन्धि मात्र गर्दैनन्, रातारात ‘र’ प्रमुखलाई बालुवाटारमा रेडकार्पेट ओछ्याएर स्वागत पनि गर्छन् । यता ट्रम्प मेक्सिको सिमानामा पर्खाल लगाउने कुरा गर्छन् तर आफ्नै कम्पनीहरूमा कागजपत्रविहीन आप्रवासीहरूलाई सस्तो ज्यालामा काम लगाउँछन् । यी दुवैको मुखमा रामराम बगलीमा छुरा छन् । ओली ‘समृद्ध नेपाल सुखी नेपाली’को माला जप्छन्, ट्रम्प ‘मेक अमेरिका ग्रेट अगेन’। तर, यिनीहरू दुवैले केही गर्दैनन् ।

यति मात्र हैन, ह्वाइट हाउस छोड्नुपर्दा ट्रम्पले क्यापिटल हिलमै मागा आक्रमणकारी पठाएर हमला गराए भने ओलीले बालुवाटार छाड्नुपर्दा दुईदुईपटक संसद नै भंग गर्ने दुस्प्रयास गरे। दुवै झुट बोल्नमा नामुद छन्, एक किसिमले भन्ने हो  भने यी दुबैले झुट बोलेर दिउँसै रात पार्छन् भन्दा पनि हुन्छ ।

‘खुत्रुके मामला’मा पनि यी दुवै बदनाम छन् । तर, नेपाली समाजमा खुत्रुके चरित्रका बारेमा धेरै चर्चा हुँदैन,अमेरिकी समाजमा धेरै हुन्छ ।

यी त समानताका केही सूची हुन्, बनाउँदै जाँदा लम्बेतान सूची बनाउन सकिन्छ । समय क्रममा अरू पनि थपिदै बन्दै जालान् ।

राजनीति मूलतः जहाँको पनि उस्तै हो किनकि यसको मूलभूत सिद्धान्त र दर्शन नै एउटै हुन्छ । प्रजातन्त्र जनताका लागि जनताद्वारा र जनताले भने पनि यो देखाउने दाँत मात्र हो, चपाउने दाँत भनेको जनतालाई भेडो बनाएर शासन गर्ने नै हो । नेपालमा होस् वा अमेरिकामा हुने भनेको यही हो ।

उता, नेपालमा कम्तीमा पनि ओली अरू डेढ वर्षका लागि सत्तारूढ भएका छन् । यता, अमेरिकामा ट्रम्प अरू चार वर्षका लागि ह्वाइट हाउस पुग्न नोभेम्बर ५ मा हुने आमनिर्वाचनका लागि साम, दाम, दण्ड, भेद लगाएर लागेका छन् । अत्यन्त उग्र राष्ट्रवादी भाषण गर्ने ट्रम्प एक किसिमका प्याथोलजिकल लायर मात्र हैन, ३४ अभियोग पुष्टि भैसकेका एक अपराधी पनि हुन् ।

नीलो सिनेमाकी एक नायिकासँग गरेको खुत्रुके कर्तुत बाहिर ल्याउनबाट रोक्न दिएको घुसका लागि उनी दोषी भएका हुन् । कानूनी भाषामा फेलोन भनिने उनी यस्तो बदनाम इतिहास बनाउने अमेरिकाका एक मात्र वहालवाला वा पूर्वराष्ट्रपति हुन् । तर, पनि उनी लोकप्रिय छन् र चुनावी मत सर्वेक्षणमा अगाडि छन् ।

यदि, यही अवस्था नोभेम्बर ५ सम्म रह्यो भने ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपति चुनिनेछन् । उनले भनी नै सके, म पहिलो दिनदेखि नै निंरकुश हुनेछु । यसको अर्थ प्रस्ट छ, उनी रूपमा राष्ट्रपति भए पनि सारमा राजा बन्न चाहन्छन् । उता ओलीले त विद्या भण्डारी राष्ट्रपति भएको बेला लगभग राजाकै जस्तो अभ्यास गरिसकेकै हुन् ।

रह्यो जनताको कुरा, आखिर एकै समय बाँचिरहेका अहिलेका जनता जहाँका भए पनि एउटै ‘ग्लोबल भिलेज’का बासिन्दा हुन् । यी सबै सबै पपुलिष्ट राष्ट्रवादकै जंकफुड खाने मुडमा देखिन्छन् । आगे समयको ऐनामा हेर्दै जाऊँ, बाँचे देखिन्छ ।

प्रकाशित मिति: : 2024-07-20 08:03:00

प्रतिकृया दिनुहोस्