कांग्रेसको बर्चश्व तोडेका मानवीरलाई रक्षा मन्त्रालयको चाबी

नवनियुक्त रक्षामन्त्री मानवीर राईले पदभार ग्रहण गरेका छन्।

सोमबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका मन्त्री राईले आजै सिंहदरबारस्थिति मन्त्रालयमा पुगेर पदभार गरेका हुन्।

उनले पहिलो पटक मन्त्रालय सम्हाने जिम्मेवारी पाएका हुन्। एमालेले ३० वर्षपछि चुनाव जितेको हिमाली जिल्ला सोलुखुम्बुबाट राईलाई मन्त्री बनाएको हो।

बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि सोलुखुम्बुमा एमालेले पहिलो पटक २०७९ सालमा चुनाव जितेको थियो। नेपाली कांग्रेसका प्रभावशाली नेता बलबहादुर केसीलाई हराएर राई एमालेको तर्फबाट निर्वाचित भएका थिए।

२०२७ साल असार ७ गते बुबा आशकुमार र आमा जतनमाया राईको अन्तरे छोराको रुपमा माप्य दुधकोशी गाउँपालिका-२ ठूलोढुंगामा जन्मिएका उनी २०४२ सालबाट विद्यार्थी राजनीतिमा होमिएका थिए।

२०७२ सालमा सम्पन्न छैटौँ अधिवेशनबाट नेकपा एमाले जिल्ला कमिटिको अध्यक्ष भइसकेका राई चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेसनबाट एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

कांग्रेसका केसी सोलुखुम्बुबाट ०४८ पछि निरन्तर चुनाव लड्दै आएपनि तेस्रो पटक पराजित भएका थिए। पछिल्लो निर्वाचनमा राईले १९ हजार ३ सय २४ मत पाएर विजयी हुँदा कांग्रेसका केसीले १६ हजार ५ सय ४५ मत पाएका थिए।

बहुदलपछि भएका निर्वाचनमा ०६४ र ०७४ मा नेकपा माओवादी केन्द्रले विजयी गरेको बाहेक बाँकी सबै पाँच निर्वाचन कांग्रेसले जित्दै आएको थियो। निर्वाचनका बेला पुस्तानान्तरणको नारासहित मैदान उत्रिएका उनले पहिलो प्रयासमै ओलीको मन जितेर रक्षा मन्त्रालयको चाबी नै बोकिसकेका छन्।

प्रकाशित मिति: : 2024-07-15 17:21:00

प्रतिकृया दिनुहोस्