कस्तो लाटो म…!
केही भावुक, केही आक्रोश र आशंकाहरू छोडेर आफ्नो ‘अन्तिम इनिङ’बाट नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदा भएका छन्।
‘स्वर्ग र नर्क सँगै जाने कुरा १७ गते बिहान भएको थियो। मिलेर ८४को चुनाव पनि सँगै लड्ने पार्टी पनि एउटै बनाउने भनेपछि म त मख्खै परें। क्याबिनेटमा गएँ। त्यहाँ अरु मन्त्रीहरूले भन्नुभएको थियो सहमति भइसकेको छ भन्नुभयो तर एमाले अध्यक्षसँग चार घण्टा कुरा भएको छ ढुक्क भएर काम गर्नुस् भनें’ संसदमा प्रधानमन्त्रीका रुपमा अन्तिम सम्बोधन गर्दै उनले भनेका छन् ‘तर कस्तो लाटो म…।’
हतियार बिसाएर संसदीय राजनीतिमा मिसिएका प्रचण्डको यो तेस्रो कार्यकाल थियो। तर उनको राजनीतिक भाषामा ‘अन्तिम इनिङ’। फेरि उनी सत्तामा फर्केलान् नफर्केलान् यो त स्वंय प्रचण्डलाई पनि ठेगान छैन। तर आफूले भनेजस्तै ‘उथलपुथल’ यो अन्तिम इनिङ प्रचण्डका लागि जत्तिको सुखद् सुरुवात थियो त्यत्तिकै पीडापूर्ण विदाइ भयो।
यो बहिर्गमनलाई प्रचण्ड ‘भावुक’ स्वीकार गरिसकेका छन् र आफूलाई झुक्याइएको अनि अलमल्याएको आत्मालोचनासहित आफूलाई यो राजनीतिक खेलमा ‘लाटो’ भएको पनि घोषणा गरेका छन्।
२०७९ सालको चुनावमा सँगै मिलेर जोगिएका प्रचण्डले आफ्ना चुनावी सारथीहरूलाई यसरी छोडिदिए कि उनलाई कल्पनासम्म सायद थिएन यो हदसम्मको बहिर्गमन होला भनेर।
तर उनले त्यो परिस्थिति कसरी निम्तियो भनेर पनि खुलाएका छन्। भावुकतामा कहिलेकाहिँ प्रचण्ड सत्य कुरा पनि फ्याट्टै भनिदिन्छन्। जसरी यसपालि काँग्रेस-एमालेको गठबन्धन सहमतिबारे उनले ओली र देउवासँग भएको संवाद र आफूलाई कसरी ढाँट्न खोजियो भनेर संसदमा भनिदिए।
‘निर्वाचनपूर्वकै गठबन्धन अर्थात् नेपाली कांग्रेससहितको सत्ता समिकरणमा म प्रधानमन्त्रीका रूपमा त सुरक्षित थिएँ तर मेरो छटपटी अनुसारको समन्वय भएन। सरकार असफल भएको त होइन तर मेरो अपेक्षाअनुसार गति लिन सकेन’ उनले भनेका छन् ‘सरकारले एक वर्ष पूरा गरेको अवसरमा जनताका नाममा गरेको सम्बोधनमा मैले स्पष्टै भनेको पनि थिएँ, देशमा सकारात्मक आसा र परिवर्तन ल्याउन नसके म कसैलाई माफ गर्दिनँ र आफू पनि पद ओगटिरहन्नँ। कांग्रेसको शीर्ष नेतृत्वसँग असमझदारी भएर, सत्ताको संकट भएर वा अविश्वास भएर मैले गठबन्धन परिवर्तन गरेको होइन भनेर मैले त्यतिबेलै संसदमै भनेको हुँ।’
जंगलबाट सिधै सिंहदरबारको यात्रा तय गरेका प्रचण्ड उनले यसपालि भनेकोजस्तो ‘लाटो’चाहिँ होइनन्। राजनीतिका चतुर खेलाडी हुन् उनी। मान्छेलाई जत्ति भावुक बनाउन जानेका छन् र आफू पनि हुन्छन् त्यत्तिकै उनले उचाल्न र पछार्न पनि जानेका छन्। जस्तो कि संसदमा अन्तिम सम्बोधनका क्रममा उनले महिला, दलित तथा साना दलहरूको ‘अस्तित्व’को डर देखाएर उनीहरूलाई आफ्नो लयमा तान्ने प्रयास गरे।
आफूले ‘हार्छु’ भन्ने थाहा पाउँदा पाउँदै पनि उनले संसदमा विश्वासको मत माग्ने हिम्मत गरे। र, यसलाई उनले रोमाञ्चक स्वीकारोक्ति पनि गरे ‘हार्दा कस्तो हुन्छ भन्ने अनुभव पनि गर्न मन छ…।’
‘कहिले विश्वासको मत पाएँ।कहिले अत्यधिक मत पाएँ। आज त पाउँदिन होला तर मलाई यो पनि अनुभव गर्न मन छ हार्दा कस्तो हुनेरैछ भनेर’ यति भनेर उनले विश्वासको मत मागें। यसै कार्यकालको पहिलो चरणमा प्रचण्डले संसदमा ‘प्रचण्ड’ मत नै पाएका थिए। त्यो बेला प्रचण्डबाट ‘धोका’ खाएको नेपाली काँग्रेसले पनि उनलाई विश्वासको मत दिएको थियो। त्यही मत दोस्रो चरणको गठबन्धनको कारक पनि बन्यो र एमाले बाहिरिएपछि नेपाली काँग्रेस सरकारमा जाने भर्याङ पनि बन्यो।
र यो भावुकतासँगै उनले संसदको रोष्ट्रमबाटै ‘प्रतिरोध र प्रतिवाद’को सुरुवात गरेर प्रतिपक्षको सिटलाई बलियो बनाउने उद्घोष पनि गरेका छन्।
तर यो प्रतिरोध फेरि जंगल फर्किने बाटो होइन भनेर उनले त्यो दशवर्षे ‘युद्ध’ पनि सम्झाएका छन्।
आजको संसद-मन्तब्यमा प्रधानमन्त्री 'प्रचण्ड'ले नेकपा एमाले अध्यक्ष के.पी.शर्मा ओलीप्रति आक्रोश पोख्दै अल्पमतमा परेपछि कस्तो निर्णय गरेको हो भनेर सम्झाउन खोजे। अनि काँग्रेसलाई संसद र संविधान जोगाउन सुझाव दिए।
सुशासनको डरले एमाले र काँग्रेस अहिले नयाँ सरकार बनाउने निर्णयमा पुगेको भन्दै प्रचण्डले शक्ति सन्तुलनको हिसाव किताव राष्ट्रपति देखि सभामुखसम्म मिलाएको जिकीर पनि गरे।
‘जनता जाग्नुस्, अब जनता जाग्ने बेला भयो, होइन भने फेरि देश माफियाकै हातमा जानेछ’ प्रचण्डको यो विद्रोहको धम्की पनि दिन बिर्सेनन्। यो त उनको पुरानै बानी हो।
०४८ साल देखिका सरकार र संसदमा भएको प्रतिनिधत्वको फेहरिस्त माथि कटाक्षपुर्ण प्रस्तुति संसदमा पोखे। माफिया र विचौलियाको सहयोगमा सरकार फेरवदल भएको विषयलाई संसदमा भनिदिए।
स्वर्ग र नर्कको मार्गमा साथै साथै जाउँला भनेको विषयमा संसदमा खुलेर कुरा राख्दा संसद गलल गुञ्जियो।
शारिरिक हाउभाउले समेत कटाक्ष प्रस्तुत गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले र काँग्रेस पहिलो पटक मिलेका होईनन्। न त अन्तिम सहकार्य यो नै होला भनेर रोष्टमबाट हेक्का राख्न सुझाव दिए।
‘तपाईंहरू मिल्नुस्, केही छैन । पहिलोपटक मिल्नुभएको पनि होइन, अन्तिमपटक मिल्नुहुने पनि होइन। तर, जनताका अधिकार खोस्ने विषय दिमागबाट निकाल्नुस्। अधिकार उपभोग गरिसकेको जनताका उपलब्धि खोस्न सजिलो हुँदैन’ उनको चेतावनी छ ‘हिँजो निदाएको सीमान्त वर्गमाथि जति शासन गर्नुभयो, त्यो गर्नुभयो। अब युद्ध, विद्रोह र आन्दोलनको भट्टीले त्यो वर्गलाई जगाएको मात्र छैन, राप र तापसहित इस्पात बनाइसकेको छ। प्रचण्डसँग रिस फेर्ने कुण्ठामा सीमान्त वर्ग र समुदायलाई जिस्क्याउने गल्ती नगर्नुहोस्।’
क्रान्तिको शक्ति लिएर शान्तिको बाटोमा हिंडेको प्रचण्डलाई कम्जोर नठान्न संसदीय अभ्यासमा रहेका दलहरुलाई चेतावनी समेत दिए। अभिजात वर्गले दया गरेर दिएको संविधान नभएकाले संविधान माथि आक्रमण नगर्न एमाले र काँग्रेसलाई सुझाए।
संसदीय राजनीतिमा हुनसक्ने एउटा भयलाई प्रधानन्त्री प्रचण्डले पटक पटक आफ्नो सम्बोधनमा उल्लेख गरेका छन्। संसदका दुई ठूला दलहरू मिलेर सत्ता सञ्चालन गर्दा त्यसमा निरंकुशताको डर पक्कै हुन्छ। साना दलहरूको अस्तित्व ओझेल पर्छन्। दुई ठूला दलहरू मिलेपछि संसदमा यो स्वभाविक दृश्य हुन्छ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दै गर्दा कांग्रेस र एमाले मिल्दा प्रतिगमन र निरंकुशताको डर छ भन्ने गम्भिर विषय उठाए। प्रधानमन्त्री प्रचण्डले त्यस अघि ०४६ साल पछी ०६२-६३को अवस्थामा पुगदा सम्मको समावेशिताको अवस्थालाई केलाईदिए।
अल्पमतमा परेपछि संसद विघटन गर्ने बानी परेकाहरूले आफूलाई नैतिकता नपढाउन प्रधानमन्त्री प्रचण्डले संसदमा एमाले तर्फ कटाक्ष गरे। प्रधानमन्त्री प्रचण्डले जाँदा जाँदै प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउने गरी संविधान संशोधन गर्न समेत प्रस्ताव गरिदिए। साना दलहरुको अस्तित्वका विषयमा सचेत रहन संसदका साना दलहरुलाई सुझाए।
तुलनात्मक रुपमा एमाले नेतृत्व ओली भन्दा कम आलोचना काँग्रेस नेतृत्वको गरेका प्रधानमन्त्री प्रचण्डले आफ्नो व्यक्तित्व भावना प्रधान हुने कुरा फेरि संसदमै दोहोर्याए।
काँग्रेस सभापति शेरबहादुर देउवासँग भविष्यको लागी सहकार्यको गुञ्जायस राख्दै आफ्नो मनतव्यमा निषेधको राजनीति भन्दा सहकार्य र सहमतिलाई बल दिन अनुरोध समेत गरेका छन्।
भ्रष्टाचारका विभिन्न प्रकरणहरूले कांग्रेस र एमालेलाई एक ठाउँमा ल्याएको भन्दै प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता गठबन्धनलाई नैतिक दबाबमा राख्ने प्रयासको सुरुवात गरिसकेका छन्।
जाँदा जाँदै प्रचण्डले भने- ‘अलिअलि वामपन्थी आन्दोलनको भावुक बहकाउले नै मलाई एमालेसहितको गठबन्धनमा लगेको हो। मैले सरकारको गियर परिवर्तनका लागि यो ठीकै बाटो हो भन्ने मानेको थिएँ। तर, जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, त्यो षड्यन्त्र थियो भन्ने थाहा पाउन म ढिलो भएँ। केही मान्छेहरू कहिल्यै कुण्ठा र प्रतिशोधबाट निस्किन सक्दैनन्भनेर मैले हिसाब गरिनँ, समयले मान्छेलाई सुधार्छ भन्ने विश्वास गरेँ। म लामालामा मीठा र भरोसापूर्ण संवादहरूबाट अल्मल्याइएँ। स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ। म यसको नैतिक जिम्मेवारी लिन तयार छु। नयाँ सत्ता समीकरण बनाइरहेका साथीहरूलाई मेरो यत्ति भन्नु छ, तपाईंहरूको आपसी अनुभव अप्रिय नहोस्। कसैमाथि धोका नहोस्। मेरो शुभकामना छ।