भारत–बंगलादेशबीचको ‘रेल ट्रान्जिट’ विवाद, नेपालसँग पनि भएको थिएन सफल

भारतीय रेललाई आफ्नो भूमिमा ट्रान्जिट सुविधा दिने एउटा सम्झौतामाथि बंगलादेशका विपक्षी तथा कैयन उच्च पदस्थहरूले आलोचना गरेपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफूले ‘देशकै हितका लागि’ यो सम्झौता गरेको सफाइ दिएकी छिन्। 

उनले आफूले छिमेकी देशसँगको सम्बन्ध सुधार तथा आफ्नो देश र जनताका लागि पनि फाइदा हुने हिसाबले नै त्यो सम्झौता भएको पनि दाबी गरेकी छिन्।

‘चाहे जति नै सानो देश किन नहोस् उसको आफ्नै सम्प्रभुत्ता हुन्छ’ उनले भनेकी छिन् ‘हामी त्यसकै रक्षा र दुई देशबीचको मैत्री सम्बन्धमा आफ्नो पहिचान बनाइराख्नका लागि यो सब गरिरहेका छौं।’ 

उनले एउटा देशलाई अर्को देश पार गरेर जानका लागि कुनै समस्या नभएको र यो त्यत्ति धेरै राष्ट्रियतासँग जोडिएको कुरा पनि नभएको दाबी गरिन्। 

‘एक देश भएर अर्को देशमा जाँदा कहाँ कसलाई के नोक्सान हुन्छ र? हामीले युरोपलाई हेरौं त्यहाँ कहिँ कसैको सिमाना छैन। अनि यस्तो हुँदैमा आफ्नो देश बेचेको हुन्छ? हामी दक्षिण एशियामा यस्तै सोंचका कारण पछिको पछि नै रहिरहेका छौं’ उनले भनिन्।  

उनले बंगलादेशका जनताका जनताकै बृहत्तर हितका लागि आफूले भारतसँग रेल कम्युनिकेसन बढाइरहेको समेत प्रस्ट पारिन्। 

‘यो सब यहाँकै जनताका लागि हो। देशको विकासका लागि हो। हामीले आफ्ना जनतालाई पनि सुविधा होस् भनेर यसो गरिरहेका छौं’ उनले भनेकी छिन् ‘म आफ्नो जीवनभरि देशकै लागि सेवा गरिरहेकी मान्छे हुँ। ढुक्क हुनुहोस् शेख हसिनाले देश बेच्ने छैन। किनकि यो देशलाई स्वतन्त्र गराउनेमध्ये म पनि एक हुँ।’ 

उनले यसलाई भारतप्रतिको झुकावका रुपमा नलिन र आफूले देशको हितविपरीत कहिल्यै कुनै पनि सम्झौता नगर्ने पनि प्रस्ट पारिन्। 

केही दिनअघिको भारत भ्रमणका बेला शेख हसिनाले भारतीय प्रधानमन्त्रीसँग विभिन्न १० वटा सम्झौतामा हस्ताक्षर गरेकी थिइन्। तीमध्मे एक थियो- बंगलादेशको भूमिमा भारतीय रेललाई ट्रान्जिट सुविधा दिने सम्बन्धि सम्झौता। 

यो सम्झौता कार्यान्वयन भएमा भारतका मालबाहक रेलहरूको एउटा ‘बिसौनी’ बंगलादेशको भूमि हुनेछ अनि त्यहाँबाट अरु देशमा भारतले सामानहरू ढुवानी गर्न सक्नेछ। तर यो सम्झौतालगत्तै विपक्षीहरूले सरकारको चर्को आलोचना सुरु गरेका छन्। आगामी जुलाई देखि नै बंगलादेशको भूमि भएर रेल चलाउने योजना भारतले बनाइरहेको छ। 

यसअघि सन् २०१८मा भएको एउटा सम्झौताअनुसार बंगलादेशको चटगाउँ तथा मोङ्गला बन्दरगाहको प्रयोग गर्दै भारतलाई आफ्ना मालबाहक रेलहरू राज्यका अरू हिस्सामा पुर्‍याउन अनुमति दिइएको थियो।

अहिले बंगलादेश-भारतमा पाँच रुटमा रेलहरू सञ्चालन भइरहेका छन्। तीमध्ये तीनवटा यात्रुबाहक र बाँकी दुई मालबाहक हुन्। नयाँ सम्झौता लागु नभएको अहिलेसम्मको अवस्थामा भारतीय रेल बंगलादेशको सिमानामा पुगेपछि बंगलादेशकै इन्जिन राखेर उसको भूमिमा छिर्नुपर्ने व्यवस्था छ।  

नयाँ सम्झौतापछि भारतीय मालबाहक रेलहरू पश्चिम बंगलाको गेडे बोर्डरबाट बंगलादेशको चुआडाँङातिर सिधै प्रवेश पाउनेछन्। यहाँबाट अरु स्टेशनसम्म पनि भारतीय रेलहरू निर्वाध पुग्नसक्छन्। 

यसबाट बंगलादेशलाई खासै फाइदा नहुने भन्दै अहिले नयाँ सम्झौताको ब्यापक आलोचना र विरोध भइरहेको छ। कतिपयले शेख हसिनालाई भारत परस्त भनेर फेरि टिप्पणी पनि गरिरहेका छन्। 

यसअघिका सम्झौतामा भारतले मालबाहक रेलहरू चलाएवाफत बंगलादेशलाई ट्रान्जिट शुल्क पनि तिर्ने भनिएको थियो। एक टन सामानको अहिले भारतले ३०० रुपैयाँ तिर्दै आएको थियो तर बंगलादेशले भने हरेक वर्ष ५० करोड डलर शुल्क उठाएर देशलाई आर्थिक लाभ हुने भनेको थियो। विपक्षी दलहरू सरकारले भारतसँग त्यो शुल्कवाफत पैसा पनि उठाउन नसकेको आरोपहरू लगाइरहेका छन्।

अहिले बंगलादेशले भारतसँग गरिरहेको पारबहन सम्झौता देशको हितविपरीत रहेको विपक्षीहरूको दाबी छ। किनकी यस्ता सम्झौताहरूमा भारतले सधैं आफूलाई नै माथि पार्दै आएको छ। 

यसअघि नेपाल तथा भुटानले पनि १९७६ र १९८४ मा बंगलादेशसँग पारबहन सम्झौता गरेका थिए। तर यो धेरै प्रभावकारी हुन सकेन। किनकी बंगलादेशका मालबाहक साधनहरू भारतीय भूमिलाई उपयोग गरेर स्वतन्त्ररुपले चल्न पाएका थिएनन्। 

प्रकाशित मिति: : 2024-06-26 08:41:00

प्रतिकृया दिनुहोस्