मनसुनमा मिसिएर किन चलिरहेछ हुरी?

Break n Links
Break n Links

शान्तसँग झिमझिम पानी। त्यो पनि घण्टौँसम्म। न हावाहुरी चल्छ। न चट्याङ पर्छ। बरु पहिरो खस्छ। डुबान हुन्छ। यो मनसुनी वर्षाको असली रुप हो। मनसुन सक्रिय भएको अवस्थालाई यहाँ बर्षायाम भनिन्न।  

तर पछिल्लो समय वर्षाले रुप फेर्दै गइरहेको छ। कहिले समयभन्दा पहिले वर्षा सक्रिय हुन्छ। कहिले वर्षाको समय भइसक्दा पनि वर्षा हुँदैन। कतै बेपत्ता पानी पर्छ। कतै पानीका छिटासम्म हुँदैनन्।

वर्षा सक्रिय हुँदा पनि कहिले चट्याङ, हावाहुरीले क्षति गर्छ। जसरी बुधबार पश्चिममा हावाहुरीले क्षति गरिरहेको छ। 

मौसमविदहरूका अनुसार यसरी वर्षाले रुप परिवर्तन गर्दै गइरहेको छ। 

बुधबार (असार ५ गते) राती पश्चिम तराइमा आएका हावाहुरीले धनजनको क्षति गर्‍यो। बाँकेमा हावाले पर्खाल भत्काउँदा कोहलपुर–१४, वीरगञ्जकी मीना खातुनको मृत्यु भयो। 

हुरीबतासले घरका छाना उडायो। विद्युतका पोल ढाल्यो। रुखहरू ढले। जसले ठुलो भौतिक क्षति भयो। 

हावाहुरीले दाङको तुलसीपुर १ र २ मा विद्यालयको छाना उडायो। विद्यालयको छाना उडाएपछि पठनपाठन ठप्प भयो। 

हावाहुरीले विद्युतका पोल ढाल्दा दाङको तुलसीपुर, घोराही, बाँकेको नरैनापुर, राप्तिसोनारी, डुडुवा, बर्दिया, कैलाली, कञ्चनपुरलगायत क्षेत्रमा विद्युत आपूर्ती बन्द भयो। 

ठाउँठाउँमा रुखविरुवाहरू ढलेर कतै बाटो अवरुद्ध भए। कतै घरहरूमा क्षति भयो। यसरी असारको महिनामा हावाहुरी चल्नुलाई मौसमविद् स्वभाविक मान्दैनन्। 

यस वर्ष यसै पनि वर्षा सुरु भइसक्दा पश्चिममा गर्मीले सताएको छ। पूर्वतिर बाढीले गाउँबस्ती उठिबास बनाएको छ।  

यहीबीचमा अझै पश्चिममा हावाहुरीले थप भौतिक क्षति गरेको छ। साथमा मानवीय क्षति पनि भयो।

किन असार महिनामा पनि हावाहुरी चलिरहेको छ त? हावाहुरीका कारण मानवीय र भौतिक क्षति भइरहेको छ? मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धर अझै पश्चिममा मनसुन सक्रिय नभएकाले यसरी हावाहुरी चलेको बताउँछिन्। 

‘अलिअलि त हुने भयो कि तर मनसुनी मौसमी प्रणाली सक्रिए भएपछि चट्याङ पर्ने, हावाहुरी चल्ने भन्ने हुँदैन’, उनले भनिन्, ‘मनसुनमा लामो समयसम्म पानी पर्छ। त्यो पनि हल्का पानी हुन्छ।’

यस वर्ष नेपालमा सरदर समयभन्दा ३ दिनअघि जेठ २८ गते मौसम भित्रिएको हो। पश्चिम खाडीबाट भित्रिएको मौसम सामान्यतया हप्ता दिनमा देशभर फैलिसक्नुपर्ने हो। 

तर दुई हप्ता पुग्न लाग्दासमेत देशभर मनसुन सक्रिय हुन सकेको छैन। 

मौसमपूर्वानुमान महाशाखाकाअनुसार बिहीबारसम्म मौसम पूर्वी कोशी प्रदेश हुँदै मधेस, बागमती प्रदेश र लुम्बिन प्रदेशको पूर्वी भागमा र गण्डकी प्रदेशसम्म सक्रिए भएको छ। 

कर्णाली र सदूरपश्चिममा भने अझै मनसुन सक्रिय हुन सकेको छैन। मौसमविद् मानन्धर अबको दुई दिनमा सुदूरपश्चिमसम्मै मौसम सक्रिय हुने र वर्षा हुने बिएल नेपाली सेवासँग बताइन्। 

‘अहिले पश्चिममा जति पनि पानी परिरहेको छ त्यो सबै स्थानीय वायुको प्रभाव हो। अब पश्चिमतर्फ मनसुन गइरहेको छ’, उनले भनिन्, दुई दिनसम्म सुदूरपश्चिमसम्म मनसुन सक्रिय हुन्छ।’

जलवायु परिवर्तनले मौसममा हरेक वर्ष फेरबदल भइरहेको छ। गर्मी बढ्दै गएको छ। वर्षाले पनि नियमित रुप फेर्दै गएको छ। कहिले अतिवृष्टि हुन्छ। कहिले अनावृष्टि हुन्छ।

जसले गर्दा कहिले नसोचेको ठाउँमा बाढी पहिरो हुन्छ। कुनै ठाउँमा पर्याप्त पानी नपरेर समस्या सृजना भइरहेको छ। 

वर्षाको समयमा यस्तो हुनुलाई मौसमविद् स्वभाविक मान्दैनन्। उनीहरू जलवायु परिवर्तनले यस्तो भइरहेको बताउँछन्।

प्रकाशित मिति: : 2024-06-20 20:00:00

प्रतिकृया दिनुहोस्