कृषि सहकारीकाे ९४ करोड बढी रकम हिनामिना, अध्यक्षसहित ४ जना पक्राउ

Break n Links
Break n Links

प्रहरीले ललितपुरको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

बचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका उनीहरूलाई काठमाडौँ अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हाे।

पक्राउ पर्नेमा कृषि सहकारीका अध्यक्ष तेजविक्रम थापा, व्यवस्थापक सजना राजकर्णिकार, सदस्यहरु भिमसेन महर्जन र सञ्जय सापकोटा रहेका छन्।

सहकारीले बचतकर्ताहरुको रकम फिर्ता नगरेको भनि उजुरी परेपछि सहकारी विभागले प्रहरीलाई पत्र पठाएको थियो। प्रहरीले अनुसन्धान गर्दा उनीहरु फरार रहेकामा जेष्ठ ३१ गते काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरिएकाे कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए।

कृषि सहकारीबाट २ हजार ५ सय ३१ बचतकर्ता पीडित भएको देखिएको र २ अर्ब ८० करोड निक्षेप रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए। जसमध्ये ५ सय ६६ जनाले रु ९४ करोड २३ लाख ४२ हजार ठगी गरेको उजुरी प्राप्त भएको भट्टराइले बताए।

पक्राउ परेकामध्ये थापा कृषि टेलिभिजन र गोर्खा टेलिभिजनका अध्यक्षसमेत हुन्। 

प्रकाशित मिति: : 2024-06-16 15:05:00

प्रतिकृया दिनुहोस्