अठार मगरात क्षेत्रको महान पर्व भूमे पर्व राजधानी काठमाडाैँमा सुरु भएकाे छ।
शनिबार टुँडिखेलमा प्रकृतिकाे पूजा गर्दै भूमे पर्व मनाउन सुरु गरिएकाे हाे। नेपाल मगर संघ केन्द्रीय समितिकाे आयाेजित पर्व साेमबारसम्म चल्नेछ।
वर्षायामको सुरुवातसँगै नयाँ क्षेत्रमा बसोबास गरेका मगरलगायत दलित समुदायकाे बालीनालीमा प्राकृतिक प्रकोप नलागोस्, दैवी विपत्ति नहोस् र समुदायमा सुख शान्ति होस् भनेर भूमिको पूजा गर्दै अठार मगरात क्षेत्रमा परापूर्वकालदेखि याे पर्व मनाउँदै आइएकाे छ।
उद्घाटन समाराेहमा अर्थमन्त्री वर्षमान पुन (अनन्त), पूर्वसभामुख ओन्सारी घर्ती मगर, सुरेश आलेमगरलगायत विशिष्ट अतिथिहरुले सहभागिता थियाे।
१८ मगरात क्षेत्रका सबैभन्दा ठूलो भूमे पर्व
परापूर्व कालदेखि १८ मगरात क्षेत्रका रूकुम (पूर्व), उत्तर पूर्वि रोल्पासहित पश्चिम बाग्लुङका केही भेगका मगर बाहुल्य गाउँबस्ती हर्षोल्लासको साथ ५ दिनसम्म भूमे पर्व धुमधामले मनाउने चलन छ।
विभिन्न गाउँ-ठाउँअनुसार यो पर्वलाई बलपूजा, बल्क, नाम्के, झ्यामकुरी र नोगोवाङ्गे भन्ने गरिन्छ।
प्रत्येक साल असार १ गते सुरू भएर हप्ता दिनसम्म मनाइने भूमे यो क्षेत्रको सबैभन्दा ठूलो र महत्वपूर्ण पर्व हो। पर्व सुरू हुनु भन्दा करिब महिना दिन अघिदेखि जेठ महिनाभरि आ-आफ्ना गाउँ ठाउँमा भेला भएर साँझ पूर्वाभ्याससमेत गरिन्छ।
पर्व सुरू हुन अगाडि स्थानीय युवा/युवतीहरू करिब ४ घण्टाको पैदल यात्रा गरेर जलजला लेकमा बुकी टिप्न जाने परम्परा छ।
पहिलो दिन जलजला गएर बास बसेका उनीहरू भोलिपल्ट डोकाभरी फूल टिपेर फर्किँदा बिच बाटोमा बास बस्छन्। तेस्रो दिन नाच्दै गाउदै गाउँ फर्किन्छन्।
बुकी ल्याएपछि भूमिको पूजा गर्छन्। बल पूजाका रूपमा भेडाको बली दिन्छन्।
त्यसपछि सुमधुर स्थानीय परम्परागत बाजाको तालमा ताल मिलाउँदै २२ चाला नाच्दै हप्ता दिनसम्म निरन्तर नाच गानमा रमाउँछन्।
पर्वभरि युवा-युवती, महिला/पुरूष गोलाकार भई दुई पङ्तिमा स्थानीय बाजाको धुनमा लयबद्ध रुपमा धुमधामले नाच्छन्। परिवारजन, साथी-भाइ भेटघाट र मिठो मसिनो खानपिन गर्ने र पाहुनालाई आदरसत्कार गर्दै हर्षोल्लासका साथ मनाउने यो पर्व हेर्दै रहरलाग्दो र जो कोहीलाई नाचौँ-नाचौँ लाग्छ।
विशेषगरी मगर समुदायमा प्रचलित यो पर्वमा स्थानीय महिला, पुरूष तथा बालबालिका आ-आफ्ना मौलिक परम्परागत भेषभूषामा सजिएर नाच्ने गर्छन्।
महिलाहरू गुन्यू चोली, धरो, पछ्यौरी, गाडो, गरगहनामा सजिएका हुन्छन्। भने, पुरूषहरु चोली, छड्के, पटुका, टोपी, आदि पहिरन लगाउँछन्।
मगरहरु प्रकृतिक पूजक भएकोले भूमिलाई पूजा गर्ने चलन छ। भेडा, कुखुरा र सुँगुरको बलि चढाएर बल पूजा मनाइन्छ।
अन्न बाली सप्रियोस, प्राकृतिक विपत्तिबाट जोगिन सकौं, घर परिवारमा निरोगिता छावस, गाउँ समाज र आफन्तमाँझ सामाजिक सद्भाव कायम राख्न यो पर्व विशेष रूपले मनाउँदै आएको छ।
यो पर्व विशेषत मगर बाहुल्य रूकुम (पूर्व)का महत, सिमा, धर्मशाला, काँक्री, लुकुम, क्याङसि काँडा, चुनबाङ, तकसेरा, कोल, नाखा, राङसी, जाङ आदिमा मनाइन्छ।
त्यस्तै रोल्पाको थवाङ, जेलबाङ, गाम, उवा, मिरूल, धाङसी, सेरम तथा पश्चिम बाग्लुङको निशी, भलकोट, बोवाङमा मनाउने गरिन्छ।