नेपाल औषधि लिमिटेडको ५०औं वार्षिक साधारणसभा सम्पन्न (भिडियाेसहित)

नेपाल औषधि लिमिटेडको ५०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभा हल सिंहदबारमा बुधबार साधारणसभा सम्पन्न भएको हो। 

नेपालको पहिलो एलोप्याथी औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको योगदान अविस्मरणीय रहेको महाप्रबन्धक कैलाशकुमार पनेरुले बताए। उनका अनुसार आगामी दिनहरूमा कम्पनीको औषधि उत्पादन क्षमता बढाइनेछ। 

‘कुनैबेला बन्द अवस्थामा पुगेको कम्पनी अहिले जीवन्त लयमा छ’, नेपालमा सरकारको स्वामित्व रहको नेपाल औषधि लिमिटेड गौरवशाली रहेको बताउँदै उनले भने, ‘औषधि उत्पादन श्रमता बढाएर मुनाफामा लैजाने लक्ष्य बोकेका छौं। 

विगतको तुलनामा नेपाल औषधि लिमिटेड सुधारोन्मुख रहेको संस्थाका अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले बताए। पाँच दशक लामो इतिहास बोकेको कम्पनीबारे उनले भने, ‘संस्थाले उत्पादन गरेका औषधिहरू गुणस्तरीय र सुलभ मूल्यमा पाइन्छ।’

पछिल्लो पाँच वर्ष यता नेपाल औषधि लिमिटेडको उत्पादन बढ्दै गएको छ।

२०७५–७६ सालमा ५२ लाख ६२ हजार ६ सय ८० रुपैयाा, २०७६–७७ मा २ करोड ४८ लाख ४४ हजार २ सय ८० रुपैयाँ, २०७७–७८ सालमा ४ करोड ९१ लाख ४ हजार ९ सय १३ रुपैयाँ, २०७८–७९ सालमा ५ करोड १५ लाख ८५ हजार रुपैयाँ बराबरको औषधि उत्पादन गरेको कम्पनीले २०७९–८० सालमा भने ३ करोड ५६ लाख ८६ हजारको उत्पादन गरेको थियो। 

तर २०८०–८१ सालमा भने कम्पनीको उत्पादन बढ्ने अध्यक्ष न्यौपानेकाे विश्वास छ। 

त्योसँगै पछिल्लो पाँच वर्षमा विभिन्न कारणहरूले गर्दा कम्पनीलाई ५० करोड ४४ लाख १३ हजार २ सय ९१ रुपैयाँ नोक्सान व्यर्होनु परेको उनको भनाइ छ। 

त्यसैगरी पाँच दशकदेखि गुणस्तरीय औषधि उत्पादन गर्दैआइरहेको कम्पनीले अब पानीको उत्पादन पनि गर्दैछ। 

प्रकाशित मिति: : 2024-06-12 14:56:00

प्रतिकृया दिनुहोस्