दाङको तुलसीपुर उपमहानगपालिका-११ उरहरीस्थित अमर माध्यमिक विद्यालयमा गर्मीले विद्यार्थी बेहोस भएका छन्।
आज बुधबार मात्र ८ जना विद्यार्थी बेहोस भएको विद्यालयका शिक्षक निर्मल वलीले जानकारी दिए।
उनकाअनुसार यसअघि (हिजो–अस्ति)का दिनमा पनि एक/दुई जना विद्यार्थी बेहोस हुने गरेको र केही समयको आरमपछि होसमा आउने गरेका थिए। तर बुधबार बिहान विभिन्न कक्षा कोठमा बसेकै समयमा ८ जना विद्यार्थी बेहोस भएको शिक्षक वलीले बताए।
अहिले विद्यार्थीको उरहरी स्वास्थ्य चौकीका प्रमुख अहेव चित्रबहादुर वली विद्यालयमै पुगेर उपचार गरिरहेका छन्।
गर्मीले शरीरमा पानीको कमी भएपछि विद्यार्थीलाई समस्या देखिएको अहेव वलीले बताएका छन्।
उरहरी क्षेत्रमा अहिले तातो हावा (लू)चलेको छ। ‘यहाँ (उरहरी)मा हावा तातो हावा चलेको छ। जसले गर्दा विद्यार्थीलाई समस्या भएको छ’, शिक्षक वलीले भने।
तुलसीपुर क्षेत्रमा यही १८ गतेदेखि २२ गतेसम्म गर्मी बिदा गरिएको भए पनि पानी परेपछि २१ गते नै विद्यालय सञ्चालन गरिएको थियो।
तर दुई–तीन दिनदेखि फेरि गर्मी बढेको छ। गर्मी बढेपछि पुन: विद्यालय बन्द गर्नुपर्ने माग उठिरहेको छ।
‘मनसुन भित्रिएपछि विद्यालय सञ्चालन गरेका थियौँ। तर फेरि गर्मी बढेको छ। विद्यालय बन्द गर्नुपर्ने माग पनि आइरहेको छ’, तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखामा कार्यरत बमहादुर पुन मगरले भने।
उनी अधिकांश विद्यालय अहिले टीन (जस्ता)ले छाएको हुँदा पनि विद्यार्थीलाई पढ्न असहज भएको हुन सक्ने बताउँछन्।