स्वास्थ्यमा ८६ अर्ब बजेट: पूर्वाधार निर्माण जाेड, बिमा कार्यक्रमलाई मात्रै ७ अर्ब छुट्याइयाे

file photo
file photo

सरकारले स्वास्थ्य क्षेत्रका लागि रु. ८६ अर्ब २४ करोड विनियोजन गरेकाे छ।

संघीय संसदकाे संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेकाे बजेटमा स्वास्थ्य क्षेत्रमा रु. ८६ अर्ब २४ रकम विनियाेजन गरेकाे हाे।

जसमा देशभरिका हरेक वडामा दश र पन्ध्र शय्याका दरले आधारभूत स्वास्थ्य केन्द्र निर्माण र सञ्चालन गर्ने गरी रु. १५ अर्ब ४१ कराेड विनियाेजन भएकाे छ। अस्पतामा उपचार गराउन असक्ने अवस्थाका विपन्न नागरिकलाई मुटु, क्यान्सर, मृगौला, अल्जाईमर्स, पार्किन्सस, स्पाईनल इञ्जुरी, हेड इञ्जुरी तथा सिकलसेल एनिमिया रोगमा उपचार सहुलियतको लागि प्रतिव्यक्ति रु. १ लाख बराबरको रकम प्रदान गर्ने गरी रु. ३ अर्ब विनियाेजन गरिएकाे छ।

त्यस्तै आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि तथा खोप र प्रजनन स्वास्थ्यसम्बन्धी सामाग्री निःशुल्क उपलब्ध गराउन रु. १ अर्ब ४३ करोड  विनियोजन गरिएकाे छ। भने, याे आर्थिक वर्षदेखि ‘आमा सुरक्षा र मातृ तथा नवजात शिशु स्याहार कार्यक्रम’ पनि सरकारले सञ्चालन गर्ने भएकाे छ। त्यसका लागि नेपाल सरकारले रु. ३ अर्ब ६ करोड बजेट छुट्याइएकाे छ।

त्यस्तै संघीय अस्पतालमा जेरियाट्रिक वार्ड सञ्चालन गरी ज्येष्ठ नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गरिने अर्थमन्त्री पुनले उल्लेख गरे। भने, क्यान्सर, मेरुदण्ड र पक्षघात रोगको उपचार, मृगौला प्रत्यारोपण र डायलाईसिस सेवा लिइरहेका बिरामीलाई औषधि उपचार खर्च बापत दिँदै आएको प्रतिव्यक्ति प्रतिमहिना रु. ५ हजार रकम सम्बन्धित व्यक्तिको खातामा नै जम्मा हुने व्यवस्था मिलाईने भएकाे छ। यसका लागि रु. २ अर्ब विनियोजन गरिएकाे छ।

सरकारी अस्पतालहरुमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको जन्मजात विकलाङ्ग अटिजम गरिने बजेटमा उल्लेख छ। ‘बौद्धिक तथा शारीरिक अपाङ्गता भएका बालबालिकाको विकास अवस्था र बाल मानसिक समस्याको पहिचान, निदान, उपचार तथा पुनःस्थापनामा संलग्न हुने जनशक्तिको क्षमता अभिवृद्धि गरिनेछ’, अर्थमन्त्री पुनले भने।

त्यसैगरी सरकारले वीर अस्पतालमा जलनको सघन उपचारका लागि आधुनिक कक्ष विस्तार गर्ने भएकाे छ। भने, कीर्तिपुरको वर्न अस्पतालको पूर्वाधार विकास गर्ने भएकाे छ। र, भेरी अस्पताललाई सिकलसेल एनिमिया उपचार केन्द्रको रूपमा विकास गर्ने, नयाँ निर्माण हुने ट्रमा सेन्टरलाई नजिकका स्वास्थ्य संस्थासँगको समन्वयमा सञ्चालन गर्ने व्यवस्था भएकाे छ।

आत्महत्या र मानसिक स्वास्थ्य समस्या निराकरणसम्बन्धी सेवा विस्तार गर्न मानसिक अस्पताल पाटनको क्षमता अभिवृद्धि गर्ने र साेही अस्पतालमा कलेजो प्रत्यारोपण सेवा विस्तार गर्ने सरकारकाे घाेषणा रहेकाे छ।

कर्णाली, पोखरा, पाटन, राप्ती र वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारायणी, भरतपुर, भेरी, डडेल्धुरा  र गजेन्द्रनारायण सिंह अस्पतालको क्षमता विकास गरी ५०० शय्यामा संञ्चलन गर्न बजेट विनियाेजन भएकाे छ।

सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र, मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट केन्द्र, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, परोपकार प्रसूती तथा स्त्रीरोग अस्पताल, वी.पी. कोइराला क्यान्सर अस्पताल, जि.पि.कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको पूर्वाधार विकास तथा उपकरणका लागि आवश्यक बजेट विनियाेजन भएकाे अर्थमन्त्री पुनले उल्लेख गरे।

तीन सय शय्या वा सोभन्दा बढी क्षमताका संघीय अस्पतालमा एमबिबिएस र सय शय्याबाट सरकारी अस्पतालमा नर्सिङ्गसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै लैजाने र आगामी आर्थिक वर्षदिनदेखि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएकाे छ।

काठमाडौँको बूढानीलकण्ठमा रहेको राष्ट्रिय आयुर्वेद योग तथा पञ्चकर्म केन्द्र भवनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने, सिंहदरबार वैद्यखानाको पुर्नसंरचना गरी क्षमता विस्तार गर्ने, आधारभूत आयुर्वेद औषधि उत्पादनलाई प्रवर्द्धन गर्ने, सरकारी, सामुदायिक र निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा, औषधि उत्पादन र वितरणको गुणस्तर र मूल्यको नियमन सुदृढ बनाउने गरी वैकल्पिक उपचार पद्धतिका लागि रु. २४ करोड विनियोजन भएकाे छ।

सरकारले काठमाडौँ विश्वविद्यालयमा प्रचण्ड पत्नी सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथि एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्थाको लागि पनि बजेट विनियोजन गरेकाे छ।

त्यस्तै स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी स्वास्थ्य सेवामा आम नागरिकको पहुँच सुनिश्चित गर्ने सरकारकाे घाेषणा रहेकाे छ। सरकारले बीमा कार्यक्रमका लागि मात्रै रु. ७ अर्ब ५० करोड विनियोजन गरेकाे छ।

प्रकाशित मिति: : 2024-05-28 20:22:00

प्रतिकृया दिनुहोस्