सर्वोच्च अदालतले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै यो विषय संवैधानिक व्याख्याको विषय भएकाले पूर्ण सुनुवाइबाट टुंगोलाग्ने भन्दै अन्तरिम आदेश दिन आवश्यक नरहेको बताएको छ।
निवर्तमान मुख्यमन्त्री कार्कीले मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्ति बदर गर्न र आफूलाई मुख्यमन्त्रीका रूपमा कामकारबाही गर्न दिन अन्तरिम आदेश माग गर्दै बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए।
कार्कीले दायर गरेको रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा सङ्कल्प प्रस्तावका समर्थकहरूलाई विपक्षी बनाइएको रिटमा नेपालको संविधानको धारा १३३ (२) (३) बमोजिम उत्प्रेषण, परमादेशलगायत उपयुक्त आदेश जारी गर्न माग गरिएको थियो।