नेपालस्थित अमेरिकी दूतावासले अमेरिकाका लागि भिसा आवेदन दिएका सबैलाई आफ्ना सामाजिक सञ्जालहरू खुल्ला राख्न भनेको छ।
अमेरिकी सरकारले लिएको पछिल्लो रणनीतिअनुसार दूतावासले यस्तो आग्रह गरेको हो। ‘प्रत्येक भिसा निर्णय राष्ट्रिय सुरक्षासँग सम्बन्धित निर्णय हो’ भन्दै दूतावासले ‘एफ’, ‘एम’, ‘जे’ सबै श्रेणीका भिसा आवेदन दिनेहरूले आफ्ना सामाजिक सञ्जालहरूका खाता ‘पब्लिक’ गर्न आह्वान गरेको हो। साथै सामाजिक सञ्जालमा आफ्नै वास्तविक नाम राख्न पनि उसले भनेको छ।
‘अप्रवासी भिसाका लागि आवेदन दिने सबै व्यक्तिहरूलाई आफ्ना सबै व्यक्तिगत सामाजिक सञ्जाल खाताहरूको गोपनीयता सेटिङलाई ‘सार्वजनिक’ मा परिवर्तन अनुरोध गरिन्छ’ दूतावासले भनेको छ ‘यसले पहिचान र अमेरिका प्रवेशयोग्यता पुष्टि गर्न आवश्यक जाँच प्रक्रियालाई सहज बनाउनेछ।’
यसअघि ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि नयाँ अपोइन्टमेन्टहरू नलिन आफ्ना दूतावासहरूलाई भनेको थियो।
अमेरिका र उसको नीतिलाई समर्थन नगर्ने देशका नागरिकलाई रोक्नका लागि ट्रम्प प्रशासनले त्यस्तो निर्णय गरेको थियो। तर लगभग महिनादिनपछि फेरि नयाँ अपोइन्टमेन्टहरू लिन सुरु गरिएको हो।
तर अमेरिकाको विदेश मन्त्रालयले भने नयाँ तथा पुराना सबै आवेदकहरूका लागि केही शर्तहरू राखेको छ। त्यसमा सबैभन्दा धेरै आवेदकका सामाजिक सञ्जालमा कडाइ गरिने भनिएको छ।
त्यसका लागि अब आवेदकहरूले आफ्ना सबै सामाजिक सञ्जालका अकाउन्टहरूका सबै विवरणहरू खुला (पब्लिक) गर्नुपर्नेछ।
अमेरिकी सरकारले अब भिसा माग्नेहरूको सबै सामाजिक सञ्जालका खाताहरू खोतल्नेछ। कतिपयलाई भिसा दिने वा नदिने भन्ने निर्णय सामाजिक सञ्जालको प्रारम्भिक अध्ययनबाटै तय पनि हुनसक्छ। त्यसमा पोस्ट गरिएका सामग्री तथा सन्देशहरूका आधारमा पनि भिसाको निर्णय हुनसक्छ।
भीसा पाइसकेका विद्यार्थीहरूको पनि सामाजिक सञ्जालमा निगरानी बढाइएको अमेरिकी सरकारले जनाएको छ।
अमेरिकाको अध्ययन भिसा लिनेहरूमा चीन, भारत, दक्षिण कोरिया, क्यानडा, ताइवान, भियतनाम, नाइजेरिया, बङ्गलादेश र ब्राजिलपछि नेपाल पनि शीर्ष स्थानमा पर्छ। गत वर्षमात्रै १० हजारभन्दा धेरै नेपाली विद्यार्थी अमेरिकाका लागि एनओसी लिएका थिए।