पेन्टगनको एउटा गोप्य रिपोर्ट सञ्चारमाध्यमहरूले सार्वजनिक गरिदिएपछि अमेरिकाको इरान अपरेशन विवादमा तानिएको छ। गत जुन २२ मा अमेरिकाले इरानका केही मुख्य परमाणु केन्द्रमा आक्रमण गरेको थियो। त्यसलाई पेन्टागनले ‘अपरेशन मिडनाइट ह्याम्मर’ नाम दिएको थियो।
त्यो आक्रमणबाट इरानको फोर्दो पहाडमुनि रहेको आणविक प्रशोधन केन्द्र तथा अरु दुई परमाणु केन्द्रहरू पूर्णरुपमा ध्वस्त भएको अमेरिकाले जनाएको थियो। ट्रम्पले अहिले पनि त्यही दाबी गरिरहेका छन्।
तर अमेरिकी सञ्चारमाध्यम सिएनएन र न्यूयोर्क टाइम्सलगायतले पेन्टागनको गोप्य प्रतिवेदनका आधारमा ती परमाणु केन्द्रमा अमेरिकी आक्रमणले कुनै क्षति नगरेको भन्दै समाचार प्रकाशित गरेका थिए। ट्रम्पले त्यसलाई झुट भनेका छन् र ती सञ्चारमाध्यमहरूले ‘फेक न्यूज’ दिएको भनेर टिप्पणी गरे। अनि अहिले नेटो सम्मेलनका लागि हेगमा रहेका ट्रम्पले आफ्नो भाषण अनि पत्रकारहरूसँग पनि इरानका सबै परमाणु परियोजनाहरू ध्वस्त बनाइसकेको दाबी दोहोर्याइरहेका छन्।
यसबीचमा अमेरिकाको मुख्य गुप्तचरी निकाय सिआईएका प्रमुखले भने अमेरिकी आक्रमणबाट इरानका परमाणु केन्द्रहरूमा निकै ‘गम्भिर क्षति’ भएको बताएका छन्। पत्रकारहरूसँग सिआईएका निर्देशक जोन र्याक्टलिफले इरानका मुख्य परमाणु केन्द्रहरू क्षतिग्रस्त भएको बताए। तर उनले ट्रम्पले भनेजस्तै पूर्णरुपमा ध्वस्त भएको भने बताएका छैनन्।
पेन्टागनमा रहेको उसको खुफिया एजेन्सीले भने आक्रमणको प्रारम्भिक विश्लेषण गर्दै इरानी परमाणु परियोजनाका मूल तत्वहरू जस्ताको त्यस्तै रहेको प्रतिवेदन तयार गरेको थियो। त्यही प्रतिवेदन सञ्चारमाध्यमहरूमा चुहिएपछि विवाद चुलिएको हो।
केही सञ्चारमाध्यमहरूले भने अमेरिकाले आक्रमण गर्नुभन्दा अघि नै इरानले ती परमाणु केन्द्रबाट महत्वपूर्ण सामग्री सारेर खाली गरिसकेको बताएका छन्। इरानले अमेरिकाले आक्रमण गरेका ती केन्द्रहरूबाट ४ सय किलोभन्दा धेरै युरेनियम सुरक्षित गरेको बताइएको छ। त्यसबाट कैयौं परमाणु बमहरू बनाउन सकिने विज्ञहरूको दाबी छ।
ट्रम्पले भने अमेरिकाको आक्रमणबाट इरानका परमाणु परियोजनाहरू कैयौ दशक पछि धकेलेको भन्दै अब इरानलाई परमाणु हतियारको महत्वकांक्षा छोड्न पनि भनेका छन्। आगामी सात इरानसँग वार्ता गर्ने र केही सम्झौताहरू पनि हुने ट्रम्पको भनाइ छ।
परमाणु कार्यक्रम अब नष्ट भइसकेको भन्दै ट्रम्पले इरानलाई तेल बेचेर देशलाई धनी बनाउन पनि सुझाव दिएका छन्। उनले इजरायलसँग ‘बहादुरी पूर्वक’ लडेको भन्दै इरानको प्रशंसा पनि गरेका थिए।
इरानले भने ‘इजरायल र अमेरिकासँग बदला सफल भएको’ भन्दै उत्सव मनाइरहेको छ। आफ्ना आणविक परियोजनाहरूका बारेमा इरानले पनि यकीन तथ्यहरू सार्वजनिक गरिसकेको छैन।
१२ दिनसम्म चलेको यो इजरायल र इरानबीचको युद्धमा अमेरिका पनि सामेल भएको थियो। अमेरिकाले आफ्ना परमाणु केन्द्रहरूमा आक्रमण गरेपछि इरानले पनि मध्यपूर्वका कतार तथा इराकमा रहेका अमेरिकी सैन्य वेस क्याम्पहरूमा आक्रमण गरेको थियो। इरानको त्यो आक्रमणलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल र इरानबीच युद्धबिराम भएको घोषणा गरिदिएका थिए।
बिबिसीकाे सहयाेगमा