अब रुस-युक्रेन युद्ध रोक्ने रणनीतिमा छन् ट्रम्प

Break n Links
Break n Links

इजरायल र इरानबीच १२ सम्म भएको युद्ध रोकिदिएपछि अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनको युद्ध रोक्न सक्छन् कि सक्दैनन् भन्ने चर्चा चल्न थालेको छ। 

नेदरल्याड्समा भइरहेको उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)को शिखर बैठकमा सहभागी हुन पुगेका ट्रम्पलाई पत्रकारहरूले संसारभरि चलिरहेका युद्धका बारेमा प्रश्न गरेका थिए। धेरैजसो पत्रकाहरूले रुस र युक्रेन युद्धबारे चासो राखे। 

त्यसमा ट्रम्पले पनि सजिलो र सम्भावित उत्तरहरू दिएका छन्। उनका अनुसार अब रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि युद्ध अन्त्य गर्न चाहन्छन्। 

‘पुटिन यो युद्ध अन्त्य गर्न चाहिरहेका छन्। तर हेरौं के हुन्छ’ ट्रम्पले भने ‘वर्षौंदेखि त्यहाँ अकालमा मानिसहरू मारिएका छन्। युद्धका कारण यस्तो भइरहेको छ जो पहिला कहिल्यै भएको छैन।’

ट्रम्पले आम मानिसले सोचेजस्तो यो युद्ध अन्त्य गर्न त्यति सजिलो नभएको पनि बताए। 

‘तपाईंहरू जसरी सोच्नुभएको छ त्यो त्यति सजिलो छैन। हामीले पहिला पनि प्रयास गरेका हौं। रुससँग भन्दा युक्रेनसँग केही समस्या छ। तर हेरौं त्यो पनि समाधान हुनेछ’ ट्रम्पले भने ‘जेलेन्स्कीसँग के भयो भन्नेबारे तपाईंहरू सबै जानकार नै हुनुहुन्छ।’ 

उनले केही समयअघि भारत-पाकिस्तानको युद्ध र अहिले इजरायल-इरान युद्ध रोकेको पनि दोहोर्‍याए। 

उनले इरान अब परमाणु परियोजनामा भन्दा आफ्नो देशलाई ‘महान’ बनाउनका लागि लाग्ने पनि दाबी गरे। 

‘परमाणु कार्यक्रमहरू अब नष्ट भइसकेका छन्। इरान आफ्नै संसारमा फर्किसकेको छ। उसले अब आफ्नो देशलाई महान बनाउनुपर्छ। त्यसका लागि पैसा चाहिन्छ’ ट्रम्पले भने ‘त्यो हो भने उसले परमाणु कार्यक्रम होइन अब आफूसँग भएको तेल बेच्नुपर्छ। र त्यो तेल चीनले किन्नसक्छ। यसरी इरान धनी हुनेछ।’ 

ट्रम्पले आगामी साता इरानसँग वार्ता हुने र कैयौं सम्झौताहरू हुनसक्ने बताए। 

ट्रम्प आफूलाई शान्तिवादी नेता भन्दै आएका छन्। अघिल्लो कार्यकालमा उनले अमेरिकालाई कुनै पनि युद्धमा सामेल गराएनन्। यसकारण उनको प्रशंसा भएको थियो। यसपालि पनि चुनावी अभियानका क्रममा आफू राष्ट्रपति भएपछि संसारमा चल्दै आएका युद्धहरू रोक्ने वाचा गरेका थिए। 

दोस्रोपटक राष्ट्रपतिको कार्यकाल सम्हालेलगत्तै उनले युद्धहरू रोक्ने प्रयास पनि गरेका थिए। खासगरी रुस-युक्रेन र इजरायल-हमासबीचको लडाईं रोक्न उनले थुप्रै प्रयासहरू गरेका थिए। तर वर्षौंदेखि चल्दै आएका यी युद्ध अझै रोकिएका छैनन्। 

पछिल्लोपटक इजरायलले इरानमा आक्रमण गरेपछि भने ट्रम्पले अलकति रणनीति बदले। इरानमाथि आक्रमण गरे अनि उसका परमाणु परियोजनाहरू ध्वस्त पारेको दाबी गरे। यद्यपि यसबारे केही विवादहरू छन्। तर अमेरिकाको त्यो आक्रमण युद्धबिरामको बाटोतिर अघि बढ्यो। 
 

प्रकाशित मिति: : 2025-06-26 10:00:00

प्रतिकृया दिनुहोस्