विस्फोटमा परी २० कम्बोडियाली सैनिकको मृत्यु

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले त्यहाँको पश्चिम क्षेत्रस्थित एक सैन्य शिविरमा भएको गोलाबारुद विस्फोटमा परी २० कम्बोडियाली सैनिकको मृत्यु भएको शनिबार बताएका छन्। प्रधानमन्त्री हुन मानेटले फेसबुकमार्फत जारी गरेको शोक सन्देशमा विस्फोटमा परी सैनिकको मृत्यु भएको उल्लेख छ।

'गोलाबारुद विस्फोटको घटनाको खबरले म स्तब्ध भएको छु,' हुन मानेटले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै भने।

प्रधानमन्त्री हुन मानेटले जारी गरेको वक्तव्यमा आफूले रक्षामन्त्री र रोयल कम्बोडियाली सशस्त्र बलका कमान्डर इन चिफलाई मृतक सैनिकको तत्काल अन्त्येष्टिको व्यवस्था गर्न निर्देशन दिएको बताएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरमा भत्किएको एकतले भवन धुवाँले ढाकेको देखिन्छ। नजिकैको गाउँका एक बासिन्दाले पनि झ्यालहरू फुटेको तस्बिर अनलाइनमा सेयर गरेका छन्। अरू तस्बिरमा अस्पतालमा उपचार गराइरहेका सर्वसाधारणको अवस्था पनि देखिएको छ।

दशकौँ लामो गृहयुद्धपछि गोलाबारुदले भरिएको कम्बोडियामा युद्ध सामग्री दुर्घटना असामान्य होइन। यहाँ सुरक्षा मापदण्डको ढिलासुस्तीका कारण दुर्घटना हुने गरेको छ। कम्बोडियाको सेनाले उक्त घटना ‘गोदाममा भएको गोलाबारुद विस्फोट’बाट भएको जनाएको छ।

घटनापछि सार्वजनिक गरिएको तस्बिरमा हतियारले भरिएको एउटा ट्रक विस्फोटका कारण पूर्ण रूपमा क्षति भएको देखाइएको छ। विस्फोटका कारण कार्यालय भवन र नजिकैको ब्यारेक ध्वस्त भएको छ। आसपासका २५ घरमा पनि आंशिक क्षति भएको छ।

प्रकाशित मिति: : 2024-04-28 06:03:00

प्रतिकृया दिनुहोस्