सुन तस्करी: इन्द्रचाेककाे आडैमा अखडा, बाबुकाे इसारामा २१ वर्षीय छाेरा पनि सक्रिय

शनि शाक्य

काठमाडौं

इन्द्रचाेकबाट पूर्वतिर जाने गल्ली (दुर्छेननी)मा रहेकाे एउटा घरमा बिहीबार दिउँसाे साढे १ बजे काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयकाे प्रहरी टाेली पुग्दा गणेशदत्त बडु सुन बिक्री गर्दै थिए। दार्चुलाकाे टाटे नगरपालिका-३ घर भई काठमाडाैँमा बस्ने ४३ वर्षीय गणेशदत्तले उक्त गल्लीमा काेठा भाडामा लिएर सुन बेच्ने ‘अखडा’ बनाएका छन्।

त्यही ‘अखडा’मा गणेशले भारतीय नागरिकलाई सुन बेच्दै गर्दा टुप्लुक्क पुगेकाे थियाे, प्रहरी। प्रहरी गाेप्य सूचनाका आधारमा विशेष याेजनासहित त्यहाँ पुगेकाे थियाे।

प्रहरीले गणेशदत्त र उनका साडु-भाइ दिनेश खरेल, भारतीय नागरिक अनमाेल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश शतिस बाल्टेलाई बेच्दै गरेकाे १२ सय ४ ग्राम सुन समात्याे। र, उनीहरुकाे साथबाट १ कराेड २६ लाख नेपाली रुपैयाँ पनि बरामद गर्‍याे।

उनीहरुलाई पक्राउ गर्नसाथ प्रहरी उक्त काेठाबाट करिब १० मिनेटमा पुग्न सकिने अर्काे काेठामा पनि पुगेकाे थियाे, जहाँ गणेशदत्तका २१ वर्षीय छाेरा आयुष बडु र गणेशका अर्का साडु-भाइ भरतराज खरेल ७६६.२५ ग्राम सुन र १७ लाख रकम लिएर बसेका थिए।

उनीहरुलाई नियन्त्रणमा लिएरसँगै कार्यालय ल्यायाे।

प्रहरीले दुई टाेलीबाट कूल १७६८.२५ ग्राम सुन र १ कराेड ४३ लाख ६० हजार नेपाली रुपैयाँ बरामद गरेकाे छ।

पक्राउ परेका उनीहरुलाई काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेकाे छ।

प्रहरी अनुसन्धानबाट खुलेअनुसार याे एउटा सुन तस्करी-बिक्री गर्ने पारिवारिक गिराेह हाे, जसमा गणेशदत्तले भर्खर पढ्ने उमेरका आफ्ना छाेरा र साडु भाइहरुलाई समेत परिचालन गरेका छन्। गणेशदत्तका दुई साडु-भाइ झापाकाे विर्तामाेड नगरपालिका-३ का हुन्।

गणेशदत्त ८८ केजी सुन प्रकणमा पक्राउ परेर छुटेका व्यक्ति हुन्। ८८ किलाे सुन प्रकरण त्याे बेलाकाे चर्चित प्रकरण हाे।

केरुङ नाका हुँदै काठमाडाैँ ल्याइएकाे ८८ केजी सुन २०७४ भदाै १९ गते क्षेत्रपाटीबाट प्रहरीले बरामद गरेकाे थियाे। चिनियाँ व्यापारी र नेपाली काँग्रेसका नेताहरुसमेत मुछिएकाे उक्त प्रकरणमा गणेशदत्त पनि जाेडिएका थिए। न्युराेडमा कार्यविनायक सुनचाँदी गहना पसल सञ्चालन गर्ने उनलाई अन्य चार व्यापारीसहित प्रहरीले पक्राउ गरेकाे थियाे।

यद्यपि, गणेशदत्तले त्यस प्रकरणमा उन्मुक्ति पाइसकेका थिए।

अहिले पनि तस्करीकाे शैली उस्तै-उस्तै खालकाे रहेकाे पाइएकाे छ। अहिलेकाे परिवेश हेर्दा गणेशदत्तले सडकमार्ग हुँदै काठमाडाैँमा सुन ल्याउने र यहाँबाट भारतीय व्यापारीलाई सुन बेच्ने गरेकाे देखिन्छ।

हाल सात जना पक्राउ परेकाे याे प्रकरणमा पनि ठुलै सांगठित गिराेहकाे संलग्नता रहेकाे हुन सक्ने अनुमान प्रहरीकाे छ।

- २१ वर्षीय आयुष बडु हुनु पर्नेमा यसअघि भुलवश १८ वर्षीय भएकाेमा सच्चाइएकाे छ। सम्पादक 

याे पनि... 
प्रकाशित मिति: : 2024-04-26 21:40:00

प्रतिकृया दिनुहोस्