ललितपुर महानगरले २९ वटै वडामा पाठेघर र स्तन क्यान्सर परीक्षण गर्दै

ललितपुर महानगरले महिलामा देखापर्ने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने तथा फिस्टुला सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर बुधबारबाट सुरु गरेको छ।

एक महिनाभित्र महानगरको २९ वटै वडामा आयोजना गर्ने उक्त शिविरको सुरुवात  वडा नं १४ स्थित तिखेदेवलबाट गरिएको हो।

शिविरमा परीक्षण गर्दा पोजेटिभ देखिएकालाई महानगरले उपचारकाे समेत व्यवस्था मिलाउने भएकाे छ।

पाठेघरको मुखको क्यान्सरको परीक्षण एच.पी.भि.डि.एन.ए विधिद्वारा गरिने महानगरका प्रजनन स्वास्थ्य फोकल पर्सन दाताराम अधिकारीले बताए।

शिविर शुभारम्भ कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक एवम महानगर प्रवक्ता राजु महर्जनले महानगरले महिला स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए।

‘पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरबाट महिला दिदीबहिनी प्रभावित भएको तथ्यांक छ, त्यसको न्यूनीकरणका लागि हामीले महानगरका सबै वडामा यो शिविर राखेका हौं। महानगरले गत आर्थिक वर्षमा पनि महानगरका आठ वटा वडामा एच.पी.भि.डि.एन.ए विधिद्धारा १ हजार  ३ सय महिलामा परीक्षण गरेको थियो’ , नं.९का वडा अध्यक्ष समेत रहेका महर्जनले भने,‘ उक्त परीक्षणमा झण्डै १४ प्रतिशतमा पोजेटिभ देखियो। उहाँहरूको उपचार महानगरले गराइरहेकाे छ।’ 

महर्जनले ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप, घर–घरमा पुगेर ज्येष्ठ नागरिक र अशक्तको स्वास्थ्य परीक्षणको काम गरेको राजुले बताए। उनले भने,‘स्वास्थ्य क्षेत्रलाई महानगरले प्राथमिकतामा राखेको छ।’

स्वास्थ्य शिविरमा ३० देखि ६० वर्ष उमेर समूहभित्रका महिलाको स्वास्थ्य परीक्षण गरिने ललितपुर महानगरले जानकारी दिएको छ।

ललितपुर महानगरले स्वास्थ्य बीमा कार्यक्रम लागू गरी सेवा समेत सुरु गरिसकेको जानकारी उनले बताए।‘यो कार्यक्रमबाट नगरवासी उत्साहित हुनुभएको छ’, उनले भने।

ललितपुर महानगर वडा नम्बर १४ का वडा अध्यक्ष अमृतजङ्ग महतले महानगरले भौतिक विकासलाई मात्रै प्राथमिकता नदिएर सामाजिक विकासलाई पनि उत्तिकै महत्व दिएको बताए।

उनले भने, ‘समाजलाई स्वस्थ बनाउन महानगरले चालेको यो एक महत्वपूर्ण कदम हो, त्यति मात्रै होइन। महानगरले महिलाको स्वास्थ्यलाई धेरै प्राथमिकता दिएको छ भन्ने प्रमाण पनि हो।'

नेपाल क्यान्सर केयर फाउन्डेसनका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा.सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण गर्नका लागि संसारभरिमै हालसम्म उपलब्ध विधिमध्ये एचपीभिडिइनए प्रभावकारी विधि हो।

जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले प्रत्येक १० जनामध्ये ७ जनालाई नसर्ने रोग लागेको तथ्यांक बताए।

महिलामा अन्य क्यान्सरको तुलनामा स्तन र पाठेघरको क्यान्सर धेरै देखिएको बताउँदै उनले भने, ‘समयमै थाहा पाउन सकिए स्तन र पाठेघरको क्यान्सर निको पार्न सकिन्छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक कुमार लालले सरकारले यस वर्षको अन्त्यसम्ममा ४५ हजार भन्दा बढी महिलाको एचपिभिडिएनएबाट स्क्रिनिङ गर्ने लक्ष्य लिएको बताए।

नेपाल सरकारले आर्थिक वर्ष २०८०–२०८१ मा कोसी, मधेश र बागमती र लुम्बिनीका ८ जिल्लाका १४ स्थानीय तहबाट एचपीभीडिएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ सेवा पाइटल प्रोजेक्टका रुपमा गुरु गरी सकेको छ।

सन् २०३०सम्म ३० वर्षमाथिका महिलामध्ये नब्बे प्रतिशतको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्ने दिगो विकास लक्ष्य रहेको छ।

प्रकाशित मिति: : 2024-04-24 17:25:00

प्रतिकृया दिनुहोस्