अमेरिकामा मन्दिरलाई राजु पराजुलीकाे साढे एक कराेड दान

उनले गरेको दानबाट मन्दिरमा स्थापित शिवलिङ्ग परिसरको पुनर्निर्माण हुनेछ।

अमेरिकामा हिन्दु मन्दिर पुर्ननिर्माणका लागि एक नेपालीले एक लाख डलरभन्दा बढी रकम दान गरेका छन्।

नेपालका लागि अमेरिकाको मेरिल्यान्ड राज्यका पर्यटन प्रवर्द्धक राजु पराजुलीले हिन्दु–बुद्ध मन्दिर पुर्ननिर्माणका लागि एक लाख एघार हजार एक सय एघार अमेरिकी डलर दान गरेका हुन्। जसकाे हालकाे नेपाली मूल्य एक कराेड ४७ लाख ७७ हजार ७ सय ६३ हुन आउँछ।

मेरिल्यान्ड राज्यको बाल्टिमोरमा रहेको हिन्दु–बुद्ध मन्दिर पुर्ननिर्माणका लागि प्रख्यात वाचक पण्डित दिनबन्धु पोखरेलले मार्च ३० देखि अप्रिल ६ सम्म लगाएको महायज्ञमा पराजुलीले सो दान गरेका हुन्। महायज्ञबाट २० लाख अमेरिकी डलर दान संकलन गरिएको महायज्ञ व्यवस्थापन समितिले जनाएको छ।

यो मन्दिर निर्माणमा पनि पराजुलीले यसअघि ६ हजार ६ सय अमेरिकी डलर दान गरेका थिए। महायज्ञमा पराजुलीले आफ्ना पिता तेजबहादुर पराजुली, आमा केशरकुमारी पराजुली एवम् पत्नी अनु पराजुली (कमला) र छोराहरु सुरज र सुदीप पराजुलीको उपस्थितिमा उक्त धनराशीको दान घोषणा गरेका हुन्।

उनले गरेको दानबाट मन्दिरमा स्थापित शिवलिंग परिसरको पुनर्निर्माण हुनेछ। परिसर निर्माणमा लागेको खर्च र पहिले दिइसकेको दानमा बाँकी रकम जोडेर कबोल गरेको दान पुरा गर्ने पराजुलीले बताएका छन्।

मन्दिरमा नेपालीहरुको आस्था जोडिएकाले आफूले सहयोग गरेको पराजुलीले बताए। ‘मन्दिर यहाँको नेपाली समाजको आस्थाको केन्द्रका रुपमा रहँदै आएको छ। आफ्नो आस्था र नेपाली समाजलाई जोड्ने संस्था भएकाले मन्दिरलाई मैले दान गरेको हुँ’, पराजुलीले भने।

महायज्ञमा दान घोषणा कार्यक्रममा पराजुलीकी पत्नी अनु पराजुलीले विदेशी भूमिमा आफ्नो धर्मको रक्षा गर्नका लागि पारिवारिक सल्लाहमा दान गरिएको बताइन्।

गैरआवसिय नेपाली संघ (एनआरएन) अमेरिकाको मेरिल्यान्ड च्याप्टरका निवर्तमान अध्यक्ष पराजुली यसअघि डेनभर राज्यका लागि नेपालका पर्यटन दूतसमेत थिए। उनले मेरिल्यान्डमा रेष्टुरेन्ट, लिक्वेर सप र ग्यास स्टेसनलगायत आधा दर्जन व्यवसाय संचालन गर्दै आएका छन्। विगत २५ वर्षदेखि पर्यटन र हस्पिटालिटी व्यवसायमा आवद्ध पराजुलीले यसअघि नेपाल, भारत, दुबई, अस्ट्रेलिया र ग्रिसका पाँचतारे होटलहरुमा सेफका रुपमा पनि काम गरेका थिए।

बाल्टिमोरमा रहेका नेपालीहरुले दुई सय ४० रोपनी जग्गा किनेर हिन्दु–बुद्ध मन्दिर बनाएका हुन्।

मन्दिरका लागि सन् २०१८ मा पनि महायज्ञबाट आर्थिक संकलन गरिएको थियो। त्यसबेला १५ लाख अमेरिकी डलर संकलन गरिएको थियो। सो रकमबाट मन्दिरका कानूनी, प्राविधिक र भौतिक निर्माणका काम सम्पन्न गरिएको मन्दिरका संस्थापक मध्येका एक क्रिस घिमिरेले बताए।

महापुराणको पहिलो दिन आयोजना गरिएको कलश यात्रामा चार हजारभन्दा बढी नेपाली उपस्थित थिए।

प्रकाशित मिति: : 2024-04-12 09:38:00

प्रतिकृया दिनुहोस्