वैशाख १ गतेदेखि ठमेल २४ सैँ घण्टा खुल्ने

राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ। 

नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सैँ घण्टा) व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्ग क्षेत्र २४ सैँ घण्टा खुलाउन आवश्यक सम्पूर्ण तयारी भएको जानकारी दिए। उनका अनुसार नयाँ वर्षको उपलक्ष्यमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैँ घण्टा व्यवसाय सञ्चालनको घोषणा गर्नेछन्।

सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय (काठमाडौँ)ले लिनेछ। काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले ठमेल र दरबारमार्गको रात्रिकालीन व्यवसाय वैशाख १ गतेदेखि लागू हुने गरी सुरक्षा तयारी गरिएको बताए।  पूर्णकालीन व्यवसाय सञ्चालनका लागि आचारसंहिता एवं सुरक्षा व्यवस्थापन मापदण्ड बनाइएको जानकारी दिए। चैत ३० गते जिल्ला सुरक्षा समितिको बैठकले उक्त मापदण्ड पारित गरेपछि लागू हुनेछ।

ठमेलमा अहिले बिहान ४ बजेसम्म क्लब खुल्छन्। रात्रिकालीन व्यवसायअन्तर्गत क्लब, डान्स, दोहोरी, डिस्कोलगायत मनोरञ्जन व्यवसाय, किराना पसल, पर्यटनसँग सरोकार भएका सबै बजार खुल्नेछन्।

परिषद्का अध्यक्ष शर्माले सबै सरोकारवालासँग छलफल र समन्वय गरी भगवानबहाल क्षेत्रबाहेक ठमेलको सबै क्षेत्रलाई २४ सैँ घण्टा रात्रिकालीन व्यवसाय खुला गरिने बताए। ठमेलको सातघुम्ती, चाक्सीबारी, च्याठाः सोह्रखुट्टे क्षेत्र खुला गरिनेछ। 

आचारसंहिताअनुरुप मापदण्ड नपुगेका व्यवसायलाई वैशाख २ गतेदेखि बन्द गरिने जनाइएको छ। मापदण्ड पूरा गर्न समय सीमा दिइने र त्यो पूरा गरेको खण्डमा खोल्न दिइने यदि पालना नभए कानुनी दायरामा ल्याइने परिषद्ले जनाएको छ।

प्रकाशित मिति: : 2024-04-10 22:00:00

प्रतिकृया दिनुहोस्