लायन्सका गतिविधि सबैले स्मरण गर्न योग्यः अध्यक्ष दाहाल

फाइल तस्बिर
फाइल तस्बिर

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले लायन्स क्लबका गतिविधि सबैले स्मरण गर्न योग्य रहेको बताएका छन्।

चितवनको भरतपुरमा आजदेखि सुरु भएको लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आर नेपालको दोस्रो राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा उनले समाजमा आपतविपत पर्दा क्लबले महत्वपूर्ण काम गरेको बताएका छन्।

‘आपतकालीन अवस्था, भूकम्प, कोभिडलगायतका महामारीमा लायन्सले खेलेको भूमिका महत्वपूर्ण छ', उनले भने, 'यहाँहरुको काम गर्ने शैली सबैका लागि अनुकरणीय छ।'

लायन्स क्लबमा हुने गरेको नेतृत्व हस्तान्तरण, सहजता, लक्ष्य निर्धारण र कार्यसम्पादनको राजनीतिक दलले अनुसरण गर्नुपर्ने बताए। देशमा विभेदरहित मानवीय सेवा सबैका लागि आवश्यक रहेको भन्दै उनले त्यसका लागि सबैले सहकार्य गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रले जनताका हकअधिकारको सुनिश्चितता गरेको जनाउँदै उनले राजनीतिक उपलब्धिलाई समाज रुपान्तरण र मानव सेवामा प्रयोग गर्नुपर्ने बताए। उनले राष्ट्रियसभाले जनताका जनजीविकाका मुद्दा उठाउँदै पालिका र प्रदेशलाई सङ्घ सरकारसँग जोड्ने काम गर्ने बताए।

प्रकाशित मिति: : 2024-04-06 20:56:00

प्रतिकृया दिनुहोस्