फागु पूर्णिमाका दिन काठमाडौँको वसन्तपुरमा रिपोर्टिङ गरिरहेकी कान्तिपुर टेलिभिजनकी पत्रकारलाई त्यहाँ होली खेलिरहेका व्यक्तिहरूले रंग दलेको फुटेज अहिले सामाजिक सञ्जालमा भाइरल छ। ‘बुरा नमानो होली है’ भने जसरी उनको शरीर, अनुहारमा पुरुषहरूले हात हालिरहेका थिए। मेरा लागि त्यो विल्कुलै पाच्य दृष्य थिएन।
उनले व्यक्तिगत रुपमा त्यस दिनकाे हाेलीकाे रिपोर्टिङको अनुभव कस्तो गरिन् कुन्नी, तर त्यो दृष्य देख्दा चाहिँ पत्रकार अनि महिला पनि भएको नाताले मैले चाहिँ विल्कुलै सहज अनुभव गरिनँ। त्यो फुटेज देखेदेखि नै यस विषयमा लेख्न मन थियो, फेरि ‘आ! होस् है’ भन्ने पनि लाग्यो।
विजयजी (विजय पौडेल–प्रधान सम्पादक कान्तिपुर टेलिभिजन)लाई व्यक्तिगत रुपमै भेटेर भनौँ कि जस्तो पनि लाग्यो फेरि यो विषय त अरुले पनि थाहा पाउनुपर्छ भन्ने पनि लाग्यो। हाेली खेलिरहेकाहरूकाे बीचमा उनी थिइन्, उनलाई भिडले रंग दलिरहेकाे थियो। उनी त्यहाँ होली खेल्न गएकी थिइनन्, होलीको रिपोर्टिङ गर्न अर्थात् काम गर्न गएकी थिइन्। तर उनीमाथि जसरी असभ्य तरिकाले रंग दलिएको थियो र त्यसको प्रतिकार गर्न उनले सकिरहेकी थिइनन्। त्यो देख्दा मलाई लाग्याे, उनलाई इभेन्ट रिपोर्टिङ कसरी गर्ने भन्नेबारेमा तालिम दिइएको छैन।
फिल्डमा जानु अगाडि यस्तो खालको इभेन्टको रिपोर्टिङ गर्दा यस्ता-यस्ता खालका सावधानी अपनाउनुपर्छ भनेर उनलाई ब्रिफिङ पनि गरिएको थियो जस्तो लागेन। यहाँ मैले कान्तिपुर टेलिभिजनले यसो गर्यो भन्न खोजेको होइन, यो त एउटा प्रतिनिधि घटना मात्र हो। होलीको रिपोर्टिङ गर्न होली खेलिरहेका मानिसको हुल भित्र पस्नैपर्छ भन्ने छैन। भिडभन्दा अलिक पर बसेर पनि गर्न सकिन्छ वा अरु पनि तरिका होलान् कि?
होली अरु चाड जस्तो होइन, यसमा एकअर्काको शरीरमा अनुहारमा रंग दलिन्छ। त्यसका लागि शरीर र अनुहार छुनैपर्छ। त्यसमाथि त्यो दिन नशा सेवन गर्ने पनि हुन्छन्, हुलको मनस्थिति कतिबेला बद्लिन्छ, थाहा हुँदैन। यसै पनि आजकल पत्रकारको क्षमतामाथि प्रश्न उठिरहेकाे हुन्छ।
असहज परिस्थितिमा कसरी रिपोर्टिङ गर्ने भन्नेबारेमा स्थलगत तालिमको आवश्यकता यो दृष्य देखेपछि झन टड्कारो महशुस भएको छ।
न्यूयोर्कमा मुख्य कार्यालय रहेको कमिटी टु प्रोटेक्ट जर्नलिस्ट(सीपिजे)का अनुसार असहज परिस्थितिमा कसरी रिपोर्टिङ गर्ने भन्नेबारेमा तालिमको आवश्यकता माग गरिएका आवेदनहरूकाे संख्या हरेक वर्ष बढिरहेको छ।
विश्वभरिबाटै आउने त्यस्ता मागमा पत्रकारका लागि सुरक्षासम्बन्धी कार्यशाला र बृहत् सुरक्षा तालिमको माग अत्यधिक हुने गरेको सिपिजेको आपतकालीन शाखा हेर्ने निर्देशक लुशी वेष्टकोटले बताएकी छिन्। उनका अनुसार सन् २०२२ मा यस्तो माग विगतका वर्षहरूभन्दा २४ प्रतिशतले बढेको थियो।
सिपिजेका अनुसार गत वर्षको अक्टोबर ७ मा इजरायल-हमास युद्ध सुरु भएदेखि आजकाे मितिसम्म ९५ जना पत्रकारले ज्यान गुमाएका छन्। तीमध्ये १९ जना टेलिभिजनमा काम गर्ने पत्रकार रहेका छन्। यसले पनि देखाउँछ, याे पेशामा ज्यानकाे जाेखिम छ। त्यही भएर पत्रकार आचार संहिताले पत्रकारको आफ्नो ज्यानको सुरक्षालाई पहिलो प्राथमिकता भनेको छ। ‘पहिले आफ्नो सुरक्षा हेर अनि मात्रै समाचार संकलन’ भन्ने पत्रकारका लागि मूलमन्त्र जस्तै हो, सिपिजेको गाइडलाईनले पनि यही भन्छ।
विदेशतिर हामी देख्छौँ प्राय: दुर्घटनास्थल अथवा हत्याका घटना भएका ठाउँमा प्रहरीले घेराबन्दी गरेको हुन्छ, त्यो घेरा काटेर उता जान कसैले पनि पाउँदैन, पत्रकारले पनि। हामीकहाँ भने बाढीको समाचार संकलन गर्न गएका पत्रकार आफैँ हेलिकप्टरमा झुन्डिएर बाढी पीडितको उद्धार गरिरहेका हुन्छन्। उद्दार गर्नु नराम्रो होइन तर आफ्नो काम के हो? त्यो मुख्य प्राथमिकतालाई छोडेर ज्यानकै जोखिम मोलेर हेलिकप्टरमा झुन्डिएर बहादुरी देखाउनु चाहिँ बेवकुफ मात्रै हो। त्यसरी उद्धार गर्न सेनाका तालिम प्राप्त जवान हुन्छन्, अब ती तालिम प्राप्त जवानले चाहिँ रिपोर्टिङ गर्नु?
निकै वर्ष अगाडि वर्षाको समय अलिक बढी नै पानी पर्दा थापाथलीस्थित बाग्मती नदी निकै उर्लेको थियो, हिउँदमा ढलसरि बग्ने बाग्मती त्यसरी छचल्किएर पुल नै छोलाझैँ उर्लेको दृष्यलाई नेपाल टेलिभिजनका रिपोर्टर राजेन्द्रराज तिमिल्सिनाले पुलमा उभिएर छाता ओढेर रिपोर्टिङ गरेका थिए।
अरु टेलिभिजन च्यानलहरू पनि नभएको त्यो समयमा र औपचारिक तरिकाले गरिएकाे रिपोर्टिङ मात्र हेरिरहेका दर्शकले त्यो रिपोर्टिङलाई नौलो र रमाइलो मानेका थिए। त्यस पछिका दिनमा टिभी च्यानलको संख्या बढेसँगै स्ट्यान्ड अप दिने (स्थलगत रिपोर्टिङ पछि रिपोर्टको समरीलाई रिपोर्टरले क्यामेरा अगाडि उभिएर भन्ने) कुरा सामान्य हुन थाल्यो। पहिले उठेर मात्र दिइने समरी पछि रिपोर्टको विषयअनुसार बसेर, पल्टेर, नाचेर उफ्रेर‚ खाएर जसरी पनि दिन मिल्ने हुन थालेपछि पिटुसि(पिस टु क्यामेरा) भनिन थालियो।
पिटुसी मात्रै होइन, त्यसपछि त हरेक जोखिमपूर्ण ठाउँमा, घटनामा पत्रकार आफैँ घटनास्थलमा पसेर लाइभ गर्न थाले। देशमा माओवादी द्वन्द्व चर्केका बेला सेनाका व्यारेकहरूमा भएका आक्रमणहरूका कतिपय पत्रकारहरूले प्रत्यक्ष प्रसारणसमेत गर्ने गर्थें। त्यस्ता आक्रमण हुँदैछन् भनेर द्वन्द्वरत पक्षले ती पत्रकारहरूलाई अग्रिम जानकारी गराएर सँगै लाने गर्थे भनेर पछि तिनै पत्रकारले भनेका पनि थिए। आजको दिनमा त राष्ट्रिय टेलिभिजनहरूले पनि युट्युबरको सिको गर्दै हरेक सानातिना उट्पटाङ घटनाको समेत लाइभ गर्न थालेका छन्।
कतिपय अवस्थामा त्यस्तो लाइभ गर्न जाने रिपोर्टरको हालत तालिम नदिएको सिपाहीलाई हतियार बोकाएर लडाइँको अग्रभागमा पठाएसरह हुन पुग्छ। घटनाको जरैसम्म खोतलेर त्यसको यथार्थता पाठक, दर्शकसम्म पुर्याउनु एउटा पत्रकारको खुबी हो। तर बाढी आएका बेला नदी यति उर्लेको छ भनेर देखाउन नदीको भंगालोमा पस्ने, पुल यसरी भत्कियो भनेर भत्किन बाँकी भएको ठाउँमा गएर उफ्रने, कोरोनाका बिरामीको हालत यस्तो छ भनेर देखाउन पिपिई नै नलगाई अस्पतालभित्र पस्ने, सुरक्षा संवेदनशील ठाउँमा घुसेर ती ठाँउको प्रत्यक्ष प्रसारण गर्ने र गर्न लगाउने जस्ता कार्य जिम्मेवार मिडिया र पत्रकारका लागि शोभनीय होइनन्।
स्थलगत रिपोर्टिङ मात्रै होइन, स्टुडियोमा विभिन्न राजनीतिक दलका व्यक्तिहरूलाई बोलाएर प्रत्यक्ष छलफल चलाइरहेका बेला ती पाहुनाहरू नै एकआपसमा मुक्कामुक्की गर्न थाले भने त्यतिबेला पत्रकारले के गर्ने ? स्टुडियोमा बोलाइएका पाहुनाहरूबीच गालीगलौज र मुक्कामुक्कीका घटना सामान्य हुन थालेका छन् आजकल।
केही समय अगाडि पत्रकार राजु थापाको टेलिभिजन अन्तर्वार्ताका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेपालका अध्यक्ष कमल थापाले झोक्किँदै माइक फालेर हिँडेका थिए। त्यस्तो अवस्थामा त्यो पत्रकारले के गर्ने? त्यस्तो क्षणमा पत्रकार आफैँले पनि अपमानित महशुस गरिरहेको हुन्छ, याे पनि एक किसिमकाे आपतकालीन अवस्था हाे। यसलाई कसरी सम्बाेधन गर्ने?
मैले कान्तिपुर टेलिभिजनमा काम गर्दा दुईवटा अप्रत्यासित घटना भए। पहिलाे २०६१ साल भदौ १६ गतेकाे म्यानपावर घटना त्यतिबेला अप्रत्यासित रूपमा कान्तिपुर परिसरमा हुल पसेर आक्रमण गर्न थाल्याे। म मध्यान्ह १२ बजेकाे समाचार प्रशारणकाे तयारी गर्दै थिएँ,अचानक हुल हुज्जत, ढुंगामुढा र आगजनी हुन थाल्याे। त्यस्ताे अवस्थामा के गर्ने? सबै बन्द गरेर भाग्ने कि अथवा कामलाई निरन्तरता दिन? म र टिमले निरन्तरता दिने निर्णय गर्यौँ। किनभने हामीलाई यसाे गर भनेर गाइड गर्ने त्यतिबेला त्यहाँ काेही थिएन।
समाचारकाे हेडलाइन बजाएपछि अचानक हुल आयाे भन्ने आवाज सुनेपछि प्रसारण झ्याप्पै बन्द गरेर हामी भागेका थियौँ। त्यसपछि त्यस्तै अप्रिय घटना फेरि दाेहाेरियाे भने त्यस्ताे अवस्थामा के गर्ने भनेर म्यानेजमेन्टले कहिल्यै हामीलाई तालिम वा गाइडलाइन दिएन। जबकी त्याे अत्यन्तै जरूरी थियाे। त्यस्ता घटना फेरि नहाेलान भन्न सकिन्न।
त्यसैगरी २०७२ सालकाे महाभूकम्पकाे समयमा पनि त्यस्तै भयाे। अन एयर भइरहेकाे बेला त्यस्तै डरलाग्दाे भूकम्प आयाे भने के गर्ने? त्यस्ता अप्रत्यासित घटनाका बेला कसरी काम गर्ने भन्नेबारेमा त्यसपछि कुनै छलफल, तालिम केही भएनन्। बद्लिँदाे समयसँगै भित्रिएका तौरतरिकासँग पत्रकारले अनि मिडिया हाउसले पनि आफूलाई परिस्कृत पार्दै लानुपर्छ भन्ने कुरामा कसैकाे दुइमत छैन। तर यसाे भनिरहँदा भिन्न तरिका र माध्यममा काम गर्ने युट्युबर, भ्लगरहरूसँग प्रतिस्पर्धा गर्ने नाममा अति दुस्साहस देखाउन पनि पत्रकारलाई आवश्यक छैन।
पत्रकारिताका आधारभूत सिद्धान्त र मान्यतालाई पछ्याएर पनि उत्कृष्ट परिणाम दिन सकिन्छ तर यसका लागि आपतकालिन स्थितिमा कसरी प्रस्तुत हुने भनेर पत्रकारलाई व्यवहारिक तालिम दिन अति नै आवश्यक छ। हुन त तलब त समयमा नदिने अनि पत्रकारलाई काम मात्र लगाउने मिडिया हाउसहरूले असामान्य परिस्थितिमा कसरी रिपोर्टिङ गर्ने भन्ने बारेमा आफ्ना रिपोर्टरहरूलाई तालिम दिन्छन् भनेर आश गर्नु नै बेकार हो। तर त्यसो भनिरहँदा लाइभका गरिरहँदा भिडले रिपोर्टरको हुर्मत लिने अथवा रंग दल्ने नाममा पत्रकार महिलाका शरीरका अंग-प्रत्यंग छाम्ने परिस्थिति उत्पन्न हुन नदिन भने मिडिया हाउसहरू सचेत र जिम्मेवार हुनै पर्दछ।
अनि तालिमका नाममा होटेलका कोठामा सो कल्ड विज्ञ पत्रकार प्रशिक्षकले दिने पावर प्वाइन्ट प्रेजेन्टेशन शैली पनि पुरातन भइसक्यो भन्ने कुरा पत्रकार महासंघलगायत तालिमे संस्थाले बुझ्न ढिला नगरुन्।