अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

सोमबार बिहान मेल्लेख गाउँपालिका-७ नन्देगडाको सुयडीमा टयाक्टर दुर्घटना हुँदा उनीहरूकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।

मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ।

षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको हो। प्रहरीका अनुसार दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र एक बालक घाइते भएका छन्।

घाइते तीनैजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2024-03-25 10:50:00

प्रतिकृया दिनुहोस्