ठमेल र दरबारमार्ग २४सै घण्टा खुलाउने ‘रवि’काे निर्णयप्रति के भन्छन् व्यापारी? (भिडियो)

रविन भण्डारी

काठमाडाैं

काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुला गर्ने गरी सरकारले तयारी गरेको छ।

आगामी नयाँ वर्ष (वैशाख १ गते)देखि २४सै घण्टा बजार खुलाउने गरी व्यवस्थापन गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई निर्देशन पनि दिइसकेको छ।

ठमेल र दरबारमार्ग क्षेत्र पर्यटकीय व्यसायीक क्षेत्र हुन्। विषेश गरेर यी क्षेत्रमा विदेशी पर्यटकका लागि लक्षित गरी व्यवसाय सञ्चालित छन्। जसले गर्दा सरकारले नै २४ सै घण्टा व्यवसाय सञ्चालन हुने गरी तयारी थालेको छ।

तर, दिनमा समेत व्यवसाय नभइरहेको समयमा रात्रिकालीन व्यवसाय हुन सम्भव छ? कुन आधारमा सरकारले रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने तयारी गर्‍या? गृह मन्त्रालयका अधिकारी स्पष्ट पार्न चाहँदैनन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका सांसद रवि लामिछाने गृहमन्त्री बनेपछि उनले नै प्रहरी प्रशासनलाई ठमेल र दरमारमार्ग क्षेत्रमा २४सै घण्टा व्यवसाय सञ्चालन गर्न निर्देशन दिएका हुन्।

यहाँ रात्रिकालीन व्यवसाय चलायमान भएमा काठमाडौँका अन्य ठाउँमा पनि विस्तार गर्ने गृह मन्त्रालयको तयारी छ।

तर, ठमेल क्षेत्रका व्यापारी भने रात्रिकालीन व्यवसाय सफल हुनेमा शंका गर्छन्। तीन दशकदेखि गार्मेन्टको व्यवासाय गर्दै आइरहेका विवेक न्यौपाने भन्छन्, ‘२४सै घण्टा बजार खुलाउनु राम्रो हो। तर, दिनमै व्यापार नभइरहेको समयमा रातिमा व्यापार होला भन्ने लाग्दैन।’

गार्मेन्ट व्यवसाय गरेका विवेक मात्र होइन, विदेशीकै लागि लक्षित गरी सञ्चालन गरिएको ह्याण्डिक्रयाफ्ठ (हस्तकला)सम्बन्धी व्यवासय सञ्चालन गर्दै आइरहेका मनोज गौतम पनि रात्रिकालीन व्यवसाय सफल हुनेमा शंका व्यक्त गर्छन्।

उनी भन्छन्, ‘क्लव, होटल व्यवसाय त रात्रिकालीन रुपमा सञ्चालन हुन सम्भव छ। चलि पनि रहेको छ। तर, हाम्रो जस्तो व्यवसाय रातिमा सञ्चालन गर्न सम्भव छैन।’

गृह मन्त्रालयले २४सै घण्टा व्यवसाय सञ्चालन गर्नका लागि व्यवस्थापन गर्न निर्देशन दिएलगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौँले तयारी थालिसकेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले मापदण्ड तयार पार्ने काम भइरहेको बिएल नेपाली सेवासँग बताए।

‘रात्रिकालीन रुपमा व्यवसाय सञ्चालन गर्नका लागि हमीले मापदण्ड तयार गर्ने, सरोकारवाला निकायसँग छलफल गर्ने, आचारसंहिता बनाउनेदेखि सुरक्षाका सवालमा पनि काम भइरहेको छ’, उनले भने, ‘सम्भवत वैशाख १ गतेदेखि नै २४ घण्टा ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुल्ने छ।

हाल पनि ठमेल र दरबामार्ग क्षेत्र रातिमा चलायमान नै हुने गर्छन्। विशेष गरेर यहाँ रात्रिकालीन व्यवसाय सञ्चालन गर्नका लागि अनुमति लिएका क्लब, दोहोरी साँझ, होलटललगायत व्यवसासय सञ्चालित हुने गर्छन्। अन्य व्यवसाय भने साँझ ७–८ बजे नै बन्द भइसकेको हुन्छ।

प्रकाशित मिति: : 2024-03-23 10:00:00

प्रतिकृया दिनुहोस्