नेपाली काँग्रेसका सांसद बिनाेदकुमार चाैधरीले बाँसबारी छाला तथा जुत्ता कारखानाकाे १० राेपनी सरकारी जग्गामा आफूलाई कुदृष्टि राख्याे भनेर साेच्नु विकृत मानसिकताकाे उपज भएकाे टिप्पणी गरेका छन्।
बिहीबार बिहान साेही जग्गा प्रकरणबारे नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सिआइबी)मा बयान दिएर बाहिरिएपछि चाैधरीले यस्ताे बताएका हुन्।
‘देशभरि विभिन्न परियाेजना गर्ने ग्रुपले त्याे १० राेपनी जग्गाकाे बारेमा कुनै पनि प्रकारकाे कुदृष्टि राख्छ भनेर साेच्नु नै एउटा विकृत मानसिकताकाे उपजबाहेक अरु केही पनि हाेइन्,’ बयान दिएर बाहिर निस्किए लगत्तै चाैधरीले भने। उनले आफूमाथि राजनीतिकरण गरिएकाे आराेप लगाए।
उनले आफूजतिकाे व्यवसायीलाई यसरी उभ्याउँदा संसारभरि गलत सन्देश फैलिएकाे गुनासाे गरे। ‘म जतिकाे व्यक्तिले यहाँ उभिएर बाेलिरहँदा नेपालभरिका र विश्वभरि रहेका नेपालका युवाहरुले, नेपालका उद्यमीहरुले, राेजगारदाताहरुले करदाताहरुले कुन सन्देश आफ्नाे मनमा लिएर जाने हुन भन्ने कुराकाे हेक्का राज्यले राख्नुपर्ने हाे,’ उनले भने, ‘मैले आफ्नाे ४५ वर्षकाे यात्रापछि आफ्नाे चरित्रकाे सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन, त्याे पनि खास गरी स्टन्ट गर्नेहरुलाई।’
बाँसबारी छाला तथा जुत्ता उद्याेगकाे १० राेपनी सरकारी जग्गा प्रकरणमा सिआइबी आज बिहान ७ बजेदेखि करिब सवा १० बजेसम्म बयान लिएकाे हाे।