उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
सरुवा भएका सरकारी अधिकारीलाई बुधबार जिम्मेवारी सम्हाल्न दिनुअघि गृहमन्त्री लामिछानेले यस्ताे निर्देशन दिएका हुन्।
‘राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्नुस्। आज्ञापालक होइन, सिर्जनशिल प्रशासक बन्नुस्। नागरिकबाट मानसम्मान खोज्ने होइन, उनीहरुलाई गर्नुस्’, उनले भने ‘औपचारिक कार्यक्रममा धेरै समय बर्बाद नगर्नुस्। जिम्मेवारी दिँदा नै ‘सक्दिन’ भन्नुस्, लिएपछि नभाग्नुस्।’
उनले नागरिकमा सरकारको व्यवहारिक अनुभूत गराउने गरी कानूनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्न निर्देशन दिए।
सरकारले जनतामा तत्काल आशा जगाउन सक्नुपर्ने भन्दै आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्वको सञ्जाल तोड्न र तिनका सहयोगी नबन्न आग्रह गरे।
उनले सेवा प्रवाहमा तत्काल सुधार, गुण्डागर्दी, तस्करी, राजस्व चुवावट र प्राकृतिक स्रोतको दोहन नियन्त्रण, सामाजिक सद्भाव अभिवृद्धि, विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरणलगायत क्षेत्रमा तत्कालै सुधारका योजना बनाएर लागू गर्नसमेत निर्देशन दिए।
‘अध्यागमनका समस्या समाधानका योजना ल्याउनुस्, हरसंभव सहयोग हुन्छ। त्यहाँ सेवाग्राहीले सास्ती भोग्नु नपरोस्’, गृहमन्त्री भने।
गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक, निर्देशक, अध्यागमन कार्यालय त्रिभूवन विमानस्थल, अध्यागमन कार्यलय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र केही जिल्ला प्रशासन कार्यालयमा चैत्र ६ गते उपसचिव र सहसचिव गरी २२ जनाको सरुवा गरेको थियो। जिम्मेवारी सम्हाल्न दिनुअघि गृहमन्त्रीले उनीहरुलाई निर्देशन दिएका हुन्।