एकीकृत समाजवादी छाडेका दीपक मनाङे बने मन्त्री

File Photo
File Photo

गण्डकी प्रदेशमा मन्त्रिपरिषद पुनर्गठन भएकाे छ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले साेमबार दीपक मनाङे (राजीव गुरुङ)लाई समेटेर पुनर्गठन गरेका हुन्।

नेकपा (एकीकृत समाजवादी) पार्टी त्यागेर स्वतन्त्रकाे हैसियतमा रहेका मनाङे भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन्।

मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट स्वतन्त्र रूपमा जितेका मनाङे निर्वाचितपछि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।

यसैगरी पुनःगठित मन्त्रिपरिषद्मा कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको थप जिम्मेवारी दिइएको छ।

मन्त्रिपरिषद् पुनःगठनसम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएकाले नवनियुक्त मन्त्रीको सपथ आजै दिउँसो ३ बजेका लागि तय भएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए।

यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रेशमबहादुर जुग्जाली र सामाजिक विकासमन्त्रीमा सुशीला सिम्खडा मन्त्री रहेका थिए।

प्रकाशित मिति: : 2024-03-18 13:31:00

प्रतिकृया दिनुहोस्