आगलागीबाट माेरङकाे रंगेलीस्थित सन्थालका २५ घर जलेर सखाप भएका छन्।
शनिबार दिउँसो २ बजे सुरु भएको आगो निभाउन स्थानीय, बारुण यन्त्र, प्रहरीलगायतको टोलीलाई साँझ ४ः३५ बजेसम्म लाग्यो।
यो समयमा २५ घरका कसैले पनि आफ्नो शरीरमा भएको कपडाबाहेक केही जोगाउन सकेन्न। पीडित गाँउले गाई फार्ममा रात काटिरहेका छन्।
प्रहरीकाअनुसार जंगली मुर्मुको ग्वालीबाट सुरु भएको आगो एकैछिनमा सिंगो गाउँमा सल्किएको थियो। फुस्को छाना भएका, साना साना र एक अर्कामा जोडिएका घर भएकाले आगो नियन्त्रणमा कठिनाइ भएको प्रहरीको भनाइ छ।
पश्चिम तर्फको तीव्र हावाका कारण पनि आगो बस्तीमा सल्किन समय लागेन।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीकाअनुसार पीडितले घरभित्र रहेका कुनै पनि सामान निकाल्न पाएनन्। सुन चाँदी, नगद, लत्तकपडासहित सबै धनमाल जलेर नष्ट भएको कार्कीले बताए।
पीडितले शरीरमा लगाएका कपडाबाहेक केही बचाउन सकेनन्। घरबाट मालसामान निकाल्न खोज्दा २९ वर्षीया तलाबेटी मुर्मू जलेर सामान्य घाइते भएको एसपी कार्कीले जानकारी दिए।
मुर्मूको रंगेली अस्पतालमा उपचार भइरहेको छ।
आगोले जंगलीसहित तल्लु, भना, धारो, जुगल, मंगल, साइला, सञ्चराम, गम्बु, सुकदेव, राम मुर्मू तथा चन्द्र, सुकल, बासुदेव, चट्टा किस्कु एवम् मनोज, बुद्दराय, मराहाङ हेमराम र सुमन सन्थाल, सुकल हस्दा, लुकु टुडू तथा बाबूलाल बेश्राको परिवार बिचल्ली भएका छन्।
प्रहरीकाअनुसार जंगली मुर्मुको ग्वालीबाट आगो सल्किएको जनाएको छ। जंगलीको ग्वालीमाथि नेपाल विद्युत प्राधिकरणको तार लत्रिएको थियो। सो तारमा हप्ता दिनअघि विद्युत सर्ट भएर आगो लागेको थियो तर स्थानीयले तत्कालै थाहा पाए र आगो नियन्त्रमा लिएका थिए।
आगलागीबाट पीडित भएकाहरू नजिकैको गाई फार्ममा बसिरहेका छन्। तत्काल पीडितको व्यवस्थापन र राहतका लागि स्थानीयदेखि प्रदेश सरकारसँग समन्वय भइरहेको मोरङ प्रशासनले जनाएको छ। आगलागीपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राई, मन्त्रालयका सचिवसहित मोरङका सुरक्षा अधिकारीले स्थलगत निरीक्षण गरेर घटनाको सबै जानकारी लिएका छन्।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मोरङको सक्रियतामा पीडितलाई खाद्यान्न, ओढ्ने, ओछ्याउने र खानेपानी वितरण गरिएको छ। तत्कालका लागि १ परिवारलाई २/२ वटा ओढ्ने र ओछ्याउने कपडा तथा १० किलो चामल एवम् १ काटुन पानी उपलब्ध गराइएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।
स्थानीय सरकारले पनि राहत दिएको उनको भनाइ छ।