१३८ किलो सुन तस्करीमा वर्षमानको 'कनेक्सन'– हिरासतमा रहेका मुख्य नाइकेसँग ११ पटक फोन !

लोकान्तर

ईश्वर अर्याल

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् ।

लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट पक्राउ गरिएको थियो ।

यस प्रकरणमा नवनियुक्त अर्थमन्त्री वर्षमान पुनको पनि सहभागिता देखिने आधार लोकान्तर डट्कमले फेला पारेको छ ।

विशेष स्रोतबाट प्राप्त सीडीआर (कल डिटेल रेकर्ड) मा सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्म गुरुङ र पुनबीच ११ पटक फोनमा कुराकानी भएको देखिन्छ ।

पुनको मोबाइल नम्बर ९८५११०२**२ बाट गुरुङको मोबाइल नम्बर ९८६९०००**४ मा ४ पटक फोन गएको छ भने गुरुङले ७ पटक पुनलाई फोन गरेका छन् ।

यसबारे अर्थमन्त्री पुनको प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

२०७९ मंसिरपछि अहिलेसम्म भएको १ सय ३८ किलो सुन तस्करीका मुख्य योजनाकार गुरुङ पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका परराष्ट्र सल्लाहकार थिए । उनी प्लाटिनम कलेजका सञ्चालक समेत हुन् ।

१० वर्ष चलेको माओवादी जनयुद्धका कमान्डर समेत रहेका नन्दकिशोरका परिवारका अधिकांश सदस्य र उनको सचिवालयमा काम गर्ने कतिपय सदस्य सुन तस्करीमा मुछिएका छन् ।

प्रकाशित मिति: : 2024-03-13 12:41:00

प्रतिकृया दिनुहोस्