छोरीको उपचार खर्च जुटाउन ‘भगवान’ समीप चिया बेचिरहेकी आमा (भिडियोसहित)

बिहानको उजेलीसँगै कपनकी अनिता नेपाली विश्वप्रशिद्ध पशुपतिनाथ मन्दिर पुग्छिन्। पशुपतिमा पुग्न त अरु पनि पुग्नछन्। तर अनिता जसरी होइन। 

अनिता बिहान उठ्छिन्। थर्मसमा चिया बाेक्छिन्, सँगै प्लाष्टिकका कप पनि लिएर पशुपति पुग्छिन्। अरु पशुपति दर्शन गर्छन्। पशुपति घुम्छन्। 

तर अनितालाई त्यति गर्ने समय कहाँ हुन्छ र!

उनकाे बिहानैको नित्यकर्म नै चिया बेच्नमै हुन्छ। ‘चिया खानुहुन्छ? ल ताताे चिया खानुस्!’ उनी यस्तै भन्दै बिहानदेखि साँझको झिसमिसेसम्म पशुपतिमा बिताउँछिन्। 

अनिताले यसरी चिया बेच्न थालेको मात्र तीन महिना भयो। उनी त्यसै चिया बेच्न पशुपतिमा बिहानदेखि साँझको समय खर्चिएकी होइनिन्। घरमा चार जनाको परिवार छ। घर खर्च चलाउनु छ। 

तर उनलाई घर खर्च चलाउनु भन्दा पनि अर्को पीर छोरीको उपचारको छ। घर खर्चका लागि त म छु भन्दै उनका श्रीमाले चिया नबेचेपनि हुन्छ भन्छन्। 

अनितालाई भने श्रीमानले भनेपनि उनको मनले काम नगरी बस्न दिँदैन। किनकि उनीसँग बिरामी छोरीको चिन्ता छ। ‘बूढाले काम नगर त भन्नुहुन्छ तर मन कहाँ मान्छ र? घर खर्च चलाउनुपर्यो। नानीको उपचार खर्च पनि त जुटाउनु पर्यो’, उनी भन्छिन्। 

मनमा थेक्न नसक्ने पीर भएपनि अनिता हँसिली छिन्। उनी चिया खानेसँग हाँसेर हिड्छिन्। 

उनकी जेठी छोरीलाई थालेसेमिया रोग छ। त्यहीँ रोगले १३ वर्षकी छोरीलाई कमजोर बनाएको छ। सानो उमेरदेखि थालेसेमियाबाट ग्रसित छोरीलाई हप्तामा दुई पटक त अस्पताल लैजानुपर्छ, रगत चढाउनका लागि।

‘थालेसेमिया रोग भनेको ब्रोनम्यारो सम्बन्धी समस्या हो। यो रोग लाग्दा साताको दुई पटक रगत हाल्नपर्ने रहिछ’, उनी भन्छिन्।

उनले छोरीलाई कान्ती बाल अस्पतालमा उपचार गर्दै आइरहेकी छिन्। छोरीको उपचार चिया बेचेकै पैसाबाट गर्दै आइरहेको उनी बताउँछिन्। 

दिनमा एक हजार रुपैयाँसम्म चिया बचेर उनी कमाउने गर्छिन्। ‘आफूले ९ महिना गर्भमा राखेर जन्माएको छोरी पो हो त। उसको उपचार खर्चको लागि पनि म काम गरिरहेकी छु’, आँसु पुछ्दै उनले भनिन्। 

कुनैबेला छाेरी गुमाउने डरले त्रासमा थिइन्, उनी। उनलाई कसैले भनेका थिए कि ‘छोरीलाई ‘ब्लर्ड क्यान्सर’ भएको छ।’ क्यान्सरकाे नाम सुनेर उनी कयाैँ रात नसुतिकन उज्यालाे पारिन्।

‘ब्लड क्यान्सर लागेको छ, बाँच्दैनन् भन्थे। त्यो दिन म खुबै रोएकी थिएँ। तर पछि डाक्टरले क्यान्सर होइन थालेसेमिया भन्नुभयो’, उनले बिएल नेपाली सेवासँग ती दिनका कुरा सुनाइन्, ‘त्यसपछि मनमा केही आनन्द भयो। थालेसेमियाको बाँच्ने आधार नै रगत रहिछ।’

छाेरीकाे पीरले दुःखी हुँदा उनी माइतघरकी आमालाई स्मरण गर्छिन्। र आफूले गरेको नादानी सम्झिन्छिन्। अनि भक्कानिएर रून्छिन्।

पानी बाेक्थिन्, चियावाली भइन्

शुपतिमा चिया बेच्नुअघि अनिता पानी बाेक्ने काम गर्थिन्। पानीकाे भारी बाेकेरै उनले घर खर्च चलाउँथिन्। तर कपनमा काेठाभाडामा सरेपछि उनले त्याे काम छाेड्नपर्याे।

पानी बोकेर कमाएको पैसाले घरमा नुन तेल किन्न पुगेकै थियो। तर कोठा सारेपछि त्यही पानी बाेक्ने काम पनि हातबाट छुट्यो। उनी कामविहीन भइन्।

पानी बाेक्ने काम छुटेपनि उनलाई काम त गर्नुथियाे। तर थाह थिएन। अब के गर्ने?

एकदिन उनले पशुपति क्षेत्रमा महिलाहरूले थर्मसमा चिया बेचिरहेकाे देखिन्। त्याे दृश्य देखेकी अनिताले पनि चिया बेच्ने साेच बनाइन्। उनले बुनेकाे याेजना श्रीमानलाई सुनाइन्। 

श्रीमतीकाे काम गर्ने हुटहुटी देखेर श्रीमानले पनि चिया बेच्न अनुमति दिए। त्यसपछि थर्मस बाेकेर पशुपति घुम्न थालिन् अनिता। 

पहिलो पटक चिया बेच्दा अनौठो लागेको थियो अनितालाई। साथमा मनमा डर पनि– ‘चिया बिक्री नहुने होकि!’

तर पहिलो दिनै उनले दुई थर्मस चिया बेचिन् र १ हजार २ सय रुपैयाँ कमाइन्। त्यसपछि त अनितालाई चिया बेच्न रमाइलो लाग्न थाल्यो।

‘पहिलो दिन चिया बेच्दा १२ सय कमाएकी थिएँ तर सधैं उस्तै व्यापार नहुँदो रहिछ। एक पटक त मैले ३ सय रुपैयाँको मात्र चिया बेचें’, उनी भन्छिन्।

दुई हातमा १० लिटरको थर्मस बोकेर हिड्ने अनिताले निःशुल्क पनि चिया खुवाउने गरेकी छिन्।

‘सबैजना होइन तर कोही–कोही ग्राहकहरूसँग पैसा हुँदैन, तर चिया पिउन चाहनुहुन्छ। उहाँहरूलाई मैले सित्तैमा चिया पिलाउँछु’, उनी खुशी ब्यक्त गर्छिन् ‘मान्छेसँग पैसा सधैं कहाँ हुन्छ र?’

दलित हुनुको पीडा

पूख्याैली घर सिन्धुली भएतापनि उनी काठमाडाैंमा हुर्किइन्। काठमाडाैंकाे एक स्कुलमा उनले कक्षा–५ सम्म पढिन्। त्यसपछि उनलाई पढ्ने रहर जागेन। ‘साथीहरू पढ्न मानेनन् अनि मैले पनि पढ्न छोडिदिएँ’, उनले भनिन्, ‘साथीहरू जे गर्यो मैले पनि त्यस्तै गरिदिएँ।’  

जेठी छोरीले पढाइ छाड्ने भएपछि बाआमाले उनलाई धेरै सम्झाए। ‘एसएलसी’सम्म पढ्न लगाए। तर मानिन् अनिता। बरु, दिनभरि साथीहरूसँग डुलिरहिन्। 

साथीहरूकै संगतमा एकदिन उनको भेट जीवन नेपालीसँग भयो। उनीहरूबीच मित्रता बढ्दै गयाे। त्यही मित्रता प्रेममा बदलियाे। त्यसपछि विवाह भयाे। 

१५ वर्षकाे उमेरमा अनिता धिमाल वैवाहिक बन्धनमा बाँधिएकी थिइन्। त्यहिपनि परिवारकाे खिलाफ। ‘मेरो परिवार चाहदैन थियो कि मेरो विवाह छिट्टै होस् भनेर। त्यसैले मैले भागेर विवाह गरें’, उनले भनिन्। 

छाेरीले विवाह गरेर रिसाएका थिए धिमाल परिवार। तर सन्तानकाे अगाडि कत्तिन्जेल पाे कठाेर हुनसक्थ्याे बुबाआमाको मन। उनलाई खुसीका साथ माइतीले अपनाए। 

तर अनिताले माइतीघरमा श्रीमानको थर लुकाएकी थिइन्।

उनलाई लागेकाे थियाे छाेरी दलितसँग गएकाे थाहा पाए भने परिवारले अनिता र जीवनलाई छुट्याइदिनेछन्। तर विवाह गरेर गइसकेकी छाेरीकाे घर भाड्न कुन चाहिँ बाआमा चाहन्छन् र?

‘मेरो विवाह भएको धेरै महिनापछि बाआमाले थाहा पाउनुभयो मैले दलित केटासँग बिहे गरेको कुरा’, उनले भनिन्, ‘तर बुबाआमाले केही भन्नुभएन। छोरीको खुसी नै हाम्रो खुसी हो भनेर मलाई हिम्मत दिनुभयो।’

दलतसँग विवाह गरेता पनि परिवारको साथ पाएकी अनितालाई आफन्तीहरूले भने खूबै सराप्ने गर्थे। ‘धिमालकी छोरी भएर दलितसँग विवाह गरिन्। धिमाल थरको नाक काटिन्’।  तर साथमा माया गर्ने श्रीमान थिए। त्यसैले उनी आफन्तीहरूकाे गालीगलाैजलाई वेवास्ता गरिदिन्थिन्। 

परिवारसँग श्रीमानकाे थर सत्य बताएकी अनिताले समाजसँग ढाटिरहिन्। काठमाडाैंमा बस्ने काेठा पाउनका लागि उनी श्रीमानकाे थर ‘श्रेष्ठ’ बताउँथिन्।

‘दलित भनेर हेप्थ्यो। काठमाडौंमा कोठा पाइँदैन थियो, त्यसैले हामीले थर लुकाएका थियौं’, उनले भनिन्,  ‘छोराछोरीको स्कुल भर्ना गराइदिँदा पनि थर श्रेष्ठ नै राखेका थियो।’

समाजसँग थर ढाटिरहेकी थिइन् अनिताले तर एकदिन चिनेकै एक दिदीले भनिन्, ‘किन थर ढाटिराछन् तँ दलितसँग गइहालिस् अब ढाँटेर के हुन्छ र?’ ती दिदीकाे कुरा सुनेर अनितालाई आत्मग्लानी भयो। त्यसपछि उनले श्रीमानको थर ‘नेपाली’ नै बताउन थालिन्। 

सानै उमेरमा विवाह गरेकी अनिता अहिले श्रीमानसँग खुसी छन्। तर कहिलेकाहीँ घरायसी झगडा हुँदा उनी सोच्ने गर्छिन्, ‘सानै उमेरमा विवाह गरेर दु:ख पाएँ।’

०००

कुस्माले पशुपतिमा चिया बेच्न थालेको एक साता भयो। उनी अनितासँगै चिया बेच्छिन्। पिठ्यूमा एघार महिनाकाे बच्चा च्यापेर।

कुस्माका श्रीमान पठाओ चलाउँछन्। उनलाई श्रीमान काम नगरी घरमै बस्न लगाएका छन्। तर कुस्माको मन घरमा अडिएको छैन।

कुस्मालाई छमेकी दिदी अनिताले जस्तो काम गर्नुछ। दुई चार पैसा भएपनि कमाउने रहर छ। ‘दिनभरि घरमा एक्लै हुन्छ। अल्छि लाग्छ। त्यसैले दिदीसँगै चिया बेच्न आएकी हुँ’, उनले भनिन्।

चिया बेचेर दिनकाे ८ सय कमाउँछिन् कुस्मा। त्यहि कमाएकाे पैसाले उनले घरमा केही ठेकभर गरिरहेकी छिन्। उनी भन्छिन्, ‘बूढाले काम नगर बच्चा हेरेर घरमै बस् भन्नुहुन्छ। तर मैले पनि कमाए भने उहाँलाई पनि सजिलो हुन्छ नि।’

आफूले सकेसम्म काम गर्नुपर्छ भन्ने कुस्मा साेच्छिन्। त्यसैले त उनी ११ महिने छोरा बोकेर चिया बेच्न पशुपति आएकी छिन्।

दुई हातमा चियाको थर्मस र पिठ्यूमा छोरा बोकेर हिड्दा उनलाई फर्कि–फर्कि हेर्ने गर्छन् मानिसहरू। अनौठो मान्छन्। तर कुस्मा भने आफ्नै काममा खटिरहन्छिन्।

‘मान्छेको आ–आफ्नो बाध्यताहरू हुन्छन्। दुनियाँको मतलब छैन मलाई। मेरो दु:ख मसँगै छ’, काम गर्दा लजाउनु नहुने बताउँदै कुस्मा भन्छिन्, ‘हामी महिलाले पनि सक्दा काम गर्नुपर्छ। ताकी दुई–चार पैसाको लागि कसैको अगाडि हात फैलाउनु नपरोस्।’

प्रकाशित मिति: : 2024-03-09 20:40:00

प्रतिकृया दिनुहोस्