भारतीय प्रधानमन्त्रीद्वारा पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री सरिफलाई बधाई

बिएल संवाददाता

नयाँदिल्ली

 भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार पाकिस्तानी समकक्षी शहबाज सरिफलाई बधाई दिएका छन्।

आणविक सशस्त्र प्रतिद्वन्द्वीका नेताहरूबीच सद्भावनाको यो दुर्लभ अभिव्यक्ति हो।

मतदानमा व्यापक धाँधली भएको दावीपछि सरिफले सोमबार औपचारिकरूपमा दोस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ लिएका थिए।

पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन)का सेना समर्थित ७२ वर्षीय सरिफले सबैभन्दा धेरै सिट जित्ने कारागारमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका वफादारहरूलाई सरकारबाट बाहिर राख्न आफ्नो ऐतिहासिक प्रतिद्वन्द्वी पाकिस्तान पिपुल्स पार्टी(पिपिपी) र धेरै साना गुटहरूसँग गठबन्धन गरेर सरकार बनाएका छन्।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा भनेका छन्, 'पाकिस्तानका प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएकोमा शहबाजलाई बधाई।'

भारत र पाकिस्तान लामो समयदेखि राजनीतिक तनावसँगै कट्टर प्रतिद्वन्द्वी हुन्। सन् १९४७ मा उपमहाद्वीपको विभाजनबाट अलग भएपछि दुवै मुलुकले तीन युद्ध र धेरै साना झडपहरू लडेका छन्।

यद्यपि भारतमा सरिफलाई उनका पूर्ववर्ती खानको तुलनामा नयाँदिल्लीप्रति अधिक मिलनसार व्यक्तिका रूपमा हेरिन्छ।

वरिष्ठ पाकिस्तानी राजनीतिज्ञका रूपमा असामान्य रूपमा सरिफले सन् २०१३ मा भारतको भ्रमण गरेका थिए। त्यतिबेला उनी पाकिस्तानको प्रभावशाली पञ्जाब प्रान्तको मुख्यमन्त्री थिए।

प्रकाशित मिति: : 2024-03-05 19:29:00

प्रतिकृया दिनुहोस्