न्याय परिषद्ले दुईजना न्यायाधीशलाई बर्खास्त गर्ने सिफारिस गरेको छ।
परिषद्को आइतबार बसेकाे बैठकले उच्च अदालतका न्यायाधीश डा. नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्ने निर्णय गरेकाे हो।
उनीहरूकाे आचरण र कार्यक्षमतामा प्रश्न उठाइ बर्खास्त गर्ने निर्णय गरिएकाे बताइएकाे छ।
उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत रहँदा न्यायाधीश थपलियाको सम्बन्धमा गम्भीर उजुरी परेपछि उनी छानबिनमा परेका थिए। उनी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग मिलेर मुद्दामा सेटिङ गरेको आरोपमा मुछिएका थिए। न्याय परिषद्ले गत पुसमै न्यायाधीश थपलियाको जिम्मेवारी खोसेको थियो।
त्यस्तै, न्यायाधीश निरौला काठमाडौँ जिल्ला अदालतमा रहँदा अपहरण तथा फिरौती लिने कार्यमा संलग्न नेपाली नागरिकलाई भारतीय नागरिक भनी सफाइ दिएपछि छानबिनमा परेका थिए।
तर, परिषद्ले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई चेतावनीसहित महोत्तरी सरुवा गरेको छ। जिल्ला न्यायाधीश डा पशुराम भट्टराईले यसअघि नै राजीनामा दिइसकेका छन्।