बच्चा चोरीपछि आमाको बिलौना– मेरो पहिलो सन्तान को ‘पापी’ले लग्यो?

मिनु गोले

काठमाडौँ
तस्बिर: मिनु गाेले/बिएल नेपाली सेवा
तस्बिर: मिनु गाेले/बिएल नेपाली सेवा

काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट आफ्नी २६ दिनकी छोरी चोरी भएपछि आमा सविना श्रेष्ठ बिलौना गरिरहेकी छन्। काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका– ३ घर भएकी श्रेष्ठ काठमाडौँ बस्दै आएकी छन्।

श्रेष्ठले पहिलो सन्तानका रुपमा जन्म दिएकी छोरीलाई जण्डिस भएपछि आज (शुक्रबार) बिहान  अस्पतालमा ल्याएकी थिइन्। अस्पताल ल्याएर उपचार गर्न नपाउँदै छोरी चोरी भएपछि उनी बिलौना गरिरहेकी छिन्। 

उनलाई बोल्न कठिन भइरहेको छ। आँखाबाट आँसु रोकिएका छैन। दिउँसो ३ बजे लेखिका अस्पताल पुग्दा उनी छोरीको खाजीमा भौतारिरहेकी थिइन् र भन्दैथिइन्– ‘मेरो छोरी कुन पापीले लग्यो?’ 

०००

जण्डिस भएकी छोरीको उपचारका लागि डाक्टरलाई देखाउने तयारी थियो। हिजो बिहीबार भिडियो एक्स–रे गरेर त्यहिँ भिडियो एक्स–रेको रिपोर्ट लिन साथी आएकी उनकी देउरानी गएकी थिइन्।

छोरीलाई घाम तपाउँदै सविना अस्पताल बाहिर बसिरहेकी थिइन्। त्यहिँ समयमा एक महिला आइन्। उनले भनिन्– ‘दिदी तपाईलाई गाह्रो भएको रहेछ दिनुस् म समाइदिन्छु।’ सविनाले दिइन् पनि।

ती महिलालाई छोरी समाउन दिएर उनी छोरीले दिसा गरेर फोहोर बनाएको डाइपर फाल्न निस्किइन्। तर,  आउँदा उनी फर्किँदा न महिला थिइन् न छोरी। ‘एक जान महिलाले दिदी तपाईंलाई गाह्रो भएको रहिछ म समाइदिन्छु बच्चालाई, जानुस बच्चाको डाइपर फ्याँकेर आउनु भन्यो’, उनले बिएल नेपाली सेवासँग भनिन्, ‘डाइपर फ्याँकेर आउँदा त्यो मान्छे पनि छैन छोरी पनि छैन। म त अल्लमल्लमा परेँ।’

०००

सविना धेरै बोल्न सक्ने अवस्थामा छैनन्। उनका देवर मनोज श्रेष्ठले बच्चा ११ बजे हराएको भए पनि अस्पतालले सिसिटिभी हेर्न ढिला गरेको गुनासो गरे। ‘हामीले बच्चा हराएपछि छिटो सिसिटिभी हेर्न अस्पताललाई भन्यौँ। तर, अस्पतालले ढिला गर्दा बच्चा भेटाउन सकिएन’, उनले भने।

मनोजले अस्पतालले ढिला गरेर करिब २ बजेतिर सिसिटिभि हेर्दा महिलाले बच्चा चोरी गरेर अस्पतालको पछाडिबाट भागेको देखिएको बताए।

सिसिटिभीमा महिलाले रातो कुर्ता सुराल लगाएको देखिन्छ। उनको टाउकोमा रातै सलले छापेको छ। साथमा कालो मास्क मुखमा लागाएको र पहेँले रंगको ब्याग भिरेर बच्चा समाउँदै भागेको देखिएको छ।

उनी ललितपुरको गोदावारीतिर गएकोसमेत सिसिटिभी फुजटमा देखिएको मनोजले बताए।

यसैबीच प्रहरीले महिला चोरी गर्ने महिलासँग मिलेमतो गरेको आशंकामा एक जना ट्याक्सी ड्राइभरलाई नियन्त्रणमा लिएको छ। 

यो पनि–

 

प्रकाशित मिति: : 2024-02-23 21:00:00

प्रतिकृया दिनुहोस्