आजको फ्रन्ट पेजमा के छ? पाठकको चासो यही हुने गर्दछ। संसारभरका अखबारको फ्रन्ट पेजमा समाजको सबैभन्दा गहन चासो, समस्या र सरोकारलाई प्राथमिकीकरण गरिएको हुन्छ। वास्तवमै समाजको आकृति प्रतिविम्बित हुन्छ।
यस पुस्तकमा नेपाली पत्रकारिताले जहानीया राणा शासन हुँदै पञ्चायती कालरात्री, माओवादी सशस्त्र द्वन्द्व, राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन र गणतन्त्रका विभिन्न आरोह अवरोहलाई बुझ्न सघाउँछ।
२०७२ मा देशको गर्भमा संघीय गणतन्त्रको भूर्ण हुर्किँदै गर्दा देशभर भएका विभिन्न खाले आन्दोलनको रापमा पनि नेपाली पत्रकारिता सेकियो भन्ने थाहा हुन्छ। हुन त संसारभर नै राजनीति उद्देश्य प्राप्तिका लागि सञ्चार माध्यमहरूको प्रयोग गर्ने गरिएको पाइन्छ। अमेरिका, बेलायत, जर्मन, भारतलगायत देशमा पनि विभिन्न कालखण्डमा राजनीतिक उद्देश्य प्राप्तिका लागि सञ्चारमाध्यमको प्रयोग भएको थियो।
महात्मा गान्धी, जवाहरलाल नेहरूलगायत नेताहरुले अङ्ग्रेजलाई भारतबाट हटाउनका लागि जनतालाई जागृत गराउन पत्रिका प्रकाशन गरेका थिए। गान्धीको आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण भएकाले अंग्रेजका कर्तुतहरुको पर्दाफास गरी स्वतन्त्र आन्दोलनप्रति जनमत बनाउन अखबार सबैभन्दा प्रभावकारी अस्त्र बनेको थियो।
त्यस्तै पत्रकारिता समाजको दर्पण हो। यसका माध्यमबाट समाजमा भए/गरेका घटनालाई तुरुन्त हेर्न सकिन्छ। सरल रुपमा भन्दा पत्रकारिता जनताको आवाज हो। आवाजविहीनहरूको आवाज पनि हो। अर्काे शब्दमा भन्ने हो भने समाचारमूलक जानकारीहरूको संकलन, चयन, सम्पादन, प्रकाशन तथा सम्प्रेषण गर्ने पेशाको नाम पत्रकारिता हो।
यो पेशा समाजप्रति उत्तरदायी हुन्छ। त्यसैले पत्रकारिताप्रति जनताको गहिरो विश्वास रहने गरेको हुन्छ। विभिन्न आन्दोलनलाई लिएर सामान्य अवस्थामा कुनै व्यक्ति वा समूहलाई आफू वा आफ्नो समूहप्रति अन्याय भएको महसुस हुन गएमा त्यस्तो व्यक्ति वा समूहले सो अवस्थाप्रति आफ्नो असन्तुष्टि र पीडा प्रकट गर्नु स्वभाविक मानिन्छ।
बेलायती द्वन्द्व शास्त्री एमवार्नरका अनुसार कुनै दुई पक्षबीच स्पष्टसँग व्यक्त वा प्रकट गरिएको विमति, मतभिन्नता, प्रतिस्पर्धा, असहमति, विवाद, असन्तोष, मोर्चाबन्दी, मनमुटाव, अरुलाई अप्ठ्यारोमा पार्ने गरी गरिएको हिंसा उत्पन्न हुने खालको क्रियाकलाप वा उपद्रो, योजनाबद्ध विप्लव, कल, संघर्ष वा लडाइँ र युद्धका विविध अवस्था नै द्वन्द्व हो। द्वन्द्वको गति, समाजको चेतना र मानिसको बदलिँदै जाने व्यवहार र परिस्थितिमा निर्भर गर्दछ।
द्वन्द्वले समाजको चेतना स्तरको आधार लिने हुँदा वास्तविक स्वरूप ठम्याउन कुनैबेला सजिलो हुँदैन। द्वन्द्वले प्रतिक्रिया उत्पन्न गर्ने गर्दछ, त्यस्तो प्रतिक्रियाले राजनीतिक, सांस्कृतिक, सामाजिक र आर्थिक गतिविधिलाई गतिशील र जीवन्त बनाउन सहयोग पुर्याउन सक्छ। त्यस्ता विषयलाई लेखकले विश्लेषण गरेका छन्।
माओवादी युद्धका बेला समाचारलाई सुरुमा मिडियाले रोमाञ्चकारी ढङ्गका रुपमा लिए। हत्या वा हिंसाका घटनालाई रोमाञ्चक रुपमा लिने र हल्ला पिट्ने काम भयो। सूचना पस्किने भन्दा पनि सनसनीपूर्ण बनाउने गरियो। युद्धको बेला सरकार र माओवादी दुई पक्षले मिडियालाई आ-आफ्नो हित अनुकूल प्रयोग गर्न खोजेको थियो। माओवादीले पत्रकारलाई आफ्नो क्षेत्रमा गाइडेड टुर गराउँदै मिडियाको भरमार उपयोग गरेका थिए।
सेनाले पनि त्यसलाई पछ्याउँदै पत्रकारलाई स्थलगत भ्रमण गराई हारेको लडाइँ पनि जितेको भन्दै प्रचार गराएको थियो। उदाहरणका निम्ति रोल्पाको लिस्नेगाम र कैलालीको पाण्डौनमा पत्रकारलाई पुर्याएर हारेको लडाइँ जितेको भन्ने ढङ्गबाट समाचार प्रवाह गराएको थियो। त्यस्तो विषयलाई पनि लेखकले उठान गर्नुभएको छ।
यदाकदा आफ्नो मूल कर्तव्यबाट विमुख हुँदा त्यसले समाजको विश्वास गुमाउन पुग्छ। सन्तुलनको सिद्धान्त बिर्सेर पूर्वग्राही भएर समाचार लेख्ने समाजलाई आघात हुने वातावरण सिर्जना गर्ने र पत्रकारिताका आधारभूत मूल्य मान्यता तथा आचार संहितालाई लत्याउने काम हुनु अहिलेको प्रमुख चुनौती हो।
मिडियामा राजनीति छायाँ विषयलाई पनि लेखकले उठान गरेका छन्। पत्रकारितामा केही गलत परम्परा पनि छन्। त्योमध्येको एक हो, पक्षपात पत्रकारिता। पत्रकारहरुले समाचारका स्रोतहरुमध्ये कुनै एक पक्षप्रत नरम वा गरम भएर वा समर्थक वा विरोधी भएर वा आग्रही वा पूर्वाग्रही भएर समाचार लेख्ने प्रविधि नै पक्षगत पत्रकारिता हो। यस्ता समाचारहरु खासगरी सूचना वा जानकारी दिनका लागि भन्दा पनि समाजमा आफ्नो पक्षको प्रभाव बढाउनका लागि लेखिएका हुन्छन्।
प्रदेश सिमाङ्कन आन्दोलनको क्रममा सुर्खेतका पत्रिका, एफएम र टेलिभिजनमा पक्षगत पत्रकारिताको प्रभाव प्रष्टसँग देख्न सकिन्छ। स्वतन्त्र र व्यावसायिक भनिए पनि कुनै न कुनै दल वा दलका नेतानिकट हुनुले मिडियामा उनीहरूको आवाजले बढी प्राथमिकता पाएको छ। यद्यपि मिडियाहरूको राजनीति निकटता वैधानिक रुपमा पुष्टि हुँदैन।
आन्दोलनमा मिडियाहरूले जिउँदो मान्छेलाई मरेको प्रचार पनि गरे। आवश्यकताभन्दा बढी प्रयोग मात्र भएन, आन्दोलनका घटनालाई गलत रुपमा प्रकाशन तथा प्रसारण पनि गरे। आन्दोलनमा हजारौँको जुलुस, सयौँ घाइते भन्ने शब्द त सामान्य जस्तै थियो। यतिसम्म कि घाइते भएका व्यक्तिको पनि मृत्यु भएको भनेर सन्देश प्रवाह गरियो।
प्रदेश सिमाङ्कन आन्दोलनमा भने समाचार संकलनका लागि पत्रकारले नेपालभित्र र अन्तर्राष्ट्रिय स्तरमा जारी आचार संहिताको पालना गरेको पाइएन। सामान्य समयमा समेत आचार संहिता कार्यान्वयन चुनौतीपूर्ण भइरहेको बेला आन्दोलनको बेला झन पेचिलो बन्न पुग्यो।
मानवीय समवेदनाको हिसाबले प्रसारण गर्न नपाइने दृश्यहरू प्रसारण गरिए। समाचारहरू सन्तुलित भएनन्। जुन पक्षमाथि आरोप लागेको थियो, तिनै व्यक्ति वा निकायका आवाजले मिडियामा यथोचित स्थान पाउन सकेनन्। प्रहरी प्रशासनलाई दुश्मनको रुपमा चित्रित गरियो।
उनीहरूकै आवाज मिडियामा राम्ररी कभरेज भएन। समाजलाई तत्कालीन रुपमा हानी पुर्याउन सक्ने सूचनाहरु निर्वाध रुपमा प्रकाशन प्रसारण भए। त्रुटिपूर्ण सूचनालाई सत्यताको पक्षमा परीक्षण गर्ने काम हुन सकेन।
प्रदेश सिमाङ्कन आन्दोलन अखण्ड, मध्यपश्चिम र भेरी, कर्णाली आन्दोलनलाई यहाँका पत्रपत्रिका, रेडियो, टेलिभिजनहरुले कस्तो किसिमको सकारात्मक र नकारात्मक शीर्षकहरु लिएर समाचारहरु प्रसारण र प्रकाशन गरेका छन् भन्ने विषयलाई लेखकले राम्रोसँग यस पुस्तकभित्र सन्दर्भहरु पेश गर्नुभएको छ।
दुनियाँका अखबारको पहिलो पृष्ठको महत्व र त्यसमा छापिएको भ्रम, पत्रकारहरुको सानो लापरबाहीले सृजना गरेको ठुलो संकट, संवेदनाहिन पत्रकारिताले निम्त्याउने नरसंहार। कर्णाली प्रदेश प्राप्ति आन्दोलनका केही गहन विषयवस्तुहरु पुस्तकमा समावेश गरिएको छ।
अखण्ड मध्यपश्चिम र भेरी कर्णाली आन्दोलनले विभिन्न किसिमका मोडहरू लिए। तर पनि प्रदेश सिमाङ्कन आन्दोलनमा सुर्खेतका सञ्चारमाध्यमको भूमिका कस्तो रह्यो भन्ने र पत्रकारहरूको भूमिका कस्तो रह्यो भन्ने विषयको बारेमा यस पुस्तकमा यी विषयहरूको ठूलो आलोचना र विश्लेषण गरिएको देखियो।
महत्वपूर्ण कुरा, दुनियाँका राम्रो/नराम्रो कुरा सम्प्रेषण गर्ने मिडिया स्वयंमलाई ऐना देखाउने काम पुस्तकले गरेको छ। त्यसैले पत्रकार तथा लेखक कलेन्द्र सेजुवालको पुस्तक ʻफल्स फ्रन्ट पेजʼ पत्रकारितामा बामे सर्दै गरेका र क्रियाशील पत्रकारिता गर्दै आएकाहरुले पढनै पर्ने पुस्तक हो।