एकपछि अर्को गर्दै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताले विभिन्न पेशा, व्यवसायमा रहेका व्यक्तिमाथि कोलोमोसो दल्ने अभियान नै चलाएका छन्। शुक्रबार (आज) दुग्ध विकास संस्था (डीडीसी)का महाप्रबन्धक सञ्जीव झालाई कोलोमोसो दले।
माघ २९ गते उनीहरूले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाललाई कालोमोसो दलेका थिए। डीडीसीका महाप्रबन्धक झा र यातायात व्यवस्था विभागका महानिर्देशक रिजाललाई कार्यकक्षमै पुगेर क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालोमोसो दलेका हुन्।
यसअघि बागलुङको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र केसीमाथि कालोमोसो दलिएको थियो। केसीलाई कार्यालयतर्फ गइरहेको समयमा बाटोमा र सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मा रहेको डिप्रेक्स लघुवित्त संस्थाका कार्यालय प्रमुख दिपेन्द्र कटेलमाथि कार्यकक्षमा कालोमोसो दलिएको थियो।
यस्तै क्रान्तिकारी कम्युनिष्ट पार्टीले अन्य व्यक्तिमाथि पनि कालोमोसो दलिरहेको छ। कानुनत: कसलाई पनि अभद्र व्यवहार गर्न पाइँदैन।
संविधानमै सम्मानपूर्वक बाँच्न पाउने हकको व्यवस्था गरिएको छ भने जति ठुलो अपराध गर्ने व्यक्तिलाई पनि मृत्युदण्डको सजाय दिन नपाइने व्यवस्था छ।
कुनै अपराध गरेमा अपराधअनुसार सजाय तोकिएको छ। तर क्रान्तिकारी कम्युनिष्ट पार्टीनिकट युवा संगठनले कानुनको हुर्मत लिँदै कालोमोसो दल्ने अभियान चलाएको छ।
यसरी किन युवा संगठनले आक्रमक रुपमा कालोमोसो दल्ने अभियान चलाएको छ? के यो पार्टीको निर्णय हो? लगायतका विषयमा क्रान्तिकारी कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वसन्त बोगटीसँग संक्षिप्त कुराकानी गरेका छौँ।
प्रस्तुत छ, बोगटीसँग बिएलकर्मी टोपेन्द्र रोका मगरले गरेको कुराकानीको सम्पादित अंश:
तपाईंहरू विभिन्न व्यक्तिमाथि कालोमोसो दलेर कुन बाटो हिँड्न खोज्नुभएको हो?
यो चिजलाई हेर्दा आजको नेपाली समाजलाई हेर्नुपर्ने हुन्छ। राजनीतिलाई हेर्नुपर्ने हुन्छ। र अहिले चाहिँ नेपालमा जुन प्रकारको राजनीतिको अभ्यास भइरहेको छ, जुन प्रकारको शासन प्रणाली चलिरहेको छ, यसले जनतामा निरासा पैदा भएको छ।
नेपाली राजनीति दलाल बन्दै गएको, भ्रष्ट बन्दै गएको, जनताबाट विश्वास गुमाउँदै गएको तथा यसले एउटा ठुलो अँध्यारो र निरासा, विघटन बाँडिरहेको छ। त्यसले चाहिँ चौतर्फी रुपमा जनस्तरमा आक्रोशहरु पैदा भएको छ। अझ खासगरी युवाहरुमा त्यो आक्रोश बढेको छ।
कालोमोसो दल्ने कुरा सतहमा आइपुग्दा लघुवित्तको कुरा गर्नुभयो, यसलाई पनि शृङ्खलाका रुपमा हेर्नुपर्छ। मिटरब्याजको आतंक छ। यसमा वित्तीय आतंक छ। जनताको जीवन स्थितिमाथि राज्यको उपस्थिति छैन।
राज्यले त्यो कुरा सुनुवाइ पनि गर्दैन। राज्यका सबै अंग असफल जस्तो देखिएको छ। कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका सबैतर्फबाट हेर्नुस् त सफल कतै देखिँदैन। तपाईं जहाँ जानुस्, जनताले न्यायको प्रत्याभूति गर्न सकेको छैन।
न्यायपालिकाहरू त्यतिकै बदमान छन्। पछिल्लो अरुण चौधरीको प्रकरणमा पनि त्यो कुरा बुझ्न सकिन्छ। त्यसकारण कालोमासो दल्ने घटनाहरू जनस्तरबाट पैदा भएको आक्रोशका रुपमा बुझ्न सक्छौँ। यी चिजलाई हाम्रो पार्टीले निकै मतलब दिएको छ।
जनताको स्थित, नेपाली समाजको यो स्थितिबाट कसरी अगाडि जाने भनेर हामी गम्भीर प्रकारको अध्ययन गरिरहेका छौँ। यसलाई सकारात्मक रुपमा भन्दा चाहिँ नेपाली समाज विद्रोही बन्दै गएको र त्यसका झिल्काहरू देखिएको रुपमा हामी बुझ्न सक्छौँ। हाम्रो पार्टीले यी झिल्काहरूलाई एकीकृत गर्ने, सृष्टि गर्ने र नेतृत्व गर्नेरुपमा सोचिरहेकाे छ।
त्यसोभए सबै घटनाकाे जिम्मेवारी पार्टीले लिएको छ?
यी सबै घटनालाई जनताको विद्रोहसँग जोडेर हेर्नुपर्छ। यसलाई त्योभन्दा अलग जोडेर बुझ्नु हुँदैन। तर ती कसरी प्रकट भए? त्यसका पक्षहरू बुझ्नुपर्छ। यसकाे विभिन्न कोणबाट बहस होला। त्यो नेपाली समाज, पत्रकार जगतले गर्छ।
तर यसलाई नेपाली समाजमा नयाँ क्रान्तिकारी झिल्का देखिएको रुपमा बुझ्नुपर्छ। यो आवश्यक्ता बनेको छ। यी सबै चिजलाई हामीले क्रान्तिको नियमसँग नै जोडेर हेर्नुपर्छ। अनिमात्र यसलाई ठिक ढंगले बुझ्न सकिन्छ।
यी केवल बागलुङ, सुर्खेतको मात्र होइन। पछिल्लो पटक माइतीघरमा युवाहरूको प्रदर्शन भएको छ। त्यहाँ गिरफ्तारी भएको छ। त्यो चाहिँ के हो भने जनस्तरमा, समाजको गर्भमा हुर्किएको संकेतहरूकै रुपमा बुझ्नुपर्छ।
कालोमासो दल्ने अभियान पार्टीकै कार्यक्रम हो?
पार्टीको अर्को कार्यक्रम भन्ने हुँदैन। जनताका, मजदुरका, किसान, खासगरी शोषित–उत्पीडित वर्गका कार्यक्रम नै पार्टीका कार्यक्रम हुन्। त्यो समाजका कार्यक्रमभन्दा हाम्रो कुनै छुट्टै कार्यक्रम हुँदैन। त्यसैले आजको दिनमा शोषित, उत्पीडित जनताले क्रान्तिका लागि गर्ने कार्यक्रम त्यो क्रान्तिकारी पार्टीका कार्यक्रम हुन् भनेर बुझ्नुपर्छ।
र आजको दिनमा नेपालमा हाम्रो पार्टी क्रान्तिकारी पार्टी हो। त्यसकारण जनताले न्यायका लागि गर्ने सबै कार्यक्रममा हाम्रो समर्थन छ। एउटा स्वास्थ्यकर्मी, एउटा शिक्षकलाई कालोमोसो दलेर क्रान्तिकारी पार्टीको सपना पूरा हुन्छ त?
तपाईंले उठाउनुभएको कुराबाट मात्र नहेरौँ। मैले पहिले पनि भनेँ कि नेपाली समाजमा जे भइरहेको छ, जसरी नेपाली समाजमा घटनाक्रम विकसित भएर आइरहेको छ, जसरी यहाँका शासकहरूले नेपाली समाजलाई लैजान खोजिरहेका छन्, यी सबै चिजहरूमा आजको राज्य व्यवस्था जिम्मेवार छ।
न्यायलय किन भ्रष्ट बन्याे, वित्तीय क्षेत्र किन शोषणकारी बनायो। शैक्षिक, स्वास्थ्य क्षेत्रलाई भ्रष्ट, बदनाम बनायो भन्ने कुरा छ। किन जनताबाट यिनले विश्वास गुम्ने स्थितिमा पुर्यायो। त्यसकारण सबैले एकपटक सोच्नुपर्छ।
एकपटक सबैले जनताको तहबाट नेपाली भएर सोच्नुपर्ने बेला भएको छ। यी सबैका कारक तत्व त आजको यो व्यवस्था हो नि। जस्तो आजको समयमा त्रिभुवन विमानस्थलबाट सुन तस्कर भइरहेको समाचार आइरहन्छ। भन्सारबाट उस्तै गरी सामानहरू तस्करी हुन्छ। तर पक्राउ भने एउटा भरिया पर्छ। कहिल्यै तस्कर पक्राउ भएको अवस्था छैन।
यस्तो स्थितिको कहिले अन्त्य हुने भन्ने कुरा हो। हामी एउटा भरियालाई तस्कर बनाइएकोमा त्यसलाई मान्य पक्षमा छैनौँ। तर एउटा स्थितिसम्मलाई भने हामीले प्रतिक्षा गर्नुपर्ने छ। प्रतिक्षाको घडी निश्चय नै जटिल प्रकारका हुन्छन्। कहिलेकाहीँ ती अप्रियजस्ता पनि देखिन्छन्।
तर कहिले प्रिय र महान कामका लागि होमिनुभएको छ भने ती चिजहरूलाई अभियानसँग जोडेर हेर्नुपर्छ।
तपाईंले भनेको महान कामका लागि जसरी पढ्दै गरेका, जिन्दगीको सपना देखिरहेका भाइबहिनीहरूलाई संविधान, कानुनविरीत गतिविध गर्न लगाउनुभएको छ। जो कतिपय प्रहरीको कस्टडीमा छन्। महान काम गर्न संविधान, कानुनअनुसार गतिविध गर्दा पनि हुँदैनथ्यो र?
म स्वयम तपाईंलाई पनि भन्छु। आजको समयको सबैभन्दा सुन्दर सपना र सुन्दर काम के हुन सक्छ। त्यो क्रान्तिबाहेक आजको युवाको, तपाईं हामीको पनि। क्रान्तिभन्दा महान सपना अरु हुन सक्दैन। क्रान्तिभन्दा महान कर्म अर्को हुन सक्दैन।
आजको अवस्था हामीले हेर्नुपर्छ। विमानस्थलमा गएर हेरे मात्र पनि दैनिक हजारौँको संख्यामा युवाहरू विदेशिँदै छन्। नेपाल एउटा बन्जर भूमिजस्तो देखाउन खोजिँदैछ। नेपाल मसान घाटजस्तो बनाउन खोजिँदैछ। यो विषय हेर्नुपर्छ।
यस्तो अवस्थामा नेपाली समाजलाई कुन सपनाले जागृत गर्न सक्नुहुन्छ, कुन कामले जागृत गर्न सक्नुहुन्छ। समाजलाई बदल्नेभन्दा ठुलो कर्म र सपना के हुन सक्छ। त्यो बदल्ने प्रकृयामा, परिवर्तनको प्रकृयामा जो सहभागी हुनुहुन्छ, त्यो सलुटका लागि योग्य छ। केवल सलुटका लागि मात्र योग्य छैन। जुन काम नयाँ समाज निर्माणका लागि सम्बन्धित छ, नयाँ व्यवस्थासँग सम्बन्धित छ, यी सबै महान कामसँग सम्बन्धित छ। त्यो गौरवपूर्ण कामसँग सम्बन्धित छ। केवल आजका लागि मात्र होइन। भालीको गौरवका लागि पनि हो।
जहाँसम्म मोर्चाहरूको कुरा छ। ती सबै मोर्चाहरूमा सहभागी हुन हामी तयार हुनुपर्छ। बलिदान, जेलका मोर्चाहरूमा पनि सहभागी हुन हामी तयार भएरै त क्रान्तिलाई अगाडि बढाउन हाम्रो पार्टीले अठोट गरेको छ। ती सबै सहन तयार भएरै यी मोर्चाहरूलाई नेतृत्व हाम्रो पार्टीले गरेको छ।
तपाईंहरूले चलाएको कालोमासो दल्ने अभियान संविधानविरीत छ र जसलाई अराजकका रुपमा कानुनका जानकारहरू व्याख्या गर्छन्। तपाईंहरूले संविधानविपरीतका काम किन गर्नुभएकाे?
समाजबाट आउने ती प्रकारका धारणाहरू पनि हामीले नजिकबाट हेरिरहेका मात्र छैनौँ, ती सबै चिजहरूको सुक्ष्म रुपमा बोध पनि गरिरहेका छौँ। तर धेरै जवाफ हामीले होइन, आउने समयले दिन्छ। सबै जवाफ हामीले आजै दिनुपनि हुँदैन।
तर जुन समय नेपालमा आउँदैछ, नेपाललाई क्रान्तिकारी ढंगले बदल्न चाहनुहुन्न भने नेपाली समाजमा आउने समय निकै पाशविक छ। हामी यसमा तयार छैनौँ। नेपाली समाजलाई अझै पाशविक (गलत ढंगबाट) बन्ने, विघटन हुनेतिर जानेमा हामी सहमत छैनौँ। नेपाली समाज क्रान्तिकारी ढंगबाट पुर्नगठन गर्नुपर्छ भन्ने हामीलाई लाग्छ। हामी पुर्नगठन गरेरै छाड्छौँ। त्यो संकल्प छ हाम्रो जनताको बिचमा।
यो प्रकृयामा आउने सबै आलोचनालाई हामी स्विकार्छौँ। ती आलोचनाको समयले जवाफ दिनेछ। ती विरोधहरूलाई पनि पार्टीले स्वीकार गर्छ। मैले एउटा व्यक्ति विशेष, कुनै कानुनका जानकारको कुरा गरेको छैन। जुन प्रकारले आइरहेका छन्, क्रान्ति अगाडि बढ्ने प्रकृयामा अझै घनिभूत हुनेछ यो लडाइँ।
क्रान्तिको घनत्व अलि फरक हुन्छ। यस प्रकृयामा योभन्दा धेरै चिजहरूको सामना गर्नुपर्ने हुन्छ। त्यसलाई स्वीकार गर्ने र त्यसलाई फेरि पनि क्रान्तिको नियमसँग जोडेर हेर्ने र विकास गर्ने गरी हामी जान्छौँ।