एक लाखभन्दा बढी मिलिलिटर रक्तदान गरेर ६ सयभन्दा बढीको जीवन बचाएको दाबी गरिएका अर्जुन मैनालीले केही दिनअघि आत्मदाह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा जलेर आत्मदाह गर्न लागेको सन्देश पोष्ट गरेर उनी बेपत्ता भएका र केही समयपछि भाडामा लिएको गाडीभित्र आत्मदाह गरेकाे अवस्थामा शव भेटिएकाे थियाे।
फेसबुकमा पोस्ट गरिएको उनको स्ट्याटसका अनुसार सालो र उनकी श्रीमतीले बेला-बेला तुच्छ बचन लगाउने गरेकाे कारण आत्महत्या गरेको उल्लेख छ।
मान्छेको मन कतिबेला बदलिन्छ, त्यसको खास कारण कसैले भन्न नसके पनि मैनालीले आत्महत्या गरेको कारण भने पंक्तिकारलाई त्यति विश्वास लागेको छैन। तर जुन भयानक र दुखद् घटना घटेको छ, अब त्यसको कारण थाहा पाउनुको पनि कुनै अर्थ छैन।
विश्व स्वास्थ्य संघठन (डब्लुएचओ) का अनुसार हरेक वर्ष विश्वमा विभिन्न कारण ७० लाख व्यक्तिहरुले आत्महत्या गरेर आफ्नो जीवन समाप्त पार्छन्। आत्महत्याको प्रयास गर्ने तर समयमै सहयोग पुग्न गएको अवस्थामा ज्यान बच्नेहरुको सङ्ख्या लगभग दोब्बर रहेको छ।
आत्महत्या गर्नेमध्ये ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिला रहेका छन् भने १५ देखि १९ वर्षबीचका व्यक्तिहरुले सबैभन्दा ठुलो सङ्ख्यामा आत्महत्या गर्छन्।
डब्लुएचओले हरेक वर्षको सेप्टेम्बर १० तारिखका दिन ‘वर्ल्ड सुसाइड प्रिबेन्सन डे’ अर्थात् विश्व आत्महत्या रोकथाम दिवस मनाउँदै आएको छ। त्यसदिन आत्महत्याको प्रयासलाई विफल बनाउन के कस्ता उपायहरु अवलम्बन गर्न सकिन्छ भन्ने विषयहरुमा पनि सचेतना जगाउने प्रयास गरिन्छ।
मनोचिकित्सकहरुका अनुसार कुनै व्यक्तिमा आत्महत्या गर्ने विचार आउने क्रम अर्थात् ‘सुसाइडल आइडिएशन’ को समय सबैभन्दा खतरापूर्ण हुन्छ र समयमै यसलाई बुझ्न सकियो भने आत्महत्यालाई रोक्न सकिन्छ। कुनै व्यक्तिले आत्महत्याको विचार गरेको एकदेखि ढेड मिनेटसम्ममा आत्महत्या गरिसक्ने र यो समयमा रोक्न सकियो भने आत्महत्याको प्रयासलाई पूरै रोक्न सकिन्छ। तर यसमा पनि कुनै अपवाद भने नभएको होइन।
अमेरिकास्थित स्ट्यान्फाेर्ड युनिभर्सिटीका प्रोफेसर तथा मनोचिकित्सक डा. जेम्स जे ग्रोसका अनुसार आत्महत्याको विचार कुनै प्राकृतिक कारणले आउने नभएर सम्बन्धित व्यक्तिको मानसिक विकारबाट आउँछ। मस्तिष्कमा आउने ‘बायो न्युरोलोजिकल’ परिवर्तनको कारण व्यक्तिलाई आफ्नो जीवनको कुनै अर्थ नरहेको र यसलाई नष्ट गर्यो भने सबै समस्याहरुको समाधान हुन्छ भन्ने विचारकै कारण आत्महत्याको घटना हुने गरेकाे प्रोसर ग्रोसको दाबी छ।
हरेक व्यक्तिको आत्महत्या गर्ने कारण फरक वा मिल्दोजुदो दुवै हुनसक्ने मनोचिकित्सकहरु बताउँछन्। विभिन्न कारणहरुले आत्महत्याको घटना हुने भए पनि सबैभन्दा प्रमुख कारण डिप्रेसन र तनाव नै भएको यो क्षेत्रमा कार्यरत विशेषज्ञहरुको दाबी छ।
उनीहरुका अनुसार १५ देखि १९ वर्ष उमेर समूहका व्यक्तिहरुमा आत्महत्या गर्ने कारण बडाे विचित्र र सजिलै निराकरण गर्न सकिने समस्याका कारणहरुले हुने गरेको छ।
परीक्षामा फेल भएर, मन परेको मान्छेले प्रेम प्रस्ताव अस्वीकार गर्दा, अभिभावकले गाली गर्दाजस्ता सामान्य कुरामै आत्महत्या गर्ने यो उमेर समूहका व्यक्तिहरुले हरेक चार मिनेटमा आत्महत्या गर्ने वा त्यो प्रयास विफल भएर बाँच्ने गरेको डब्लुएचओको एक रिपोर्टमा देखाइएको छ।
अमेरिकामा हरेक वर्ष करिब ५० हजार जनाले आत्महत्या गर्ने र त्यसको कारण निकै मामुली हुने डब्लुएचओले जनाएको छ। डब्लुएचओका अनुसार हालसम्म सबैभन्दा बढी आत्महत्या स्वास्थ्यको कारण अर्थात् डिप्रेसनले हुने र त्यसपछि आर्थिक कारणले हुने मानिएको भए पनि हालका आत्महत्याको कारण मामुली भएको कारण यो विषयमा छुट्टै बहस हुनुपर्ने बताएको छ।
संसारका प्रायजसो देशहरुमा आत्महत्यालाई अपराध मानिएको र हिन्दु धर्ममा पनि पाप मानिएको कारण आत्महत्याबाटै ज्यान गएपनि परिवारले आफ्नो जिन्दगीभरि चिन्ता गरेर नै बिताउनुपर्ने हुन्छ। जसका लागि त्यस्तो विचार मनमा आउन नदिने र अरुलाई त्यस्तो विचार आएको थाहा पाएमा शान्तिपूर्ण तरिकाले सम्झाउने वा ‘काउन्सिलिङ्ग’ गर्नु नै एक मात्र उपाय हो।
हाम्रो समाजमा एउटा भनाइ छ, ‘मर्ने एकपटक मर्छ तर उसको परिवार जिन्दगीभरि मर्छ।’ ओशोले भनेका छन्, ‘यदि तिमीलाई आत्महत्याको विचार आयो र तिमीले आफ्नो जीवन नष्ट गर्दा आजको जीवनभन्दा भद्दा मृत्युवरण गर्नुपर्ने हुन्छ अर्थात् तिमी मरे पनि समाजले गर्ने विभिन्न प्रकारको आलोचनाबाट तिमी बच्न सक्दैनौ।’
अन्तमा, मैनालीले जे कारणले आत्महत्या गरे पनि उनले श्रीमतीको हात समातेको रोमान्टिक तस्बिर सामाजिक सञ्जाल सबैले किन सेयर गरेका हुन्, त्यो पंक्तिकारको सानो मस्तिष्कले बुझेको छैन। मैनालीले आत्महत्या गरेपछि सबैभन्दा पीडित उनकी श्रीमती हुनुपर्छ र पीडित भए पनि उनकाे मनमा नकारात्मक धारणा नआएको हुनसक्छ। यसैले घटनाको गम्भीरतालाई मनन गरेर त्यसैअनुसार व्यवहार गर्दा उचित हुन्थ्यो कि? @twitter#naviinr