‘समुदायमा काँग्रेस’ अभियानको नाममा आफूलाई फेरि ‘रिभाइब’ गर्न खोजिरहेको नेपाली काँग्रेस फेरि आफूमा ‘प्राण’ भर्न आफ्नो एउटा ‘महापर्व’ महासमिति बैठकको पूर्वसन्ध्यामा उभिएको छ।
यसअघि नै प्रस्तावित मिति फाल्गुन ७ देखि १० सम्म महासमिति बैठक हुनेछ।
समुदायमा जनताका समस्या सुन्ने र बुझ्ने भन्दा नेताहरूका लामा र ठुला गफका भाषणले मानिस दिक्दार छन्। भन्न त कार्यकर्ता र जनताका कुरा सुन्ने भनेर भनियो तर देशभरि चलेको काँग्रेसको यो अभियान कार्यकर्ताबीच मात्रै सीमित भइरहेका देखिन्छन्।
जनता जोडिन सकेको अवस्था कमजोर छ। अनि उही खटिएका प्रतिनिधिहरूका लामा र उदेक लाग्दा भाषण चलिरहेका छन्। मूल विषय जनतासँग जोडिने कुरा त धेरै पर छुटिसकेका छन्।
यति लखिरहँदा काँग्रेसका एकजना केन्द्रीय सदस्यको निधनमा केही दिनलाई समुदायमा काँग्रेस अभियान स्थगन भएको छ।
वि.सं.२०१५ सालको चुनावमा ७ प्रतिशत मत पाएका नेपाली कम्युनिस्टहरू २०७४ सालको चुनावसम्म पुग्दा करिव ४९ प्रतिशत मत पाउने अवस्थामा कसरी पुगे?
यो प्रश्न नेपाली काँग्रेसले २०७४ साल चैत्र ९ गतेदेखि २०७५ साल वैशाख १६ गतेसम्म चलेका केन्द्रीय समितिको बैठकमा उठाउँदै आएको हो। यही विषय २०७५ मंसिर २८ देखि पुस ३ (केही दिन थप)सम्म चलेको काँग्रेसको महासमिति बैठकमा प्रस्तुत गरिएको दस्तावेजले पनि बोल्छ। त्यस यता काँग्रेसको शक्तिशाली तह महासमिति बैठक बसेकै छैन्।
नेपाली काँग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा १७ (५) बमोजिम नेपाली काँग्रेसको १४औँ महाधिवेशनले ‘नीति अधिवेशन’ गर्ने तय गरेको थियो। तर, सोही दफामा यस्तो अधिवेशनसम्बन्धी आवश्यक निर्णय केन्द्रीय कार्यसमितिले गर्नेछ भन्ने प्रावधान बमोजिम नीति अधिवेशनमार्फत गर्ने निर्दिष्ट गरेका कार्य गर्ने गरी २०८० मंसिर १३-१५, काठमाडौँमा महासमितिको बैठक बोलाउने निर्णय भएको थियो। तर, काँग्रेसको महासमिति बैठक पटक-पटक सर्दै आएको छ।
काँग्रेसका दिवंगत नेता नविन्द्रराज जोशीले आफ्नो पुस्तक ‘प्रभावशाली काँग्रेस’मा लेखेका छन्- लोकतन्त्रको लडाइँका अग्रदस्ता भनेका विद्यार्थी र तरुण नै हुन्।
तर, अहिलेका विद्यार्थी र तरुण विदेश पलायन र रसिया युक्रेन पुगेको अवस्थामा काँग्रेस किन युवा पलायन रोक्न सकिरहेको छैन त? यो पेचिलो प्रश्नबाट काँग्रेस दर किनार हुन खोज्दैछ।
२०७५ मंसिर २८ देखि पुस ३ सम्म (केही दिन थप)चलेको काँग्रेसको महासमिति बैठकमा दुई महामन्त्री डा.शशांक कोइराला र पूर्णबहादुर खड्काले पेश गरेको (१५ पृष्ठको) सांगठनिक प्रतिवेदनमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि नेपालको इतिहास दुई भागमा विभक्त भएको उल्लेख गरियो। तर, ती विषयलाई कार्यकर्तामाझ छलफलमा ल्याउन सकेन काँग्रेसले।
वि.सं. २०७५ मंसिर २८ देखि भयो, काँग्रेसको विधानमा केन्द्रीय महासमितिको बैठक केन्द्रीय महाधिवेशन हुने वर्ष महासमिति बैठक नबस्ने प्रावधानसहित कम्तीमा प्रत्येक वर्षमा एकपटक बस्नुपर्ने उल्लेख छ। तर, १४औँ महाधिवेशनपछि त महासमिति बैठक बसेको छैन।
केन्द्रीय कार्य समितिले चाहेमा अथवा केन्द्रीय महासमितका ४० प्रतिशत सदस्यले कारणसहित बैठक बोलाउन केन्द्रमा निवेदन दिएमा महासमिति बैठक बस्नुपर्ने हुन्छ।
त्यति मात्रै होइन, महासमितिका १० प्रतिशत सदस्यले केन्द्रीय समितिको निर्णय पुनरावलोकनका लागि महासमिति बैठकको एक महिना पहिले केन्द्रीय समितिमा प्रस्तावसमेत राख्न सक्छन्।
समुदायमा काँग्रेस अभियान चलिरहँदा एकजना पुराना काँग्रेसी शेरबहादुर लामाले त्यसप्रति खासै चासो देखाएनन्। के भन्नु र खै!
काँग्रेस त समुदायमै थियो नि। नेताहरूले पो सहरिया भए। अनि नेपाली काँग्रेसलाई पनि सहरिया ‘एलिट’ पार्टी बनाए।
नेपाली काँग्रेसबाट यसअघि नै वडा अध्यक्ष भइसकेका लामाहरूलाई अचेल यस्तै लाग्छ।
गोकर्णेश्वर नगरपालिका मुलखर्कका लामाले काँग्रेसको मूल सुक्दै गइरहेको भन्दै गर्दा भावुक पनि भए। ‘जय नेपालभन्दा देश र पार्टी दुवै झल्किन्थ्यो। आजकाल जय नेपालभन्दा दलाल, तस्कर, विचौलिया र सेटिङ गर्ने अनुहार देखिन्छन्। अनि कहाँ रह्यो र त्यो हिँजोको काँग्रेस?’
यसरी काँग्रेसप्रति यस्ता निराशा आज हजारौँ लामाहरूमा छन्।
फेरि उनै पुराना काँग्रेसी लामाका कुरा,
हातमा मट्याङ्ग्रा र गुलेली समाउँदै आफ्नो करेसाबारी र आफूले पालेका कुखुराको रेखदेख गरेर कुटो कोदालोमा रमाइरहेका पुराना काँग्रेसी शेरबहादुर लामाले काँग्रेस नेताहरूले देखाएको रवैयाप्रति कटाक्ष गर्दै एउटा लामै किस्साको प्रसङ्ग अघि बढाए- एउटा चुरोटको डिब्बामा २० खिल्ली थिए। एकजना नेताले त्यो प्याकेट किने। प्याकेटबाट ९ खिल्ली चुरोट तानेर अर्को मिनी प्याकेटमा भरेर कोटको दायाँ खल्तिमा राखे। अनि बाँकी ११ खिल्ली अर्को मिनी प्याकेटमा भरे कोटको बाँया गोजीमा कोचेर हिँडे। केही समयपछि एउटा ११ खिल्लीको मिनी प्याकेटबाट चुरोट निकाले त्यो थिचिएको थियो। सलाई कोरेर सल्काउन थाले चुरोटबाट धुँवा राम्रोसँग आएन। अनि अर्को प्याकेटमा रहेको ९ खिल्ली चुरोटबाट एक खिल्ली निकाले। चुरोटबाट सूर्ती झरेर खकुलो थियो। सलाई बालेर चुरोट सल्काए। त्यो सर्काउँदा पनि राम्रोसँग धुँवा आएन।
अट्टाहस हाँसो हाँस्दै टुङ्गुनाको धुनमा लामाले आफ्ना कुरा मिसाउँदै भने आजको काँग्रेस त्यस्तै ९ खिल्ली र ११ खिल्लीको चुरोटको प्याकेटजस्तै भएको छ।
प्रजातन्त्र स्थापनापछिको त्यो अवधि वि.स. २०४९ सालमा (हाल गोकर्णेश्वर नगरपालिका) साविकको सुन्दरीजल गा.वि.स. वडा नं. ६ मा कांग्रेसबाट यिनै लामा निर्विरोध वडा अध्यक्ष चुनिएका थिए।
मूलखर्कमा पटक-पटक वडा अध्यक्षसमेत भए। काँग्रेस र समाजको ब्याख्या यसरी गरे पूर्ववडा अध्यक्ष लामाले- ‘समाज बदलियो, राजनीतिमा सिद्धान्त हरायो अब धेरै आशा गर्ने दिनहरू कम हुँदैछन।’
फेरि एकपटक काँग्रेसको लिखित दस्तावेजलाई केलाउँदा अघिल्लो पटकका महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्काले पेश गरेको (१५ पृष्ठको)सांगठनिक प्रतिवेदनमा लेखिएको छ- ‘विगतको वस्तुनिष्ठ समीक्षा गरेर उच्च आत्मविश्वासका साथ भविष्यतर्फ अघि बढ्ने संकल्प र कार्य दिशा लिनुपर्छ।’
त्यो विगत, त्यो काँग्रेस अनि यो नेतृत्व र उसले बिराएका बाटाहरू।
नेपाली काँग्रेसबाट समुदाय छुट्यो कि समुदायबाट नेपाली काँग्रेस? नेपाली काँग्रेसमा समुदाय कि समुदायमा नेपाली काँग्रेस?
महासमितको बैठकले काँग्रेस खोज्नका लागि यस्तै प्रश्नहरूमाथि ‘त्यो बिगत’लाई झै निर्मम समीक्षा गरोस्।