श्रीमानकाे निधनपछि उनले एक्लै छोरालाई हुर्काइन्। दिनरात खटेर काम गरिन्। छोरालाई शिक्षा दिलाइन् तर बुढेसकालमा उनै छोराको साथबाट टाढिइन्, ८५ वर्षीय ठुलीमाया सुनुवार।
पाखुरामा मासी भइन्जेल उनी काममा घोटिरहिन्। काठमाडौंमा होटल चलाइन्। चिया, खाजा बेचेर कमाएको पैसाले उनले राजधानीमै एक टुक्रा घडेरी किनिन् अनि त्यहीँ ठ्याइन् आफ्नो सपनाको एउटा घर।
जीवनसाथी गुमाएपछि छोरालाई सुखमा हुर्काउने सपना देखेकी थिइन् ठुलीमायाले। त्यसैले उनले दुःख गरिरहिन् छाेराकै लागि। छोरालाई ने कहिल्यै कुनै कुराकाे कमी हुन दिइनन्। बरु, आफू भोकै बसिन् होला तर छोरालाई सधैं पेटभरि खुवाइन्।
उनी सोच्ने गर्थिन्, ‘मेरो बुढेसकालको लाठी भनेको मेरो छोरा नै हो। त्यसैले उसलाई बलियो बनाउनुपर्छ। मैले उसको लागि भए पनि धनसम्पत्ति कमाउनुपर्छ।’
छाेराकाे लागि बाेकेकाे त्यही लक्ष्यले नै उनलाई मेहनती बनायो। र, व्यवसायी पनि।
छोराको प्रेममा यतिधेरै एकोहोरो थिइन् उनी छोराको सबै गल्तीलाई वेवास्ता गरिदिन्थिन्। छोराको हरेक इच्छा पूरा गर्न सधैं अगाडि बढ्ने ठुलीमायाको लागि उनको खुसी नै सबथोक थियो।
सन्तानकै लागि बाँचिरहेकी थिइन् ठुलीमाया। आखिर उनको साहारा त्यही छोरा त थियो।
तर उनलाई के थाह थियो र? एकदिन त्यही छोराले नै उनलाई आश्रम पुर्याउँछ भनेर!
सानैदेखि पुल्पुलिएर हुर्किएका छोरा लागुऔषध प्रयोगकर्ता भए। छोरालाई कुलतबाट छुट्याउन उनले कयौं प्रत्यन गरिन्। छोराको विवाह गराइदिइन्। तर पनि छोरा सुध्रिएन।
र, एकदिन उनै छोराले ठुलीमायाले कमाएको सम्पत्ति अर्कैकाे नाममा सारिदिए।
त्यही नशाको मातमा।
आफ्नाे नाममा भएको सबै सम्पत्ति अरुको नाममा गएपछि सडक नै साहारा बन्याे उनका लागि।
घर सम्पत्ति जाेडेर करोडपति बनेकी उनी एकैचाेटी राेडमा पुगिन्।
कुनैबेला भोकाहरूलाई खाना खुवाउने उनै ठुलीमाया दुई छाकको लागि सडकका गल्लीगल्ली भौतारिनुपर्याे।
०००
२०७८ चैत ३ गते। काठमाडौंको विशाल नगर टुँडादेवी मन्दिर छेउमा टोलाइरहेकी थिइन् ठुलीमाया।
अशक्त र अलपत्र अवस्थामा।
ठुलीमायाको त्यो अवस्था देखेपछि उनलाई मानव सेवा आश्रमको टोलीले उद्दार गर्याे अनि रानीवन पुर्यायाे।
त्यसपछि उनको दैनिकी फेरियो।
सडककाे चिसाे भुइँमा रात बिताएकी उनले नयाँ जीवन पाइन्। आफूसँगैका दौतरी भेटिइन्। गफमै दिन बिताउन थालिन्। तर मन भने परिवारको यादले तड्पिरह्याे।
हिजाेआज उनी सधैं बिहानीको झिसमिसेमा ब्यूझिन्छिन्। परिवार सम्झिन्छिन् अनि भक्कानिएर रुन थाल्छिन्।
र, आश्रम आउने सबैजनासँग खुसी हुँदै सोध्न थाल्छिन्, ‘मेरो छोरा र नाति खोई?’ तर कसैले पनि जवाफ नदिएपछि उनी फेरि दुःखी हुन्छिन् अनि आँसु खसाल्छिन्।
आश्रम आएको दुई वर्षदेखि उनी आफ्नो छोरा र नातिलाई खोजिरहेकी छिन्।
तर अहिलेसम्म उनले न छोरालाई देखेकी छिन् न त नातीलाई नै भेटेकी छिन्। त्यसैले दिनरात छोरा र नातिलाई सम्झिएर राेइरहन्छिन्।
भलै, उनलाई अहिले आफू बसेको घरको ठेगाना थाह छैन। राम्रोसँग बोल्न पनि सक्दिनन्। तर पनि छोरा र नातीका बारेमा साेधिरहन्छिन्। छाेरा र नातिलाई कुरिरहेकी छिन्।
‘मलाई घर जानूछ। मेरो छोरा र नातीसँगै बस्नु छ। आफ्नो घर जस्तो कहाँ हुन्छ र?’, लरबरिएकाे बाेलीमै उनी भन्छिन्, ‘मलाई यहाँबाट लिन कोही आएन।’
जीवनभर परौठा बेलेर कमाएको सबै सम्पत्ति छोराले सिध्यायो।अहिले उनीसँग न छोरा साथमा छ न त फेरि परौठा बेलेर बेच्ने शक्ति नै।
दुई वर्षदेखि आश्रमको छहारामा बसिरहेकी ठुलीमायालाई आश्रममा खाना खुवाउन आउने धेरै जनाले चिनिसकेका छन्। उनको हातबाट बनेको मिठो परौठा खाएको स्मरण गर्छन्।
कुनैबेला ठुलीमायाको पसलमा खाजा खाएकाहरूले उनलाई प्रेम गर्छन् तर उनकै छोरा नाती भने उनीबाट टाढिएका छन्।
ठुलीमाया भने छोरा र नाति आउने बाटो कुरिरहेकी छिन्।
सधैं आश्रमको हरियो गेटतिरै हेरिरहन्छन्। नयाँ मान्छे देख्नसाथ कुदेर जान्छिन् अनि फेरि निरास हुन्छिन्।
त्यहाँ उनका छाेरा-नाती हुँदैनन्।