उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उद्योगका तत्कालीन महाप्रबन्धक पौडेलसहित तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन का.मु. उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौँ डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा.) ध्रुब बहादुर देवकोटा र महेश प्रसाद काफ्लेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरुले सिमेन्ट उद्योगका लागि भेरियबल फ्रिक्वेन्सी ड्राइभ (भीएफडी) खरिद गर्दा आवश्यकता र औचित्यता नभएको, प्राविधिक दृष्टिले रीतपूर्वक माग नभएको अवस्थामा खरिद ऐन विपरीत खरिद गरी भुक्तानी गरेको आरोप छ।

यस्तै उनीहरूले आवश्यकताको पहिचान तथा लागत अनुमान नगरी उपयोग नहुने सामान खरिद गरेको पाइएकाले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगले जानकारी दिएकाे छ।

आयोगले उनीहरुविरुद्ध रू २२ लाख ७८ हजार तीन सय पाँच बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

प्रकाशित मिति: : 2024-01-24 15:55:00

प्रतिकृया दिनुहोस्