अमेरिकाको न्यु ह्याम्पसायर प्राइमरीमा मतदान जारी: कस्को पल्ला भारी?

बिएल संवाददाता

वासिङ्टन डीसी
Break n Links
Break n Links

अमेरिकाको उत्तर-पूर्वस्थित सानो राज्य न्यु ह्याम्पसायरमा आज मंगलबार जारी प्राइमरी चुनावमा मतदान भैरहेको छ। 

मतदान राज्यको उत्तरमा रहेको एउटा सानो गाउँ डिक्सभिलबाट मध्यराति नै सुरू भएको थियो। जहाँका चार रिपब्लकिन र दुई इन्डिपेन्डेन्ट गरी सबै ६ मतदाताले नै रिपब्लिकन उम्मेद्वार निक्की हेलीलाई मतदान गरेका थिए। 

ग्रेनाइट राज्य भनिने न्यु ह्याम्पसायरमा भैरहेको प्राइमरी रिपब्लिकन पार्टीका लागि आइवा ककसपछिको दोस्रो चुनाव हो भने डेमोक्रेटिक पार्टीका लागि भने यो नै पहिलो चुनाव हो।

न्यु ह्याम्पसायर प्राइमरीमा पहिलोपटक रिपब्लिकन पार्टीको राष्ट्रपति उम्मेद्वारी जित्न पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प र साउथ क्यारोलाइनाकी पूर्वगभर्नर निक्की हेली आम्नेसाम्ने भैरहेका छन् । उता, डेमोक्रेटिक पार्टीको प्राइमरीमा भने २१ उम्मेद्वारको नाम भए पनि वर्तमान राष्ट्रपति जो बाइडनकै नाम भने मतपत्रमा नभएको अनौठो स्थिति छ।

डेमोक्रेटिक पार्टीको केन्द्र र स्थानीय राज्यको नेतृत्वबीच न्यूह्यम्पसायर वा साउथ क्यारोलाइना कहाँ पहिलो प्राइमरी गराउने भन्ने विषयमा विवाद हुँदा यस्तो अनौठो परिस्थिति सिर्जना भएको हो। डेमोक्रेटिक केन्द्रिय नेतृत्व समावेशी प्रतिनिधित्व गराउने भन्दै साउथ क्यारोलाइनामा पहिलो प्राइमरी गराउन चाहन्थ्यो भने स्थानीय नेतृत्व  न्यु ह्याम्पसायरबाट नै प्राइमरी चुनाव सुरू हुन् इतिहास कायम गर्न चाहन्थ्यो। यही विवादका कारण केन्द्रले बाइडेनको नाम मतपत्रमा  राख्न चाहेन । तर, उनलाई मतदान गर्न चाहनेका लागि बाइडेन समर्थकले उनको नाम नै लेख्नुपर्ने 'राइट-इन-क्याम्पेन' सञ्चालन गरेका छन्। 

न्युह्याम्पसायको डेमोक्रेटिक मतपत्रमा धेरैको नाम भए पनि देशभरि भने बाइडेनका अतिरिक्त मिनेसोटाका कंग्रेसमेन डिन फिलिप्स र क्यालिफोर्नियाकी लेखिका मारियम विलमसमको मात्र नाम हुने छ। उनीहरूले भने उम्मेद्वारी घोषणा गरेरै चुनावी क्याम्पेन चलाइरहेका छन्।

बाइडेनको दोस्रो कार्यकालको उम्मेद्वारीलाई चुनौति दिदै मिनेसोटाका कंग्रेसमेन डिन फिलिप्स र क्यालिफोर्नियाकी लेखिका मारियम विलमसमले पनि उम्मेद्वारी दिएका छन्। तर, उनीहरूको उम्मेद्वारी एक किसिमको औपचारिकताभन्दा बढी केही हुने देखिदैन। उमेरले ८१ पुगेका बाइडन नै डेमोक्रेटिक उम्मेद्वार हुने सुनिश्चित छ।

न्युह्याम्पसायर प्राइमरी डेमोक्रेटिकका लागि खासै केही नभए पनि रिपब्लिकन पार्टीका लागि भने थोरै भए पनि अर्थ राख्ने देखिन्छ। यहाँ पहिलो पटक दुई रिपब्लिकन उम्मेद्वार ट्रम्प र हेलीबीच सिधा टक्कर हुदैछ। 

पछिल्लो स्थिति हेर्दा यहाँ पनि ट्रम्पले नै चुनाव जित्ने लगभग निश्चित छ। न्युह्याम्पसायर चुनावकै सम्मुखमा तीन प्रभाववशाली रिपब्लिकन उम्मेदवार आकांक्षी रन डिस्यान्टस, विवेक रामास्वामी र टिम स्कटले ट्रम्पको समर्थन गर्दै उम्मेद्वारी त्यागेका छन्। अर्का प्रभावशाली उम्मेदवार आकांक्षी क्रिश क्रिस्टीले उम्मेद्वारी त्यागे पनि उनले कसैको पक्ष लिएका छैनन् । यद्यपि, उम्मेदवार आकांक्षीमध्ये ट्रम्पका एक मात्र कडा आलोचक क्रिस्टीको नैतिक समर्थन हेलीको पक्षमा हुन सक्छ । तर, त्यसले खासै  महत्व राख्दैन। 

उता, ट्रम्पलाई समर्थनको ओइरो लागिरहेको बेला निक्की हेली भने एक्लो वृहस्पति भएर ट्रम्पविरूद्ध मोर्चा कसिरहेकै छिन्। उनको समर्थन बढिरहे पनि ट्रम्पलाई समर्थन गर्दै उम्मेद्वारी त्याग्ने उम्मेदवार आकांक्षीका समर्थकको ठूलो मतका कारण हेली अरू पछि परेकी छिन्। केही समयअधिका मत सर्भेक्षणहरूले ट्रम्पकै हाराहारीमा रहेकी उनी पछिल्ला मत सर्भेक्षणहरूमा दुई अंकको संख्यामा पछि परेकी छिन्।

राजनीतिक पण्डितहरू उनी ट्रम्पको कति नजिक रहेर दोस्रो स्थानमा आउँछिन् भन्ने मात्रै न्युह्याम्पसायर रिपब्लिकन प्राइमरीको चुनावी प्रश्न भएको बताइरहेका छन्। यो परिणामपछि उनको आफ्नै गृहराज्य साउथ क्यारोलाइनामा फेब्रुअरी २४ मा प्राइमरी छ। त्यहाँको जनमतलाई स्वभावैले न्युह्याम्पसायरको चुनावी परिणामले प्रभाव पार्छ ।

तर, हेलीले न्युह्याम्पसायरमा राम्रो गर्न सकिनन् भने उनलाई चुनावी क्याम्पेन त्याग्न दबाब बढ्ने छ । अहिले नै सबै उम्मेद्वारले ट्रम्पसामु घुँडा टेकेर उनीमाथि प्रचण्ड दबाब बढाइसकेका छन्। ट्रम्पले निक्कीले नजित्ने भएकाले जतिसक्दो छिटो क्याम्पेन त्यागेर नोभेम्बर ५ मा हुने आमनिर्वाचनमा जो बाइडनविरूद्ध रिपब्लिकन चुनावी क्याम्पेनलाई एकीकृत गर्न सघाउनुप्ने सार्जनिक रूपमै बताइसकेका छन्।

पछिल्लो अवस्था हेर्दा हेलीले न्युह्याम्पसायर प्राइमरीमा उत्साहजनक नै परिणाम ल्याउने अनुमान गरिदै छ। यसो भयो भने उनलाई  आफ्नो चुनावी क्याम्पेलाई कम्तिमा पनि आफ्नो गृहराज्य साउथ क्यारोलाइना प्राइमरीसम्म तन्काउने आधार बन्ने छ।

प्रकाशित मिति: : 2024-01-24 00:57:00

प्रतिकृया दिनुहोस्